• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

साहित्य

सन्दर्भः ‘गरुराहा’ उपन्यासको मुख्य रचनागर्भ

सन्दर्भः ‘गरुराहा’ उपन्यासको मुख्य रचनागर्भ

–नन्दलाल आचार्य

विहान सबेरैदेखि कर्मपथमा जुट्नु, दिउसो केही घण्टा विश्रामको श्वास फेर्नु, साँझतिर कलेजहरू धाउनु र वातावरण अँध्यारिँदै गएपछि तरकारी हटिया छिर्नु मेरो दैनन्दिन थियोे । मेरो चिनजानको संसार सानो थियो । पढेर र सुनेर चिनेकाहरू त मनग्यै थिए । दोहोरो चिनजानका चाहिँ औंलामा गन्न सक्ने जति मात्र थिए ।
एक दिन लुखुरलुखुर लम्कँदै थिएँ । परीधिय परिचित मित्रको फोन आयो । यस अघि नै उनको एउटा कविताकृति ‘रक्तमुच्छेल अङ्कुरण’ पढिसकेको थिएँ । खारिएको अनुभूतिलाई बलियो धागोमा उनेर कविताको माला तयार पार्ने कवि भनेर उनलाई चिनिसकेको थिएँ । उनकै अर्को कविताकृति ‘मुक्ति सङ्घर्ष’ पाउने कुरा सुनेर मन झन फुरुङ्ग भयो । नभन्दै उनी मोटरबाइकमा आए । उनीसँग एक कलिली युवती समेत थिइन् ।
साहित्यिक भलाकुसारी भए । युवती अन्यत्रै नजर लगाउँदैथिन् । म भने मित्रका प्रश्नका सटिक जवाफ फर्काउनै व्यस्त थिएँ । उनी प्रश्न गरोस् भन्ने चाहन्थे । म भने निःशब्दमै रमाउन खोज्थेँ । उनी मभित्र राम्ररी घुल्न खोज्थे । र, आफ्नो जीवन् र जगत पढाउन चाहन्थे । म भने लुकीछिपी पढ्न चाहन्थेँ । प्रत्यक्ष पढ्न स्वभावैले लजाउँथेँ ।
उनले युवतीलाई देखाउँदै भने– “यिनी मेरो जीवन पढ्न आएकी विश्वविद्यालयकी छात्रा हुन् । मलाई पढिरहेकी छिन् । पत्रपत्र पढ्दै छिन् । समर मैदानमा रहेको शेल्टर शिक्षा आर्जनकै दौडानमा मैले यिनलाई चिनेको हुँ । त्यसै बेला नै मैले यिनलाई राम्ररी पढेको हुँ । यिनको नजरमा म अहिले परीक्षण कालमा छु । म उत्तीर्ण भएँ भने त ठीकै छ । नभए पनि यिनी र म बीचको वैचारिक मेल जिउँदै रहने छ ।”
मित्रका कुराले युवती बारे जान्ने मन भयो । छक्क परेर हेरिरहेँ । मित्र भन्दै गए– “यिनले भोगेका र सहेका अनगिन्ती अनुभूतिले यिनलाई मान्छे होइन, इस्पात बनाइसकेको छ । विगत पाँच वर्षदेखि म यिनको निर्दोषिताको साक्षी भएको छु । यिनका पिताश्रीको शहादत र आमा–छोरीको समरमैदानको खेती दुवै पक्षले म तानिएको थिएँ । विचारले नै भावना जन्माउँदो रहेछ । त्यही वैचारिक एकतालाई जीवन्त बनाउँदै रूपान्तरणको गाथा तयार पार्ने सहेली बनाउन खोजेको छु । मेरो मित्रको अन्तिम इच्छालाई स्वीकारेर उसैले अह्राएको बाटोमा हिँड्न खोजेको छु ।”
मित्रले केन्द्रीय कुरा बताए । परीधिय कुरा खोजेमा नै बताउँला भनी यस किसिमले प्रस्तुत भएका हुन् भन्ने कुरा बुझ्न मलाई समय लागेन । प्रश्न सोध्न युवती नै वाधक थिएन् । उनका सामु वाक्य फुटाउन लजाउँथेँ । म निरीह प्राणीझैँ ट्वाल्ल परिरहेँ ।
एक्कासी पानी दर्कन थाल्यो । ओतको खोजीमा नजिकैको पीसजोन स्कूलको कक्षाकोठामा पसियो । पानीकै कारण निकैबेर रुक्नुपर्ने भयो । मसँग कुनै कुरै थिएनन् । मेरो जीवनले अनुभवका पत्रैपत्र तयार पारेकै थिएन । सधैँ एकनासे जीवन विताउनु पनि अनुभवहीन हुनु रहेछ । बोल्ने बिषयको अभावमा बोली बन्द थियो ।
