• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मुलुकमा आर्थिक संकटतर्फ उन्मुख हुन थालेको भन्दै सर्वत्र चिन्ता व्यक्त गरिँदै छ । आर्थिक संकटतर्फ उन्मुख हुनु भनेको विद्यमान आर्थिक अवस्था कमजोर हुँदै गएको भन्ने नै बुझिन्छ ।
यसको आभाष समयमै हुँदा त्यसको सुधारका लागि काम गर्ने र परिस्थितिलाई सम्हाल्ने अवसर समेत मिल्ने हुन्छ । यतिबेला त्यसकै लागि युद्धस्तरमा काम गर्नु पर्ने आवश्यकता त हो । तर त्यस्तो हुन नसक्दा अवस्थामा सुधार आउला भनेर जनता आश्वस्त हुन सकिरहेका छैनन् । सरकारले आर्थिक अवस्था सुधारोन्मुख रहेको तर्क अघि सारेर भनिए जस्तो अवस्था नबिग्रेको दलील प्रस्तुत त गर्ने गरेको छ । तर भईरहेका गतिविधि र क्रियाकलाप चाहीँ त्यस्तो संकेत दिने गरेको छैन । आर्थिक अवस्था सुधारका लागि सरकारले के के काम ग¥यो, भविष्यमा के के गर्ने योजना छन् भननो जनताको चासो रहन्छ जसलाई अस्वाभाविक वा असान्दर्भिक भन्न सकिँदैन । मुखले मात्रै गरिने सुधारको दावीलाई कार्यशैलीका माध्यमबाट पनि सावित गर्न सकियो भने त्यसले विश्वासको आधारशिला तय गर्दछ । मुलुकमा बढेका बेतिथिका कारणले जनतामा नैराश्यता थपेको छ । स्वदेशमा रोजगारी अभाव रहेका कारण युवा पलायनको क्रम बढ्दो छ । शिक्षण संस्थामा पठन पाठन भन्दा राजनीतिक हस्तक्षेप बढेका कारण पठनपाठन प्रभावित भईरहेको छ । राजनीतिक दल समर्थक विद्यार्थी संगठनहरु नै क्याम्पस तथा विश्वविद्यालयहरुमा तालावन्दीका लागि उद्दत रहने गरेका छन् ।
लामो समयदेखि यस्तै विवाद तथा आन्दोलनका कारण पढाई हुन नसक्दा पनि सरकारलाई यसले चिन्तित तुल्याउन सकिरहेको छैन? यही अप्ठ्यारो परिवेशले गर्दा विद्यार्थीहरु पनि विदेशिने क्रम बढेर गएको छ । विद्यार्थी बाहिरिनु भनेको मुलुकबाट पूँजी पलायन पनि हुनु हो । यसरी पूँजी पलायनले अर्थतन्त्र सुधारमा नै नकारात्मक प्रभाव पार्ने निश्चित छ । तसर्थ उल्टो बाटो पक्रेर गन्तव्यमा पुग्न नसकिए झैं अर्थतन्त्रमा सुधारका लागि त्यसै अनुरुपको गतिविधि हुन सके मात्र जनतालाई आश्वस्त तुल्याउन पनि सम्भव हुने छ ।