• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

शिक्षक महासंघको आन्दोलन जारी, बिभिन्न ठाउँमा रिले अनसन

शिक्षक महासंघको आन्दोलन जारी, बिभिन्न ठाउँमा रिले अनसन

न्यूज टुडे
राजबिराज, १५ साउन ।
सप्तरी लगायतका देशैभरका शिक्षकहरु शुक्रबार रिले अनसनमा बसेका छन् । नेपाल शिक्षक महासंघको पूर्वनिर्धारित चौथो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत शिक्षकहरु रिले अनसन बसेका हुन् ।

नेपाल शिक्षक महासंघको आह्वानमा चौथो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत देशभरीका स्थानीय तह र बिभागीय कार्यालय बिहान ८ बजेदेखि ४ बजेसम्म रिले अनसन बसेको नेपाल शिक्षक महासंघ सप्तरीका अध्यक्ष दिनेश प्रसाद यादवले बताए । नेपाल शिक्षक महासंघ जिल्ला आन्दोलन परिचालन समिति सप्तरीको आयोजनामा शिक्षा बिकास तथा समन्वय ईकाई सप्तरी र जिल्लाको १८ वटै स्थानीय तहहरुमा एक साथ रिले अनसन बसेको उनले जानकारी दिए ।

चौथो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत प्रदेशका सबै सामाजिक बिकास मन्त्रालय, काठमाडौको माईतिघर मण्डला सहितका बिभागीय कार्यालयहरुमा शिक्षकहरु रिले अनसनमा बसेको अध्यक्ष यादवले बताए । शिक्षकहरुको पेशागत सुरक्षा तथा शैक्षिक क्षेत्रको समग्र बिकासका लागि महासंघ र नेपाल सरकार बीच भएको ३० बूँदे सम्झौता कार्यान्वयन गर्न सरकार पछि हटेकोले आन्दोलनमा उत्रिएको शिक्षकहरुले बताएका छन् ।

शान्तिपूर्ण संघर्षले माग सुनुवाई नभए सशक्त आन्दोलनमा उत्रने उनीहरुले चेतावनी दिएका छन् । पाँचौ चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत मुलकभरीका बिद्यालय बन्द गरि काठमाडौमा देशभरका शिक्षक उतार्ने कार्यक्रम रहेको नेपाल शिक्षक महासंघले जनाएको छ ।