राजविराज, १३ असार । सिचाई मन्त्रालयबाट सप्तरीको लालापट्टी गाविसमा आएको बजेट दुरुपयोग भईरहेको स्थानीयवासिन्दाहरुले आरोप लगाएका छन् ।
स्थानीयवासिन्दाले सोमवार राजविराजमा पत्रकार सम्मेलन आयोजना गरी यस्तो आरोप लगाएका हुन् । सिंचाई मन्त्री उमेश कुमार यादवले आफ्नो गाउँमा पोखरी, कुलो पैनी लगायतका कामकालागि पठाएको बजेटको व्यापक दुरुपयोग भईरहेको भन्दै उनीहरुले गम्भीर आपत्ति जनाएका छन् ।
सञ्चारकर्मी सञ्जीव विक्रम साहद्वारा प्रेषित समाचार अनुसार पत्रकार सम्मेलनमा लालापट्टी–१ का दुर्गी यादवले मन्त्रीका कार्यकर्ताहरुले जनतासँग निरंकुश व्यवहार गरिरहेको बताए । मन्त्री यादवले सिंचाई मन्त्रालयबाट पोखरी निर्माण तथा बाटो मर्मत गर्न लालापट्टीकालागि ल्याएको ६ करोड रुपैयाँको बजेट गाविसमा रहेको मन्त्रीका कार्यकताहरुले व्यक्तिगत ढङ्गले प्रयोग गरिरहेको आरोप लगाएका छन् ।
लालापट्टी– ३ निवासी अनिल कुमार यादवले विकास हुनु राम्रो पक्ष भए पनि विकासको नाममा हिंसालाई बढावा दिनु गलत भएको बताए । यस्तै कुलानन्द यादवले लालापट्टी–१ मा विकासकालागि ल्याएको बजेटको काम गर्न उपभोक्ता समितिमा बस्न खोज्दा उनका कार्यकर्ताहरुले धम्की दिने गरेको पत्रकार सम्मेलनमा जानकारी दिए ।
यसैगरी सप्तरीको बरहरी विरपुर गाविसका पोखरी निर्माणकालागि आएको बजेट पार्टीको कार्यकर्ताले मात्र प्रयोग गरिरहेको पत्रकार सम्मेलनमा उक्त गाविसका नेपाली काग्रेसका बुथ समिति सभापति रामदेव रायले बताए ।