• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

घोषित सिंचाई कार्यक्रमहरु जेठ मसान्तभित्र कार्यान्वयन हुनेः सिंचाई मन्त्री

पर्सा, १७ फागुन । सिंचाई मन्त्री उमेश कुमार यादवले आफू मन्त्री भएको समयमा सिंचाईतर्फ घोषित कार्यक्रमहरु जेष्ठ मसान्तसम्ममा कार्यान्वयन गराएरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
क्रान्तिकारी पत्रकार संघ प्रदेश नम्बर २ ले सोमवार वीरगञ्जको होटल भिस्वामा आयोजित पत्रकार सम्मेलनमा मन्त्री  यादवले सिंचाईकोलागि पूर्वाधार कार्यक्रमको घोषणासहित कार्यान्वयन गर्ने बताएका हुन् । उनले भूमिगत जलस्रोतलाई उपयोग गरी खेतीयोग्य जमिनलाई प्रयोगमा ल्याउन २ नम्बर प्रदेशमा कार्यक्रमको घोषणा गरिएको र कार्यान्वयनमा खरो रुपले उतार्ने पत्रकारहरुसामु प्रतिवद्धता व्यक्त गरे ।
मन्त्री यादवले किसानहरुलाई फागुन मसान्तसम्म आफ्नो क्षेत्रमा भएका सिंचाईका योजनाहरु मन्त्रालयसम्म पठाउन समेत उनले आग्रह गरे । उनले भने ‘चूरे विनाश र वन विनाशले पानीको मुहान सुक्दैछ, यो कुरालाई अहिलेदेखि नै ध्यान दिएर जलसंरक्षणतर्फ नलागे भविष्यमा नेपाल जस्तो देशमा समेत सिंचाईको अभाव हुने परिस्थिति आउनसक्छ ।
सिंचाई मन्त्रालय अन्तर्गत कार्यान्वयन हुने कतिपय योजनालाई लिएर कर्मचारी भर्ती केन्द्र मात्र बनाउने परिपाटीलाई समाप्त पार्ने र खेतीयोग्य भूमिलाई प्रयोगमा ल्याउने उनले बताए । गण्डक नहरको पानी योबर्षदेखि सम्झौता भए अनुसार नै छोड्ने पत्रकार सम्मेलनमा उनले जानकारी दिए ।
क्रान्तिकारी पत्रकार संघ २ नम्बर प्रदेशका सह–संयोजक कृष्ण उदास खनालको अध्यक्षतामा भएको कार्यक्रममा एमाओवादी प्रदेश नम्बर २ का सचिव क्षेत्र बहादुर श्रेष्ठ अनिल, पर्साका अध्यक्ष बाबुराम कौशिक, उपाध्यक्ष रामदरस कुश्वाहा, शम्भुपाल, क्षेत्रीय सिंचाई डिभिजन कार्यालयका प्रमुख राजेन्द्र अधिकारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन क्रान्तिकारी पत्रकार संघ पर्साका उपाध्यक्ष राधेश्याम पटेलले गरे । पत्रकार सम्मेलन पछि मन्त्री यादव पर्साको विजवनियामा पूर्ण सिंचाई क्षेत्र घोषणा कार्यक्रममा सहभागी भएका छन् ।