• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

मैथिली भाषा, संस्कृतिमा लाग्नुपर्नेमा जोड

मैथिली भाषा, संस्कृतिमा लाग्नुपर्नेमा जोड

राजविराज, २५ साउन । समाजवादी पार्टीकी उपाध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य रेणुकुमारी यादवले मैथिली भाषा र मिथिला संस्कृतिको व्यापक प्रभाव रहेकोले भाषा, संस्कृतको संरक्षणको लागि सबैले आफ्नो ठाउँबाट लाग्नुपर्नेमा जोड दिएकी छिन् ।
राजविराजमा शनिबार आयोजित ‘मैथिली साहित्य परिषद, राजविराजको १६ औं साधारण सभाको उदघाटन सत्रमा उनले यस्तो बताएकी हुन् । ‘नेपालको ईतिहास र हरेक कुरामा मैथिली भाषा र मिथिलाको प्रभाव रहेको छ’ उनले भनिन्–‘अब संघीय देश नेपालमा आ–आफ्नो भाषाको बोल्ने लेख्ने अधिकार छ र यसमा कसैको कुनै पनि किसिमको हस्तक्षेप गर्ने अधिकार छैन ।’
त्यसैले मैथिली भाषा प्रदेश २ को आफ्नो भाषा हुनुपर्ने उनले जोड दिइन् । उनले मिथिला र मैथिली विकासका लागि आफ्नो पार्टीले सदैव सहयोग गर्दै आएको भन्दै आगामी दिनमा पनि यसका लागि लागिरहने प्रतिबद्धता व्यक्त गरिन् । २०४६ सालको संविधान र अहिलेको संविधान २०७२ मा समेत मैथिली भाषालाई दोस्रो भाषाको रुपमा राख्न अभियान चलेको थियो र अहिले पनि यो अभियानमा लाग्नु पर्ने आवश्यक्ता रहेको कार्यक्रमका प्रमुख अतिथी समेत रहका यादवको भनाई छ ।
मैथिली साहित्य परिषद्का अध्यक्ष अशोककुमार झाको अध्यक्षतामा भएको उद्घाटन सत्रमा संस्थाका उपाध्यक्ष सतिश कुमार दतले स्वागत मन्तव्य गरेका थिए ।
परिषदका सचिव श्यामसुन्दर यादवले सञ्चालन गरेको कार्यक्रममा कोषाध्यक्ष पंकज झाले कोषाध्यक्ष प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा परिषद्का पूर्व अध्यक्षहरु अमरकान्त झा, विवेकानन्द मिश्र, देवेन्द्र मिश्र, शुभचन्द्र झा, पुर्व सभासद् रन्जु ठाकुर, अधिवक्ता रामजी साह, ब्राह्मण समाजका पुर्व अध्यक्ष श्यामसुन्दर झा, मैथिल महिला परिषद्की पूर्व अध्यक्ष बन्दना मिश्र, नेपाल पत्रकार महासघका सह सचिव चन्दनकुमार यादव लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।