राजविराज, ८ जेठ । तराईमा सशस्त्र संघर्षरत सङ्गठनहरुको सम्मेलन शुक्रवार सप्तरी–सिरहाको एक गाउँमा सम्पन्न भएको छ ।
स्वतन्त्र तराईको माग गर्दै संघर्षरत जयकृष्ण गोइत नेतृत्वको अखिल तराई मुक्ति मोर्चा, प्रकाश नेतृत्वको तराई मुक्ति मोर्चा र प्रतिक नेतृत्वको जनतान्त्रिक मधेश तराई मुक्ति मोर्चाका नेता तथा कार्यकर्ताहरु बीच एकता सम्मेलन सम्पन्न भएको संयुक्त प्रेस विज्ञप्ति मार्फत जानकारी गराईएको छ । सम्मेलनको प्रारम्भमा तराई मुक्ति युद्धमा सहादत प्राप्त गरेका देवनारायण यादव (प्रशान्त), विनय कुमार महतो (सुरज), शम्भु प्रसाद यादव (अजय), राजकुमार मिश्र, बिहारी महतो, रुदल महतो लगायतका शहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरिएको प्रेस विज्ञप्तिमा जनाईएको छ ।
विज्ञप्तिमा उल्लेख भए अनुसार शुक्रवारसम्म चलेको उक्त सम्मेलनमा प्रस्तुत राजनीतक प्रतिवेदन र विधानमाथि गहन छलफल सहित सर्वसम्मतिद्वारा पारित गरिएको छ । उक्त सम्मेलनले मातृभाूमी तराईलाई नेपाली उपनिवेशबाट मुक्त गरी ‘स्वतन्त्र तराई’ राष्ट्र निर्माण गर्ने अभिभारा सहित जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी नामाकरण गरिएको तथा गोइतलाई अध्यक्ष चयन गर्दै १५ सदस्यीस केन्द्रीय समिति गठन गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ । सम्मेलनले तराईका सम्पूर्ण क्रान्तिकारी सङ्गठनहरुलाई एकजुट भई निरंकुश नेपाली राज्यसत्ता विरुद्ध लड्न आह्वान गरेको छ । 