राजविराज, १५ साउन । भारतीय पक्षद्वारा दशगजा क्षेत्रमा एकतर्फीरुपमा निर्माण गर्न लागेको बाँध भत्काउने क्रममा भएको झडपमा घाइते भएकाहरुलाई संघीय समाजवादी फोरम नेपालले राहत प्रदान गरेको छ ।
फोरम नेपालकी सभासद लक्ष्मी चौधरीले शनिवार सप्तरीको तिलाठीमा आयोजित एक कार्यक्रमबीच पीडितहरुलाई नगद ५५ हजार राहत प्रदान गरेकी हुन् । कार्यक्रममा फोरम नेपालका केन्द्रीय सदस्य तथा सप्तरी जिल्ला इन्चार्ज अनिरुद्ध प्रसाद सिंह यादव, केन्द्रीय सदस्यद्वय अशोक कुमार यादव, चित नारायण यादव, जिल्ला अध्यक्ष दिनेश कुमार यादव, जिल्ला सचिव उमेश यादव, ३ नम्वरका क्षेत्रीय अध्यक्ष नवनीत झालगायत स्थानीयहरुको उपस्थितमा राहत स्वरुप नगद हस्तान्तरण गरिन् ।
गत बिहीवार बाँध भत्काउने क्रममा नेपाली पक्ष र भारतीय पक्षका व्यक्तिहरुबीच तिलाठी नजिक दुई देशको सिमा दशगजा क्षेत्रका झडप भएको थियो । झडपमा परी जिल्ला विकास समिति सप्तरीका पूर्व सदस्य समेत रहेका तिलाठी–४ का ५२ वर्षिय देवनारायण यादव, तिलाठी–१ का १६ वर्षिय हर्षवद्र्धन कर्ण, बेल्ही–८ का सुशील यादव, तिलाठी–७ का रोशन झा, दुर्गानन्द झा, सञ्जीव झा लगायतका व्यक्तिहरु घाइते भएका थिए ।