बृजमान तामाङ
बिरेन्द्र बजार, १७ फागुन । सप्तरीको तेरहौता–५ लायोटोलका बासिन्दाहरु घरघरमा खानेपानीको धारा ल्याउने कार्यमा जुटेका छन् ।
बिरेन्द्र बजार खानेपानी तथा सरसफाई योजनाद्धारा प्रत्येक घरपरिवारमा पानीको धारा निर्माण गरी पानी बितरण गर्ने भएपछी उनीहरु धारा ल्याउन पाइप ओछ्याउने कार्यमा जुटेका हुन् । खानेपानीको चरम अभाब खेप्नु परेकोले पानी सहजरुपले पाउने आशकासाथ सम्पुर्ण गाउँबासी जनश्रमदानमा जुटेको स्थानीयवासिन्दाहरुले बताए ।
पानी घरमै उपलब्ध हुने भएकोमा खुशी ब्यक्त गर्दै स्थानीय लाल बहादुर तामाङले योजना सञ्चालनमा आए पानीको समस्या खेपिरहेका सयौं परिवार लाभान्वित हुने जानकारी दिए । २०६८ सालबाट शुरु भएको बिरेन्द्र बजार खानेपानी तथा सरसफाई योजनाले चारबर्ष पछि घरघरमा पानी बितरण गर्ने योजना ल्याएको छ ।
पहिलो चरण अन्तरगत तेरहौता–५ बिरेन्द्र बजार क्षेत्र सहित उत्तरी गाउँ बस्तीहरुमा यसै बर्षभित्र पानी बितरण गरिसक्ने योजना अनुरुप काम अगाडि बढाईएको बिरेन्द्र बजार खानेपानी तथा सरसफाई योजनाका अध्यक्ष गोपाल सिंह थापा मगरले जानकारी दिए । उक्त खानेपानी योजनाले चुरे वन स्थित धारा खोलाको पानी ल्याई वितरण गर्ने भएको जनाईएको छ ।