Nandalalअसाध्यै रूप–रङ्ग परेकी थिइन् । तराईमूलकै हुन् भन्दा मिल्थ्यो । पहाडेमूलकी हुँदै होइनन् भन्न सक्ने अवस्था पनि थिएन । जे भए पनि उनमा लज्जापन भागिसकेको थियो । कुनै पनि कुरामा आफ्नो मनस्थिति गहिरो गरी गाडेर हरेक कुराको अध्ययन गर्ने बानी भने चालचलनले नै स्पष्ट झल्काउँथ्यो ।
वर्षाले रोकिने नाम लिएन । अझ गति तीव्र पार्दै मुसलधारे वर्ष भइरह्यो । त्यत्तिकैमा मेरो मुख खुलेछ– “वर्षा नरुक्ने भो । आज कक्षाकोठामै वास बस्नुपर्लाजस्तो छ ।”
मित्रले त्यस कुरालाई सहजरूपमा लिएका रहेछन् । भने– “अँ, यस्ता व्यवधान त कति पचाइयो, पचाइयो । ढुङ्गा खाएर, ढुङ्गै ओछ्याएर र ढ्ङ्गै ओडेर त कत्ति रात विताइयो । कक्षाकोठामा रात गुजार्नु त फाइव स्टार होटलकै आनन्द हो । हामीलाई त प्रकृतिले दिएको आशीर्वादलाई सहर्ष ग्रहण गर्ने बानी परिसकेको छ ।”
मित्रले कुरा सिध्याउन नपाउँदै युवती खुलिन्– “एक रात होइन । दस रात विताउन पनि बानी परिसकेको छ । दुःखले त उहिल्यै सुइकुच्चा ठोक्यो । अब त्यो कहिल्यै फर्कदैन । जो धेरै समयसम्म बस्छ र भाग्न वाध्य हुन्छ । त्यो कहिल्यै फर्कने नाम लिँदैन ।”
मैले पनि सोचेँ– ‘दुःखलाई पनि बस्ने घर चाहिन्छ । मानमर्यादा चाहिन्छ । जहाँ दुःखलाई रहनै दिइन्न र लौरीठ्याक लगाएर भगाइन्छ, त्यहाँ त्यसले नफर्कनु स्वभाविक हो । यो जोडीको मेलले पक्कै पनि सुखको घर बनाउँछ । र, सांस्कृतिक रूपान्तरणको एउटा अध्याय पूरा गर्दछ ।’
मुख खोल्ने झन्झट गरिनँ । दुबै पक्षका कुरा मनमा बसिसकेका थिए । ती कुराहरू पुष्टि हुने उनीहरूको विगत र वर्तमान बारे रत्तिभर ज्ञान थिएन । मनमा थरिथरीका जिज्ञासाहरू उठे । तिनलाई पाखा लगाउने हिम्मत आएन ।
पानी रोकियो । मित्रले कुराको बिट मार्न खोज्दै भनेँ– “म त अनुभवको मात्रै भारी बोकेको मान्छे हुँ । आफ्नो अनुभूतिलाई साहित्यमा रूपान्तरण गर्न मात्र खोजिरहेको छु । साहित्य सिद्धान्त पढेको र बुझेको छैन । मेरो विश्वविद्यालयमा त्यस्तो पढाइ हुन्नथ्यो । हुन त आफ्नै विश्वविद्यालयले जे ज्ञान दियो, सीप दियो र हिम्मत दियो, त्यसैलाई हुबहु उतार्दा समेत अनमोल साहित्य जन्मने रहेछ । कलमले उत्पादनको मार्गचित्र कोर्छ भनेर सिकेको थिएँ । मैले जानी नजानी मलमी पौरख देखाउने हिम्मत गरेको छु । मूल्याङ्कनका लागि तपाईंकै हातमा थम्याएको छु ।” मित्र छुट्टिने मनसायमा पुगे ।
उनको सद्य कविताकृति सरसर्ती अध्ययन गर्दा प्रष्ट देखियो– ती कविता युद्धमैदानका उपज हुन् । युद्धको त्रासद् क्षणको चित्र छ । उत्पीडित वर्गको झिनो आवाजलाई बोल्ड पारिएको छ । उज्जवल भविष्यको चाहनामा कविताहरू केन्द्रित छन् । जनताको विजयमार्ग फराकिलो हुँदै पिचिङ भइरहेको उद्घोष गरिएको छ ।
त्यसपछि मेरो मन्द चेत केही खुल्न थाल्यो । उनीहरूलाई एकै क्षण है भन्दै रोकेँ । आफ्नो मनभित्र कसिएको जिज्ञासाको गाँठो फुकाएँ । अटेसमटेस भएको थैलो एक्कासी फुस्किँदा छताछुल्ल भएर पोखिनु स्वभाविक थियो । त्यसपछि दुबै रोकिए । मेरो जिज्ञासालाई स्वागत गरे ।
