• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

सितैमा घर पाएपछि कनकपट्टिका अतिबिपन्न परिवार खुशीले दंग

सितैमा घर पाएपछि कनकपट्टिका अतिबिपन्न परिवार खुशीले दंग

बृजमान तामाङ
बिरेन्द्र बजार, ०५ चैत ।
सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर २ कनकपट्टिमा बिहीबार एक दलित बस्तिका बासिन्दा खुशीले रमाई रहेका थिए । निकै उत्साहित र मुस्कुराई रहेका उनीहरुको खुशी भने सुरक्षित आवस पाउने सपना साकार हँुदाको थियो । हातमुख जोड्ने जोहो गर्दा गर्दै कयांै पुस्ता हावापानी, बाढी र आगोको पीडा खेप्दै घर निर्माण गर्न नसकेका दलित परिवारले सितैमा सबै प्रकारको बिपद्बाट सुरक्षित पक्का घरपाएपछि उनीहरुको खुशीको सीमा थिएन ।

गरिव, दलित र असाहायहरुको ढोकामा खुशी ल्याउने योगदान भने महुली सामुदायिक बिकास केन्द्र बक्धुवाले गरेको छ । महुली सामुदायिक बिकास केन्द्रले हिल्टी बाँस परियोजना ल्याएपछि कनकपट्टिका मात्र नभएर सप्तरीका ४ हजार ४ सय १४ परिवारले जोखिममुक्त घर पाईसकेको छ । यसलाई निरन्तरता दिदै ह्याबिटेट फोर ह्युमानिटी ईन्टरनेशनल नेपाल र स्थानीय सरकारको सहयोगमा कनकपट्टिमा निर्मित १४ वटा घर दलित, अतिबिपन्न परिवारलाई हस्तान्तरण गरिरहँदा घर पाउनेहरु दंग परेर कार्यक्रममा दाताहरूले गरेको भाषण बडो चाखको साथ सुनि रहे ।

शम्भुनाथ नगरपालिकाकी उप–प्रमुख कबिता देवी सरदारको अध्यक्षता तथा ह्यबिटेट फोर ह्यूमानिटी ईन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक कृष्टी स्टिक्नीको प्रमुख आतिथ्यमा एक समारोहमाझ आवास हस्तान्तरण गरेको थियोे । कार्यक्रममा निर्देशक स्टिक्नीले साँचो र प्रमाणपत्र प्रदान गरी उनीहरुलाई घर हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै निर्देशक स्टिक्नीले घर हस्तान्तरण गर्नु पाउँदा खुशी लागेको बताईन् । आज खुशीको दिन हो । स्थानीय बाँसलगायतका स्थानीय श्रोत साधनको उपयोग गरेको घर एकदम राम्रो छ स्टिक्नीले भनिन्, यो उदाहारणीय कामबाट अरुले पनि प्रेणा लिनुपर्छ । स्टिक्नीले ह्याबिटेटले गरेको लगानी संस्था र स्थानीय सरकारले उपयोग गरेको भन्दै धन्यवाद व्यक्त गरिन् ।

कार्यक्रममा ह्याबिटेट फोर ह्यूमानिटी नेपालका कार्यक्रम निर्देशक युवान मल्ल, सिरहा धनगढी नगरपालिकाकाका प्रमुख हरिनारायण चौधरी, जिल्ला समवन्य समिति सप्तरीका ईन्जिनियर दिलिप कुमार साह, शम्भुनाथ नगरपालिकाका ईन्जिनियर बोधराम यादव, स्थानीय जनप्रतिनिधि र घर धनिहरुले समेत मन्तव्य व्यक्त गरेका थिए ।

महुली सामुदायिक बिकास केन्द्रका कार्यक्रम संयोजक चन्द्र नारायण चौधरीद्वारा संचालित कार्यक्रममा स्वागत निर्देशक प्रभुनारायण चौधरीले गरे । सुरक्षित आवस कार्यक्रम अन्तर्गत महुली सामुदायिक बिकास केन्द्र, ह्याबिटेट फोर ह्यूमानिटी नेपाल र स्थानीय सरकारको संयुक्त साझेदारीमा कनकपट्टीमा निर्मित १४ घर समुदायलाई हस्तान्तरण गरियो भने ४०ओटा घर निर्माणाधीन छन् । प्रतिघर ३ लाख ९४ हजार ३३ रुपैया लगानी भएको महुली सामुदायिक बिकास केन्द्रका अध्यक्ष रामलगन मण्डरले जानकारी दिए । घर पाएपछि स्थानीय दलित, गरिव बिपन्न समुदाय कार्यक्रममा नाचेर खुशी साटासाट गरेका थिए ।