• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सुकेको कलमा पानी निकाल्ने हरिको नयाँ प्रविधि

सुकेको कलमा पानी निकाल्ने हरिको नयाँ प्रविधि

राजविराज, ७ जेठ । देशका अधिकांश जिल्लाहरुमा यतिबेला ट्युवेलमा पानी आउन छाडेको अवस्थामा सप्तरीका हरिनारायण यादवले नयाँ प्रविधिबाट उक्त समस्याको समाधान निकालेका छन् ।
जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय राजविराजमा प्राविधिकको रुपमा कार्यरत उनले सुकेको ट्युवेलमा सहज रुपमा पानी आउन सक्ने प्रविधिको विकास गरेका हुन् । जिल्लाको विभिन्न स्थानका कलमा पानी आउन छाडेपछि उनले सोही कलमै केही थप सामानहरु जडान गरेर पानी आउन सक्ने बनाएका छन् ।
सप्तरीको मलेठ घर भएका हरिनारायणले आफैले अविष्कार गरेको प्रविधिवाट २० देखि ३० फिट मुनि पुगेको पानीलाई सहज रुपमा जमिनमाथि ल्याउन सकिने उनको दावी छ । खानेपानीका लागि प्रयोग गर्दैआएको ट्युवेल सुकेर पानी नआउने समस्याले हैरान भएका सर्वसाधारणको समस्यालाई समाधान गर्न आफुले यो प्रविधिको विकास गरेको प्राविधिक हरिनारायणले बताए । 3
सुकेको कलवाट पुनः पानी निकाल्न १० देखि १५ फिटसम्म जमिन खनेर फलामको पाइपको सिलिण्डर लगायतका केहि सामग्री जडान गरिन्छ । आफनो प्रविधिले पहिले सञ्चालनमा रहेको कलमा पानी सुकेर ४० फिट मुनि पुगेको पानी जमिनमाथि ल्याउन सकिने उनको भनाइ छ ।
पानीको लेभेलका आधारमा जमिन खन्ने लेभल (फिल्टर लगायतका सामग्री जडान गर्न) पनि खर्च बढ्दै जाने भएकाले ४० फिटभन्दा मुनिको पानी निकाल्न कठिन हुँदै जाने उनको तर्क छ । यस्तो प्रविधि जडान गर्न न्यूनतम १५ हजार खर्च लाग्ने उनले बताए ।
पछिल्लो पटक उनले राजविराज ५ स्थित प्रिमियर इङ्गलिस बोर्डिङ्ग स्कुलको सुकिसकेको कलबाट पानी निकालेरे प्रविधिलाई प्रमाणित समेत गरेर देखाएका छन् । खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्राविधिक समेत रहेका यादवले प्रविधिको विषयमा दुई वर्ष अघि नै खोज एवम् प्रयोग गरेका थिए । खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले २ वर्षअघि लगभग यस्तै प्रविधिको प्रयोग गरी जिल्लाको सितापुर गाविसमा वोरिङ्ग गाडेको उनले अनुभव सुनाए ।
सितापुरमा प्रयोग गरिएको प्रविधिलाई केही परिमार्जन गरी आफुले कलमा समेत सोही सामग्री जडान गरेर पानी निकाल्न सक्ने प्रविधिको विकास गरेको यादवले वताए । चुरे विनास, खडेरी लगायतका कारण हरेक वर्ष पानीको श्रोत सुक्दै गएको र पोखरी, खोला, ईनार लगायतमा पनि पानीको लेभल घटदै गएको अवस्थामा आफुले विकास गरेको प्रविधि अति उपयोगी रहेको भन्दै सुकेको कलमै ग्यारेन्टीका साथ पानी ल्याएर देखाईदिने उनले दावी गरे ।
यता आफ्नो विद्यालयमा रहेको दुई ओटा कलमा पानी सुकेपछि विद्यार्थीहरुलाई समस्या भइरहेको अवस्था हरिनारायणले केही सामानहरु थप गरेर सञ्चालनमा ल्याएपछि आफूहरुलाई समस्या समाधान भएको विद्यालयका शिक्षक ओमप्रकाश सिंह थारुले बताए । प्रविधियुक्त कल चलाउन पनि सजिलो तथा पानी पनि राम्रो आउने गरेको उनले अनुभव सुनाए । कलमा पानी सुक्ने समस्या भएका स्थानहरुमा हरिले विकास गरेको प्रविधि अति उपयुक्त हुने उनको विश्वास छ