• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
यो लथालिंग कहिलेसम्म ?

सप्तरीमा सडकको अवस्था अधिकांश रुपमा लथालिंग बनेको छ । सडक मात्र होईन ढलनालाको अवस्था पनि कत्तिको बिग्रेको छ भनि बुझ्नु छ भने सदरमुकाम राजविराजमै गएर बुझ्दा पनि अवस्थाबारे जानकारी पाउन गाह्रो नहोला । सडक होस् वा ढलनाला, यी सबै जनतासित जोडिएका विषय हुन् ।

मुलुकमै आवागमनकालागि सबैभन्दा प्रमुख आधार सडक यातायात नै रहेको छ । सप्तरीको अवस्था पनि यस भन्दा पृथक छैन । ठाउँठाउँमा लामो समयदेखि बिग्रेका सडकको मर्मत तथा स्तरोन्नति हुन नसकेका कारणले दुर्घटना बढेको अवस्था छ । दुई दिन अघि पनि जिल्लाकै अमाहामा दुई मोटरसाईकल एकापसमा जुध्दा दुई जनाको ज्यानै गएको छ । सडकमा रहेको खाल्डोका कारण एक मोटरसाईकल विपरीत दिशाबाट आएको अर्कोसित ठोक्किँदा दुर्घटना भएको स्थानीयले जानकारी दिएका छन् ।

सडकको अवस्था ठीक नरहँदा दुर्घटना बढ्नु स्वाभाबिकै पनि हो । नयाँ नयाँ सडक निर्माणको आवश्यकता बोध भईरहेको समयमा भएका सडकको मर्मत सम्भार तथा स्तरोन्नति समेत हुन नसक्दा जनताले सास्ती खेप्नु परिरहेको छ । यस्तै अवस्था छ ढलनालाको पनि । असार मसान्तका बेलामा बजेट तह लगाउनकालागि कतै कतै नाला निर्माणको काम थालिन्छ । त्यसलाई समयमा नसकाउने गरेका कारण उल्टै फोहर जथाभावी बग्ने समस्याले सताउने गरेको वास्तविकता प्रति पीडित जनता नै भुक्तभोगी रहँदै आएका छन् ।

निर्वाचनताका विकास निर्माणको नारा घन्काउने अनि जितेर गएपछि आफ्नै तालमा रमाउने प्रबृत्तिले जनताको विश्वास सधैं जित्न नसकिने निश्चित छ । सप्तरीमा अहिले यस्ता विषयमा देखिएको बेथितिको समाधान किन भईरहेको छैन ? जनजनले गर्ने प्रश्न हो यो । यस मानेमा सरोकारवाला सबैले चासो देखाउन जरुरी छ ।