• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
उन्माद र अहंकारले घात पुर्याउँछ

सन्दर्भः नेकाँ महाधिवेशन परिणाम

नेपाली काँग्रेसको सभापतिमा शेरबहादुर देउवा विजयी भएका छन् । देउवा अब आफ्नो गुटको मात्र नभई सिंगो काँग्रेसको नेता बने । तर, सभापतिको मतगणना स्थलमै परिणाम सार्वजनिक भए लगत्तै उनका समर्थक एक नेताले भनिहाले ‘अब सरकार परिवर्तन हुन्छ ।’ ती समर्थकले तात्तातै यसरी परिवर्तनको कुरा बताइरहँदा उनलाई सरकारमा जान कतिको हतारो रहेछ भन्ने आभाष जो कोहीलाई महशुश भएकै हुनुपर्छ । पार्टी नेतृत्वकालागि भएको निर्वाचनको परिणाम आउने वित्तिकै यसरी सरकार परिवर्तनको कुरा मुखबाट फुत्किदा उनलाई सत्तामा जाने भोकले कतिको गाँजेको रहेछ भन्ने नै अर्थ लाग्न सक्छ ।
‘जुनकुरालाई जति दवाएर राख्यो त्यो उत्तिकै उम्किने प्रयास गर्छ’ भने झै वास्तविकता यसरी नै फुत्किन पुगेको हो । काँग्रेसलाई अहिले सत्ताको भोकले त्यति साह्रो च्याप्ने बेला पनि भइहालेको नहुनुपर्ने हो, ओली नेतृत्वको सरकार अघि त काँग्रेसले नै सरकारको नेतृत्व गरिराखेकै थियो । सोही सरकारको पालामा संविधानप्रति असहमति जनाउँदै मधेशवादी दलहरुले मधेशमा आन्दोलन सुरु गरे ।
सरकार परिवर्तनपछि पनि आन्दोलन जारी नै रह्यो । आन्दोलनका क्रममा धेरैले ज्यान समेत गुमाउनु परेका दुःखद घटना अहिले पनि तरोताजा नै छन् । सरकार परिवर्तन भएपनि काँग्रेस प्रमुख प्रतिपक्षमा रहेकै छ । सरकारलाई रचनात्मक सहयोगीको भूमिकाद्वारा जनताका पक्षमा काम गराउन काँग्रेसले लागेपनि उसको उचाइ बढ्न सक्छ । देउवा पार्टीको नेतृत्वमा आएपछि मुलुकमा समस्या समाधानकालागि कसरी अगाडि जाने, सिंगो पार्टीलाई भावनात्मक रुपबाट कसरी बलियो बनाएर अघि बढ्ने लगायतका विषयमा यतिखेर चिन्तन आवश्यक छ ।
भर्खरै पार्टी सभापति सुशिल कोइरालाको निधनका कारण शोकमग्न काँग्रेसीजनकालागि पार्टी सभापतिमा देउवाले विजय हासिल गर्ने वित्तिकै सत्तामा पुगिहाल्ने हतारो त्यति साह्रो प्रिय हुन सक्तैन । तेह्रौ महाधिवेशनको उद्घाटन सत्रमा काँग्रेसका नेताहरुले सुशिल कोइरालाको नेतृत्वमा संविधान ल्याएको र अब मुलुक निर्माण गर्ने विषयलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता नजनाएका होइनन् । यतिबेला सभापति पदको मात्र परिणाम घोषणा भएको हो, बाँकी पदमा मतगणना पनि पूरा नहुँदै उन्माद र अहंकारको गन्ध आउने अभिव्यक्ति नदिँदा नै बेस होला, किनकि उन्माद त अहंकारले घात पुर्याउँछ ।