श्यामसुन्दर यादव
राजविराज, ७ भदौ । सप्तरीको गोबरगाढाकी स्वयम्सेविका झुना देवी यादवलाई व्यथा लागेको दुई दिन बितिसकेको छ । हनुमाननगर योगिनीमाई नगरपालिका वडा नम्वर–८ निवासी उनी यतिबेला पीडाले छटपटाईरहेकी छिन् । तर बस्तीको चारैतर्फ कोशी नदी बगिरहेका कारण अस्पतालसम्म पुगेर सुत्केरी गराउनु उनकालागि यतिबेला ठूलो चुनौती नै छ ।
नजिकको हनुमाननगर बजार पुग्नकालागि पनि साना–ठूला गरी तीन ओटा भङ्गालो तर्नुपर्ने हुन्छ । भङ्गालो तर्न राखिएको डुङ्गा समेत एक साता अघि चोरी भईसकेकोले व्यथा लागेकी झुनालाई अस्पतालसम्म पुर्याउन समस्या भएको छ । बस्तीको पूर्व, उत्तर र दक्षिणतर्फ कोशीको मुख्य बहाव रहेकोले तर्न सम्भव छैन । 
तत्कालिन गोबरगाढा गाविसको वडा नम्वर–४ की स्वयम्सेविका समेत रहेकी उनी आवद्ध रहेको स्वास्थ्य चौकीमा कार्यरत अहेव समेत तीन दिनदेखि चौकीमा आएको छैन । गुहालीको एक कुनामा राखिएको दराजमै रहेको उप–स्वास्थ्य चौकीमा औषधीहरु रहे पनि आफूलाई त्यति ज्ञान नभएकोले प्रयोग गर्न नसकिएको स्वयम्सेविका तेतरी देवीले बताईन् ।
व्यथाबाट छटपटाईरहेकी २७ वर्षिय झुनालाई यस अघि सहज रुपमै बच्चा जन्मिएको थियो । तर यसपटक भने जोखिम रहेको स्थानीय महिला प्रमिला देवी यादवले बताईन् । उनका अनुसार झुनाले सन्तानको ईच्छा पुगिसकेको भन्दै गत पुसमा अपरेशन गराएकी थिइन् । अपरेशन अघिकै गर्भ रहेको कुरा उनले केही महिनापछि मात्र थाहा पाईन् । जेठो छोरो प्रदिप ७ वर्ष, छोरी रुक्मिणी ५ वर्ष र कान्छो छोरा कृष्णा ३ वर्षको छ । सोमवार साँझदेखि नै उनलाई व्यथा लागे पनि घरमै भईहाल्छन् कि भन्ने आश अझैं टुटेको छैन ।
झुनाका पति दुःखी यादव कमाउनकालागि पञ्जाब गएका छन् । उनको घरमा जान्ने बुझ्ने कोही नभएका कारण थप समस्या भएको छ । ‘हनुमाननगर वा सदरमुकाम राजविराजसम्म पुग्न भङ्गालो तर्नुपर्ने भएकोले समस्या छ’ उनले भनिन् ‘कुनै वैकल्पिक साधन पनि छैन, भगवानकै भरोसा छ ।’
नजिकको हनुमाननगर बजारसम्म पुग्न करिब ११ किलोमीटर बालुवा तथा घाँसे मैदान एवम् झाडी भएर हिड्नपर्ने हुन्छ । गोबरगाढामा बस्ने महिलाहरुको पीडा कहालीलाग्दो रहेको स्थानीय अर्की स्थानीय महिला सुशीला देवीले बताईन् । उनले भनिन् ‘झुना देवी मात्र होइन, यस बस्तीमा बस्ने महिलाहरुले यस्तै जिवन–मरणको दोसाँधमा बस्नुपर्ने बाध्यता छ ।
दिनमा यस्तो समस्या आईपरेमा पुरुषहरुको सहयोगमा ढकियामा बोकेर स्वास्थ्य संस्थासम्म पुर्याउने गरिएको तथा रातीको बेला यस्तो आपत विपत आईदियो भने गाउँमै छट्पटाएर ज्यान गुमाउनुपर्ने अवस्था यहाँका महिलाहरुको नियती नै रहेको उनले दुखेसो सुनाईन् । ‘अति विकट गाविस गोबरगाढालाई डेढ वर्ष अघि हनुमाननगर योगिनीमाई नगरपालिकामा गाभिए पनि अवस्थामा सुधार हुनुको साटो झन बिकराल बन्दै गएको छ’ सुशीलाले थपिन् ‘बरु गाविस हुँदा खोला तर्न कम्तिमा डुङ्गासम्म दिईन्थ्यो तर अब त त्यो सुविधा पनि बन्द भएको छ ।’
गोबरगाढा बस्तीमा करिब २ सय ५० परिवारको १ हजार २ सय जनसंख्या रहेको छ । चारैतर्फ नदी बगेका कारण असारदेखि असोजसम्मको जनजिवन अति कष्टकरण हुने गर्दछ ।