राजविराज, १६ वैशाख । व्यापारीलाई हतियार देखाएर रकम लुट्ने सप्तरीका दुई घुमुवा प्रहरीलाई विहीवार कार्वाहीकोलागि पूर्व क्षेत्रीय प्रहरी कार्यालय रानी बिराटनगर झिकाईएको छ ।
पूर्व क्षेत्रका प्रहरी प्रमुख डिआइजी केशरीराज घिमिरेको निर्देशनमा प्रहरी हवल्दार प्रदिप मधुवन र प्रहरी जवान मोती पटेललाई बिहीबार बेलुकी अनुसन्धानको लागि बिराटनगर झिकाइएको छ । यी दुई सहित दर्जन बढी सादा पोसाकमा खटिएका प्र्रहरीहरुले सप्तरीको विभिन्न नाकाबाट तस्करी वापतको रकम उठाउने काम गर्दै आएका थिए ।
दुई साता अघि सप्तरीको बरही बिरपुर स्थित कोशी पश्चिमी नहरमा भारतीय व्यापारी कुमोद कामैतलाई हतियार देखाई तीन केजी चाँदी र भारतीय रुपैयाँ ३५ हजार ७ सय ५५ लुटेको उजुरी क्षेत्रीय प्रहरी कार्यालय विराटनगरमा परेपछि पटेल र मधुवनलाई विहीवार झिकाइएको हो ।
व्यापारीबाट लुटिएको ३ केजी चाँदी मध्ये मात्र २ केजी प्रहरीमा बुझाएको र रकम समेत धुमुवाहरुले नै डर–धम्की देखाई कही कतै उजुरी गरे ज्यानमार्ने धम्की समेत दिएको सप्तरी सुनचाँदी उद्योग व्यवसायी संघका सप्तरी अध्यक्ष राजेश कुमार साहले बताए ।
क्षेत्रीय कार्यालयबाट आएको पत्रको आधारमा पटेल र मधुवनलाई विराटनगरतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यसअघि नै सुनचाँदी व्यापारीलाई दुःख दिएको भन्दै घुमुवा सहायक प्रहरी अधिकृत रामजी चौधरी र रंजित झालाई यसअघि नै क्षेत्रीय प्रहरी कार्यालय रानी विराटनगरले निलम्बन गरिसकेको छ ।
यस विषयमा डिआइजी धिमिरेले आफु पूर्व क्षेत्रमा बसुञ्जेलसम्म जनताको सेवामा खटिने प्रहरीले मर्यादा विपरित कार्य गरेको पाइएमा नछाड्ने बताए । कुनै पनि अपराधि र तस्करलाई नछाड््न समेत सुरक्षाकर्मी परिचालन गरिएको बताउँदै उनले भने ‘प्रहरीको काम शान्ति सुरक्षा कायम गर्नु हो’ तस्करी र अपराध नियन्त्रण गर्नु हो, त्यसमा हाम्रो कुनै प्रहरीको संलग्नता भेटाए त्यसलाई छाडिने छैन, कडाभन्दा कडा कार्वाही हुन्छ ।