• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

प्रअ यादवमाथि दुर्व्यवहार, संलग्नहरुलाई कारबाही गर्न प्रहरी निरीह 

प्रअ यादवमाथि दुर्व्यवहार, संलग्नहरुलाई कारबाही गर्न प्रहरी निरीह 
न्यूज टुडे
राजविराज, ११ बैशाख । 
आफुमाथि सार्वजनिक रुपमै दुर्व्यवहार गर्नेमाथि प्रहरीले कारबाही प्रक्रिया अगाडि नबढाएको सप्तरीको राजगढ गाउँपालिका २ स्थित रहेको खुवलाल जगरनाथ शक्ति आधारभुत विद्यालय कमलपुरका प्रधानाध्यापक रविन्द्र यादवले आरोप लगाएका छन् । विद्यालय व्यवस्थापन समितिका सदस्य रघुनन्दन यादव नेतृत्वको समुहले आफुमाथि गरेको दुर्व्यवहार विरुद्ध जिल्ला प्रहरी कार्यालयमा एक हप्ता अगाडि उजुरी दिएपनि सुनुवाइ नभएको भन्दै उनले गुनासो गरेका हुन् ।
घटनाका नाईके यादव, सुशील ठाकुर र नागेश्वर यादव विरुद्ध बैशाख ६ गते घटना भएकै दिन जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दर्ता गरेपनि घटनामा संलग्नमाथि प्रहरीले अहिलेसम्म कुनै कारबाही अगाडि नबढाएको प्रअ यादवले गुनासो गरे ।  दोषी उपर पटकपटक  आबश्यक कानुनी कारबाहीको लागि तकेता गर्दा समेत सुनुवाइ नभएको उनले बताए ।  
यादव नेतृत्वमा रहेका सुशील र नागेश्वरले तथानाम अपशब्द बोल्दै मुक्का प्रहार गर्दै विद्यालयको साँचो नियन्त्रणमा लिदै आफुसित भएको १० हजार रुपियाँ खोसेको र पैसा राखेको पैन्टको गोजि समेत च्यातेर दुर्व्यवहार गरेको प्रअ यादवले आरोप लगाए । 
विद्यार्थीहरुलाई किताब वितरणको निहुँ पारेर आफुमाथि साँघतिक आक्रमण गर्नुको साथै अभद्र व्यवहार गरेको प्रअ यादवको भनाइ छ । 
“घटना बैशाख ६ गतेको हो, विहान ८ बजे शिक्षक विद्यार्थी मिलेर विद्यार्थी भर्ना अभियानको तयारी हुदैथियो, प्रअ यादवले भने,  एक्कसी रघुनन्दन यादव नेतृत्वको समुह कार्यालय छिरे, कसलाई सोधेर पुस्तक वितरण गरिस, कार्यालयबाट निस्किहाल भन्दै अचाकल्ली गालीगलौज गरेपछि आफू तत्कालै बाहिरीएँ तर मोटरसाइकल लिएर घरतर्फ जाँदै गर्दा गेटमा पुग्नसाथ त्यही ढुकेर बसेका एकजनाले पछाडीबाट मोटरसाइकललाई तानेर चावी खोसेपछी मुक्काले बर्साउन सुरु गरे, आफुसित रहेको १० हजार रुपियाँ लुटेर पैसा राखेको पैन्टको गोजी समेत च्यातिदियो । “
घटना लगातै प्रहरीलाई जानकारी गाराउँदा समेत संलग्न व्यक्तिहरुमाथि कारबाहीका लागि  कुनै चासो नदिएको उनले जानकारी दिए ।
सप्तरीका प्रहरी प्रबक्ता डिएसपी ढुण्डीराज नेउपानेले यसबारे दुबैपक्षलाई बोलाएर एक चरण छलफल गरिसकिएको र फेरीपनि आज मंगलबार समय तोकिएपनि सार्वजनिक विदा भएकोले दुबैपक्ष उपस्थित नभएको बताए । 
शिक्षा क्षेत्रको विवाद भएकोले गाउँपालिकाले पनि दुबैपक्षलाई राखेर छ्लफलको समय तोकेको छ,  डिएसपी नेउपानेले भने, त्याहाँ कुरो नमिलेको खण्डमा कानुन अनुसार कारबाही हुन्छ, दोषीले उन्मुक्ति पाउने कुरै हुँदैन । 
डिएसपी नेउपानेले यस घटनामा कुनै राजनीतिक दवाव नआएको स्पष्ट पार्दै प्रहरी आफ्नो दायित्वबाट पछि नहट्ने बताए । 
विद्यालय व्यवस्थापन समितिका सदस्य रघुनन्दन यादवले प्रअ यादवले आफुहरुमाथि लगाएको आरोप निरधार रहेको बताए । विद्यालयबाट निस्कन खोजेपछि विद्यालयको चावी मागेर सोही विद्यालयकी शिक्षिका शान्ति यादवलाई दिएको उनले स्वीकार गरे ।