• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

देशव्यापी रुपमा अहिले आगलागीका घटना भईरहेका छन् । घटनामा कतिपयको ज्यानै गएको छ । कतिपयका पशुचौपाया मरेका छन् । यसका साथै घर खरानी भएपछि धेरैको बास उजाडिएको छ ।
यस्तो विपत्तिका समयमा स्थानीय तह,स्थानीय प्रशासन तथा केही संघसंस्थाले पीडितहरुलाई राहत स्वरुप केही मात्रामा खाद्यान्न,केही थान त्रिपाल तथा भाँडाकुँडा लगायतका सामग्री प्रदान गरेका छन् । यस्ता सामग्री विगतमा पनि यस प्रकारका घटना हुँदा दिने नै गरिन्थ्यो । तर मुख्य समस्या भनेको जसका घरमा मानवीय क्षति भएको छ ,जसको जीवीकोपार्जनको आधार गुमेको छ,त्यस्ता समस्यामा परेकाहरुलाई दुई चार केजी अनाज तथा केही अन्य सामान्य राहतले समस्याको समाधान सम्भव हुँदैन । यति बेला खुला आकाशमुनि बस्न बाध्य भएका अग्निीपीडितहरुका समस्या बयान गरी साध्य छैन । तसर्थ यस प्रकारका गम्भीर समस्यामा परेका पीडितहरुकालागि राज्यपक्षबाट नै विशेष व्यवस्था गरेर उनीहरुको चहर्याईरहेको घाउमा मलम पट्टी लगाउनु पर्ने आवश्यकता छ । पीडित त यति बेला केही पनि गर्न तथा सोच्न सक्ने अवस्थामा छैनन् । उनीहरुले सर्बस्व गुमाएका कारण चारैतिर अँध्यारो मात्र देख्ने अवस्था छ । मानवीय दृष्टिकोणबाट पनि सहयोग र सहानुभूति दर्शाउनु पर्ने समय यही नै हो । विपत्तिको यस अवस्थामा सरकारले उनीहरुकालागि कम्तिमा बसोबासको व्यवस्थाकालागि घर निर्माणमा सहयोग गरी उनीहरुलाई घर भित्र्याउनमा सहयोग गर्नु पर्ने समय आएको छ । अहिले सुक्खा याम छ ।
अवका केही साता पछि वर्षायाम सुरु हुनेवाला छ । वर्षामा बेघरबारको बिचल्ली नहोस् भन्नाकालागि अहिले नै अग्निपीडितकालागि बसोबासको व्यवस्था मिलाउनेतिर पहलकदमीको आवश्यकता छ ।