• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
विजया दशमीको शुभकामना

२०७८ सालको वडादशैं हाम्रो घर आँगनमा पदार्पण गरिसकेको छ । दशैं मनाउन बाहिर रहेकाहरु धमाधम घर फर्किन थालेका छन् । लामो समय बाहिर रहेका परिवारका सदस्यसितको पुनर्मिलनका रुपमा रहने गरेको दशैंको आफ्नो प्रकारको उल्लास रहने गर्दछ ।

रमाईलो गर्नाका साथसाथै आध्यात्मिक सन्देश समेत प्रवाह गर्ने यस पर्वको आफ्नै प्रकारको वैशिष्ठ्य छ । पूर्वीय आध्यात्म दर्शनका अनुयायीहरुले यस पर्वलाई असत्यमाथि सत्यको विजयका रुपमा लिने गर्दछन् । देवताले अहंकारी तथा अन्यायको द्योतकका रुपमा रहेको आसुरी (राक्षसी) प्रवृत्तिलाई निस्तेज गरेको सन्देश प्रवाह गर्ने यस पर्वको अवसरमा सबै प्रकारका अन्याय, अत्याचार, विभेद र उत्पीडनको समाप्ति भई सबैलाई न्याय मिलोस्, समानता र आत्मसम्मानको सञ्चार हुन सकोस् भनी कामना गर्दछौं ।

मुलुक सञ्चालनको जिम्मेवारीमा बसेकाहरुले देश र समग्र जनताको हित हुने नीति ल्याएर त्यसलाई व्यवहारम लागु गर्न सकून् । विकृति, विसंगति, बेथितिको अन्त्य भई विकास र शान्तिको मार्गमा मुलुकलाई डो¥याउनमा नेतृत्ववर्गमा सत्प्रेरणाको जागरण होस् । बेरोजगारीका कारणले दशैंका मुखमा पनि विदेशिनुपर्ने बाध्यताको अन्त्य भई स्वदेशमै रोजगारीका अवसरहरु सिर्जना होऊन् । ‘सर्वे भवन्तु सुखिन’को पवित्र आकांक्षा सफलीभूत होस् ।

समृद्धिको सपनालाई साकार तुल्याउन मुलुकमा प्रचुर सम्भावना छन् । प्रकृतिले यस मुलुकलाई दिएका अमूल्य उपहारको सदुपयोग गर्न सके यहाँ विकासको मूल फुटाउन समय लाग्ने छैन । सम्भाव्यता भएर पनि तिनको समूचित उपयोग गर्न नसकिएका कारण विकासका दृष्टिले मुलुक पछाडि परेको वास्तविकता विदितै छ । विकासीय काममा गति दिनका लागि जिम्मेवारी बोकेको सरकार र यसै अनुरुप नीति, सिद्धान्त अंगीकार गर्दै आएका राजनीतिक दलहरुले नै मलुलुकलई कसरी आत्मनिर्भर तुल्याउन सकिन्छ भन्नेमा चिन्तन गर्ने हो ।

विजयादसमीको यस पावन अवसरमा यस सन्दर्भमा ठोस रुपले अघि बढ्नका लागि माता दुर्गा भवानीले सबैमा प्रेरणा  प्रदान गरुन् । वडा दशैंको यस शुभ घडीमा हाम्रा समस्त पाठक, शुभचिन्तक, सहयोगीलगायत सबैमा हार्दिक मंगलमय शुभकामना !