राजविराज, १३ पुस । तराई मधेश लोकतान्त्रिक पार्टी सप्तरीले आफ्नो आठौं स्थापना दिवसको अवसर पारेर जारी मधेश आन्दोलनका सहीद परिवारहरुलाई सोमवार एक कार्यक्रमका बीच सम्मान गरिएको छ ।
राजविराज स्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा भारदहका सहीद राजिव राउतकी पत्नी निलम राउत, पोर्ताहाका रामकृष्ण राउतकी पत्नी सुदामा देवी राउत, नागेश्वर यादवकी पत्नी सुष्मा यादव, बिरेन्द्र रामका बुवा सकलदेव राम, शिवशंकर दासका पिता नारायण दास र रामबृक्ष रायकी पत्नी पुष्पा देवी रायलाई सम्मान गरिएको हो । कार्यक्रमकी प्रमुख अतिथि साधना झाले सहीद परिवारलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । मधेशी जनताको हक अधिकार र न्यायिक समानताकालागि जारी आन्दोलनमा सहीदहरुले दिएको सहादतको उच्च सम्मान गर्दै उनका परिवारजनलाई सम्मान गरिएको पार्टीका जिल्ला अध्यक्ष रामप्रित यादवले जानकारी दिए । 
सोही कार्यक्रममा मधेश र मधेशी जनताको पक्षमा सशक्त रुपमा कलम चलाएको भन्दै महासंघका केन्द्रीय पार्षद समेत रहेका मधेशी पत्रकार संघका जिल्ला अध्यक्ष श्यामसुन्दर यादव र नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्रवण कुमार देवलाई समेत दोसल्ला ओढाएर सम्मान गरिएको छ । पत्रकार देव ग्रीन मधेश दैनिकका सम्पादक हुन् भने पत्रकार यादव न्यूज टुडे दैनिक र अनलाइनका सम्पादक हुन् । यस्तै पार्टीका युवा नेता फनिकान्त झाले जारी आन्दोलनमा विशेष भूमिका निभाउँदै आन्दोलनलाई उचाइमा पु्¥याउने काम गरेको भन्दै उनलाई समेत दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
कार्यक्रममा सहीद परिवारहरुले मधेशी जनताको हक अधिकार सुनिश्चित नभएसम्म आन्दोलनलाई निरन्तरता दिनुपर्नेमा सुझाव दिए । सहीदहरुको बलिदानीलाई खेर जान नदिन उनीहरुका सपनालाई साकार पार्नुपर्नेमा उनीहरुले जोड दिए ।
कार्यक्रममा तराई मधेश लोकतान्त्रिक पार्टीकी केन्द्रीय सदस्य साधना झाले मधेश आन्दोलनमा ज्यान गुमाएकाहरु अधिकांश युवा नै रहेको भन्दै परिवारजन थप पीडामा रहेको बताईन् । सहीद परिवारप्रति आफूहरुको उच्च सम्मान रहेको प्रष्ट पार्दै उनले भनिन् ‘ज्यानको पर्वाह नगरी बलिदानी दिएका परिवारजनका साथै लालाबालाहरुको भविष्यको विषयमा राज्यपक्षले सोच्नु आवश्यक छ ।’
पार्टीका जिल्ला अध्यक्ष रामप्रित यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा मधेशी मोर्चाका सचिवालय सदस्य सत्यनारायण यादव, सद्भावना पार्टीका केन्द्रीय सदस्यद्वय दिपेन्द्र प्रसाद चौधरी, दिनेश यादव, नेकपा माओवादीका केन्द्रीय सदस्य महेश यादव, नेपाल सद्भावना पार्टीका केन्द्रीय सदस्य सुरेश कुमार सिंह, युवा नेता विजय कुमार यादव, सद्भावना पार्टीका जिल्ला अध्यक्ष सुनिल कुमार झा, मधेशी जनअधिकार फोरम गणतान्त्रिकका जिल्ला अध्यक्ष नरेन्द्र यादव, संघीय समाजवादी फोरम नेपालका जिल्ला सह–सचिव उपेन्द्र साह, मधेशी निजामति कर्मचारी मञ्चका जिल्ला अध्यक्ष अजयकुमार झा, नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्रवणकुमार देव, रबिन्द्र कमार मण्डल, नागेन्द्र झा, नेपाल शिक्षक युनियनका बिजयकुमार राय, तमलोपाका जिल्ला सचिव बौवालाल शर्मालगायतका वक्ताहरुले सहीदको योगदानबारे बिचार व्यक्त गरे ।