मित्रले सालाखाला कुरा बताए । युवतीले समेत धेरथोर कुरा फुत्काइन् । उठ्दै मित्रले एउटा पलाष्टिकको पोको थम्याएर भनेँ– “तपाईँलाई अरू जान्ने इच्छा रहेछ । यसमा एउटा डायरी र दुई पोका नयाँपुराना पत्रहरू छन् । जतनले पढेर फर्काउनु होला । धेरै पटक घरायसी जन्तु भनाउँदाहरूबाट बचाएर राखेको हुँ । स्वास रहेसम्म राख्ने र बेलाबेलामा पढेर पाठ सिक्ने मन छ ।”
झोलाभित्र पुरानो पलाष्टिकमा हस्तलिखित पत्रका खात थिए । नयाँ पलाष्टिकमा भने प्रिन्ट गरिएका चिठीका पानाहरू थिए । डायरी मोटो थियो । पुरानो थियो । राम्रा अक्षरमा लेखिएको थियो । पितापुर्खा देखिकै कुराहरू रहेछन् । पछिल्ला चिठी र डायरीका पानामा भने वर्तमान कैद भएर बसेको रहेछ ।
उनीहरू निकै पर पुगे । सिमसिमे पानी परिरहेको स्पष्ट अनुभूत हुन्थ्यो । नबस्नु बसिसके पछि किन भिज्नु ! मनमा यस्तै तर्कना आए । अँध्यारो गहिरिँदै थियो । भ्यागुता र जूनकीरीले वातावरण सङ्गीतमय बनाइरहेकै थिए । त्यसै बेला विद्युत पोलले पनि बत्ती बाल्यो । त्यही उज्यालोमा डायरीका शब्दहरू एकाएक उठ्न थाले ।
मन त्यसमै गड्यो । पानाहरू उल्टँदै गए । मेरो मनभित्र सरासर पस्न थाले । एकपछि अर्को गर्दै क्रमिक रूपमा लामबद्ध भएर पसिरहेका थिए । वाह्य जगत्का लागि बेहोस मनोदशामा थिएँ । केही थाहा पाइनँ । एक्कासी बत्ती गयो । झसङ्ग भएँ । इहलोकमै रहेको वोध भयो । आँखाले पनि धर्म छाडेछन् । गाला पूरै भिजेछ । हत्त न पत्त पुछेर घरतिर सुइकुच्चा ठोकेँ ।
घर पुग्दा रातको दस बजेको सङ्केतस्वरूप घण्टी बज्यो । विना तरकारी श्रीमती सामु उभिनुपूर्व स्पष्टीकरणको झुटो वयान मनमा कथेँ । र, निर्धक्क सुनाएँ । बीचबीचमा आएका छट्के प्रश्नको सटिक र चित्तबुझ्दो जवाफ फर्काएँ । श्रीमतीे प्रश्न सकिएर चुप रहिन् ।
एक थाल ठन्डा भात अगाडि आयो । सन्तुष्ट मनले खाना खाएँ । अरूहरू चाहिँ सुखलाई डाक्न दुःखलाई साथी बनाउँदा रहेछन् । म भने परिश्रमको कमाइलाई तीतो र टर्रो भन्दै सुखलाई पन्छाएर दुःख डाक्ने भूल गर्दौ रहेछु भन्ने वोध भयो । नमीठो खाना पनि स्वादिलो मानेर चुपचाप खाएको देखेर श्रीमती छक्क परिन् र भनिन्– “साँच्चै खाना मीठै छ त ?”
“हिजो अस्ती के–के भनियो, भनियो । अबदेखि जस्तो पाक्छ, त्यो नै अमृत हुन्छ भन्ने थाहा पाइसकेँ । प्राण बचाउने, सुरक्षा दिने, जीवन चलाउन मद्दत पुर्याउने सबै नमनीय छन् । सबैमा सिर्जनाको मूल छ । आत्मसात गर्ने नगर्ने त्यो भने हाम्रै हातमा छ ।” मेरा नयाँ कुराले श्रीमती टोहोलाइरहिन् । म भने डायरीका बाँकी पाना र पोकाका पत्र पिउन व्यस्त रहेँ ।
विहानी पख आँखा लागेछन् । पढेकै कुराहरू दृष्यमा रूपान्तरण भई नाच्न थाले । आफ्नै भाका र लयमा गाउन थाले । तिनै प्रेमका, तिनै सद्भावका, तिनै शोषणका, तिनै धोकाका, तिनै निरिहताका, तिनै शूरवीरताका र तिनै नेपाली मनका पाटाहरूलाई समेटेमा मात्र मधेसको अन्नपानीको भारा कट्दै जाने ठहर भयो । र, ‘गरुराहा’ अक्षरहरूमा सल्बलाउन थाल्यो ।

–तपेश्वरी–१, गल्फडिया, उदयपुर
nandalalacharya@gmail.com
हाल– शिक्षक, श्री महावीर मावि, विषहरिया–४, सप्तरी ।