• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सरकारले सबैका लागि शिक्षा भन्ने नीति अघि सारेर साक्षरताको प्रतिशत बढाउने तर्फ कदम अघि बढाएको छ । यसै तहत विद्यालय जाने उमेरका सबै बालबालिकालाई लक्षित गरी विगतमा भर्ना अभियान समेत सञ्चालन गरी सकिएको छ ।
एक निश्चित तहसम्म निःशुलक शिक्षाको व्यवस्था समेत मिलाएर साक्षरता प्रतिशत बढाउने प्रयास गरिएको छ । तथापि केही विद्यालयले विभिन्न नाममा शुल्क लिएर अभिभावकमाथि आर्थिक भार थप्ने काम गरिरहेको भन्ने गुनासो पनि उठ्न छाडेको छैन । निजी विद्यालयहरुले त शुल्क लिएर नै विद्यार्थीको पठनपाठन गर्दै आएका छन् । तर सरकारी विद्यालय मध्येका पनि कतिपयले विभिन्न नाममा शुल्क उठाउने गरेको भनी गुनासो उठेको हो । अब केही दिनपछि एसईई परीक्षा सुरु हुनेछ । त्यसैलाई माध्यम बनाएर शुल्क असुली गर्न थालेको भनी समाचार आउन थालेका छन् । सरकारी विद्यालय सञ्चालनका क्रममा हुने सबै जसो खर्च सरकारले नै ब्यहोर्ने गरेको छ । तथापि परीक्षाको बहाना वा अन्य कुनै नाममा अभिभावकसितबाट अतिरिक्त रकम असुल्नुलाई उपयुक्त मानिदैन । यसरी असुली गरिएको रकम वापत विद्यार्थीलाई सहुलियत भन्दा पनि असुली गर्नेले अतिरिक्त कमाई अवैध रुपमा गर्न खोेजेको अर्थ लाग्न सक्दछ ।
एसईई परीक्षाको सञ्चालन सरकारले गर्ने र त्यसका लागि जिल्ला जिल्लामा परीक्षा सञ्चालन समिति नै व्यवस्था गरिएको हुन्छ । कुन कुन कुरामा शुलक लिन मिल्छ अनि कुनमा मिल्दैन भन्ने जानकारी नरहेको कारण सोझा अभिभावकबाट गरिने यस्ता खालका असुली धन्दा माथि कडाई गर्न जरुरी छ ।