• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

आर्थिक

सप्तरीको ९ गाविसका ४ हजारले सामाजिक सुरक्षा भत्ता पाएन

सप्तरीको ९ गाविसका ४ हजारले सामाजिक सुरक्षा भत्ता पाएन

राजविराज, २ चैत्र । फागुन मसान्तभित्र दोस्रो किस्ताको रकम पाईसक्नुपर्नेमा सप्तरी जिल्लाको ९ ओटा गाविसका ज्येष्ठ नागरिक र दलित बालबालिकाहरु सामाजिक सुरक्षा भत्ता पाउन सकेको छ्रैन ।
जिल्लाको पिप्रा पश्चिम, फकिरा, बोरिया, कटैया, बिसहरिया, मानराजा, पटेर्वा, लोहजरा र रौतहट गाविसका ४ हजार १ सय ८६ ज्येष्ठ नागरिक र दलित बालबालिकाहरु सामाजिक सुरक्षा पाउन नसकेका हुन् । स्थानीय विकास मन्त्रालयले सामाजिक सुरक्षा भत्ता शिर्षकमा कम बजेट पठाएका कारण जिल्लाको ९ गाविसमा सामाजिक सुरक्षा भत्ता वितरण हुन नसकेको जिल्ला विकास समिति सप्तरीका पञ्जिकरण शाखाका नायव सुब्बा हरिहर प्रसाद चौधरीले जानकारी दिए । उनका अनुसार ३ हजार २५ जना सामाजिक सुरक्षा भत्ता पाउन सकेको छैनन् भने १ हजार १ सय ६१ जना दलित बालबालिकाले हालसम्म भत्ता पाउन सकेको छैन ।
स्थानीय विकास मन्त्रालयले सामाजिक सुरक्षा भत्ता वितरणकालागि २१ करोड ५० लाख ४३ हजार ३ सय रुपैयाँ पठाएकोमा दोस्रो किस्ता अर्थात फागुनसम्मकालागि १ करोड ९८ लाख २ हजार ४ सय रुपैयाँ नपुग भएको छ । यता मन्त्रालयले दलित बालबालिकाको शिर्षकमा ९ करोड ३९ लाख ३७ हजार ५ सय रुपैयाँ पठाएको नासु चौधरीले जानकारी दिए । दलित बालबालिकाको शिर्षकमा करिब ५ करोड रुपैयाँ बढी पठाएको तथा सामाजिक सुरक्षा भत्तातर्फको ज्येष्ठ नागरिक शिर्षकमा भने कम रकम पठाएको जानकारी दिँदै उनले भने ‘मन्त्रालयबाटै सामाजिक सुरक्षा भत्तातर्फ ज्येष्ठ नागरिकको कम र दलित बालबालिकाको शिर्षकमा बढी रकम पठाएको छ ।’Jilla Bikash Karyalay (2)
भदौ महिनामै निकासा भए पनि निरन्तरको बन्द हड्तालका कारण गाविस सचिवहरुबाट समयमा विवरण प्राप्त हुन नसक्दा प्राविधिक कठिनाइ भएको नासु चौधरीले बताए । नपुग रकमको विषयमा समेत माथिल्लो निकायमा जानकारी गराईसकेको बताउँदै उनले भने ‘दलित बालबालिकाको शिर्षकमा आएको बढी रकम संशोधन गराएर सामाजिक सुरक्षा भत्तातर्फ ट्रान्सफर गरेर बाँकी रहेका गाविसहरुमा वितरण गर्ने प्रयास छौं । दुवै शिर्षकमा एकै पटक निकासा हुने भएकोले ९ ओटै गाविसमा दलित बालबालिका भत्ता समेत वितरण हुन नसकेको उनले जानकारी दिए ।
ज्येष्ठ नागरिक र दलित बालबालिकाहरु सामाजिक सुरक्षा भत्ता वापत नेपाल सरकारले प्रति महिना ५ सयको दरले वितरण गर्दैआएकोमा हाल ७० वर्ष पुगेका बृद्धबृद्धाहरुलाई औषधी उपचार वापत थप ५ सय रुपैयाँ उपलब्ध गराउँदैआएको छ । राजविराज, शम्भुनाथ, कञ्चनरुप, सप्तकोशी र योगिनीमाई हनुमाननगर गरी पाँच नगरपालिका र ९१ गाउँ विकास समिति रहेको छ ।