• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

प्रजिअ नेतृत्वको टोलीद्वारा बजार अनुगमन

प्रजिअ नेतृत्वको टोलीद्वारा बजार अनुगमन
न्यूज टुडे
राजविराज, २८ बैशाख । 
सप्तरीको राजविराजमा शुक्रबार जिल्ला स्तरीय संयुक्त बजार अनुगमन समितिद्वारा विभिन्न पसलहरुको अनुगमन गरेको छ । प्रमुख जिल्ला अधिकारी किरण थापा नेतृत्वको संयुक्त अनुगमन समितिद्धारा बजारको विभिन्न औषधि पसलहरुको अनुगमन गरेको हो ।  
अनुगमन टोलीमा, जिल्ला प्रशासन, जिल्ला प्रहरी, राष्ट्रिय अनुसन्धान आयोग, जनस्वास्थ्य, कर, घरेलु तथा साना उद्योग कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च, सप्तरी उद्योग वाणिज्य संघ, सुरक्षा निकाय लगायतको संयुक्त अनुगमन टोलीको प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
अनुगमन गर्ने क्रममा पसलेहरुको भागाभाग भएको थियो । अनुगमन भइरहेको जानकारी पाए लगत्तै अधिकांश औषधि पसलेहरुले आफ्नो सटर  थुनेर वेपत्ता भएका थिए । 
अनुगमन टोली आएको खबर पाउनेवित्तिकै धेरै औषधि पसले पसल बन्द गरेर भागेको टोलीका राष्ट्रिय अनुसन्धान आयोग सप्तरीका प्रमुख अनुसन्धान उप- निर्देशक सुरेन्द्र कोइरालाले  बताए । उनका अनुसार विल विजक, प्रतिवन्धित औषधि बेचविखन भए÷नभएको, सरसफाई, डेट एक्सपायर, भण्डारण लगायतका विषयमा औषधि पसलको अनुगमन गर्न टोली निस्किएको थियो ।
टोलीले राजविराज ७ स्थित रुपेश राज फार्मेसी, साइमेडिको इन्टरप्राइजेज, राजविराज ३ स्थित एस औषधी पसल, आर एस ड्रग्स डिस्ट्रिव्युटर्स, वडा नम्बर ४ स्थित राजविराज फार्मेसी, शुसान्त प्याथोलोजी, मारुती मेडिकल, गजेन्द्र नारायण सिंह अस्पतालको फार्मेसी, छिन्नमस्ता अस्पताल, राजविराज ६ स्थित जनता डिस्पेन्सेरीको अनुगमन गरिएको जनाइएको छ ।
अनुगमनका क्रममा बिल बिजक नकाटेको र सरसफाई नगरेको तथा अबैध रुपमा संचालन गरिएको पसललाई ५ हजारदेखि १० हजारसम्म जरिवाना गरिएको अनुगमन टोलीमा सहभागी प्रकाश देवकोटाले जानकारी दिए ।