• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

राजविराजमा जसपा नेपालका जनप्रतिनिधिको भेला, पार्टी विभाजन गर्नेको समुहमा नजाने प्रतिबद्धता

राजविराजमा जसपा नेपालका जनप्रतिनिधिको भेला, पार्टी विभाजन गर्नेको समुहमा नजाने प्रतिबद्धता
न्यूज टुडे
राजविराज, २९ बैशाख ।
नव गठित जनता समाजवादी पार्टीकी सह-अध्यक्ष रेणु कुमारी यादव र उपाध्यक्ष एवम् बन तथा बाताबरण मन्त्री नवलकिशोर साहका गृह जिल्ला सप्तरीका स्थानीय जनप्रतिनिधिहरुले पार्टी विभाजन गर्नेको समुहमा नजाने प्रतिबद्धता व्यक्त गरेका छन् । जसपा नेपाल सप्तरीद्वारा राजविराजमा शनिबार आयोजित भेलाका सहभागी स्थानीय तहका जनप्रतिनिधिहरुले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । 
भेलामा मन्चासिन जसपा नेताकार्यकर्ताहरु । फोटो : न्यूज टुडे
संघीयता,पहिचान, समाबेशी प्रतिनिधिसहितको उत्पीडित जाति, समुदायको हक अधिकार र रुपान्तरणका लागि जारी संघर्षलाई कमजोर पार्न र व्यक्तिगत स्वार्थका लागि पार्टी विभाजन गरेको आरोप लगाउँदै भेलामा सहभागी जनप्रतिनिधिहरुले पार्टी बिभाजन गर्ने समुहमा नजाने प्रतिबद्धता व्यक्त गरे । रेणु यादव, नबल किशोर साह र रन्जु ठाकुरले व्यक्तिगत स्वार्थका लागि पार्टी बिभाजन गर्न सहयोग गरेको आरोप लगाउँदै उनीहरुले यस्ता खराब मानसिकताबाट प्रेरित भइ गएका समुहको पक्षमा नजाने उद्घोष समेत गरे । 
नवगठित लोभीपापीहरुको पार्टीमा सनाखत गर्न नहुनेमा जोड दिँदै उनीहरुले पार्टीको गौरवको रुपमा हुन गइरहेको महाधिवेशन सफलताको लागि एकताबद्व हुने बताए । 
जसपा नेपाल सप्तरीका अध्यक्ष केदार प्रसाद यादवको अध्यक्षतामा आयोजित भेलामा विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादव, राजविराज नगरपालिकाकी कार्यबाहक मेयर इसरत परबिन, बोदेबर्साईन नगरपालिकाकी उपमेयर रेणु कुमारी साह, खडक नगरपालिकाकी उपमेयर रिता कुमारी चौधरी, राजगढ गाउँपालिकाकी उपाध्यक्ष रेणु कुमारी मण्डललगायतका विभिन्न पालिकाका वडा अध्यक्ष, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरुको उपस्थिति रहेको जसपा नेपाल सप्तरीका उपसचिव शम्भु कुमार यादवले जानकारी दिए । कार्यक्रम संचालन जसपा सप्तरीका सचिब हरेराम यादवले गरेका थिए । 
सप्तरीमा २ नगरप्रमुख, १ गाउँपालिका अध्यक्ष, ४ नगर उपप्रमुख, १ गाउँपालिका उपाध्यक्ष, ४८ वडा अध्यक्ष, दर्जनौं कार्यपालिका सदस्यहरु तथा सयौंको संख्यामा वडा सदस्यहरु निर्वाचित भएका छन् ।
नव गठित पार्टीमा आवद्ध नहुने स्थानीय तहका जनप्रतिनिधिहरुले निर्णय लिएपछि जसपाकी सह- अध्यक्ष रेणु यादव, उपाध्यक्ष एवम् वन तथा बाताबरण मन्त्री साह र सचिब ठाकुरलाई ठूलो झड्का पुगेको छ । 
यी तिनै जना सप्तरीबासी हुन् । वन तथा बाताबरणमन्त्री   साह सप्तरी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्येक्ष निर्वाचित साँसद हुन् । पुर्व मन्त्री यादव र समानुपातिक कोटाबाट साँसद बनेकी ठाकुर सप्तरी निवासी हुन् ।