राजविराज, १ भदौ । संघीय समाजवादी फोरम नेपालले तेस्रो मधेश आन्दोलनका प्रथम शहिद राजीव राउत लगायत शहीदहरुको स्मृतिमा सहिद सप्ताह अन्तर्गत पहिलो दिन बुधवार जिल्लाका विभिन्न स्थानहरुमा बेलुकी ७ बजे दीप प्रज्वलन गरिएको छ । संघीय प्रेस फोरम सप्तरीका सचिव जितेन्द्र कुमार झाले दिएको जानकारी अनुसार राजविराजमा आयोजित कार्यक्रममा संघीय समाजवादी फोरम नेपालकी वरिष्ठ उपाध्यक्ष रेणु यादव, राजनीतिक समिति सदस्य शैलेन्द्र प्रसाद साह, नेताहरु चित नारायण यादव, सुखराम यादवलगायत जिल्ला नेताहरुको सहभागिता रहेको थियो । यसैगरी बरमझिया, बर्साइन, भारदह, हनुमाननगर, सखडा, फत्तेपुर, कञ्चनपुर, शम्भुनाथ, विष्णुपुर, तोपा, मल्हनियाँ, झहुरा, पत्थरगाडा, रुपनी, कुनौली बोर्डर, बिरेन्द्र बजारलगायतका स्थानहरुमा दीप प्रज्ज्वलन गरिएको छ । दिप प्रज्वलन कार्यक्रमहरुमा २ मिनेट मौन धारण गरी श्रद्धाञ्जली अर्पण गरिएको छ ।