• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
बजाज खडक वारिर्यसलाई मेयर कपको उपाधि

राजविराज, २ साउन । प्रथम मेयर कप सप्तरी प्रिमियर लिग प्रतियोगिताको उपाधि बजाज खडक वारियर्सले बोदेबर्साइन थन्र्डसलाई पराजित गर्दै उपाधि जित्न सफल भएको छ । सप्तरी पब्लिक विन्देश्वरी स्कुल क्रिकेट मैदानमा सम्पन्न फाइनलमा ४ विकेटको जित दर्ता गर्दै वारियर्सले उपाधि आफ्नो पक्षमा पारेको हो । उपाधि सहित बजाज खडक वारियर्सले ट्रफी सहित १ लाख ५१ हजार रुपैयाँ हात पार्यो भने उपविजेता बोदेबर्साइन थन्डर्सले ट्रफी र ८१ हजार रुपैयाँमा चित्त बुझायो ।
प्रतियोगिताको उत्कृस्ट खेलाडी बिजेता टिमका कप्तान बिबेक यादब, उत्कृस्ट बलर बोदे बर्साइनका नन्दन यादब, उत्कृस्ट ब्याट्सम्यान तिलाठी कोइलाडीका मेहबुब आलम घोषित भए भने उदयमान खेलाडी तिलाठी कोइलाडीका राहुल मण्डल घोषित भए । उत्कृष्ट खेलाडी यादवले रु. १५ हजार तथा उत्कृष्ट ब्याट्सम्यान र बलरले रु. १० हजार प्राप्त गरेका छन् । बिजेता खेलाडीहरुलाई राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादबले पुरस्कार वितरण गरेका छन् ।
फाइनलमा टस हारेर ब्याटिंग गरेको बोदेबर्साइन थन्डर्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२७ रन बनाए । टिमको लागि कप्तान सिद्धान्त लोहनीले सर्वाधिक ३५ रनको इनिंग खेले । त्यस क्रममा २९ बलमा ३ चौका र २ छक्का प्रहार गरे। यस्तै रोहित सिंहले २७, श्रवण यादवले १९, सन्दीप ढुङ्गानाले १६ रन बनाए । खडक वारियर्सका बलर उपेन्द्र रोय, बिबेक यादब र हरिशंकर शाहले समान २र२ विकेट हात पारे । १२८ रनको लक्ष्य खडक वारियर्सले १९.१ ओभरमा ६ विकेट गुमाएर भेटाए ।
वारियर्सको जितमा पुष्प थापाले सर्वाधिक ४२ रनको इनिंग खेल्दै जितमा योगदान दिन सफल भए । खेलको म्यान अफ द म्याच समेत चुनिएका उनले ३२ बलमा ६ चौका र १ छक्का प्रहार गरे। ४८ रनको योगफलमा ४ विकेट गुमाएको अवस्थामा ब्याटिंग गर्न आएका थापाले पाँचौ विकेटको लागि आशिष झासँग २२ रन तथा छैठौं विकेटको लागि फिर्दोश अन्सारीसँग ५० रनको साझेदारी गर्दै जितको आधार तयार गरे । फिर्दोश अन्सारीले अविजित २५ रन बनाए । यस अघि प्रशान्त राई १६, हरिशंकर शाह १० , हसिम अन्सारी ७ तथा बिबेक यादब १६ रनमा आउट भएका थिए । बोदे बर्साइनका बलर नन्दन झा र श्रवण यादबले २–२ विकेट हात पारे ।
सप्तरी क्रिकेट संघद्वारा राजविराज नगरपालिकाका नगर प्रमुख शम्भु प्रसाद यादव तथा वडा नम्वर ५ का वडा अध्यक्ष समिर झालाई सप्तरी प्रिमियर लिगमा पुरयाएको योगदानको लागि सम्मान समेत गरियो । सप्तरी क्रिकेट संघका अध्यक्ष शैलेश कुमार चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राजबिराज नगरपालिकाका नगर प्रमुख शम्भु प्रसाद यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा बोदेबर्साइन नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंह, राजबिराज नगरपालिकाका नगर उप–प्रमुख साधना झा, प्रमुख प्रशासकीय अधिकृत चन्द्र बहादुर कार्की, नेपाल क्रिकेट संघका पुर्व उपाध्यक्ष नरेश श्रेष्ठ, राजविराज नगरपालिका वडा नम्वर १ का अध्यक्ष, चन्द्र शेखर चौधरी, वडा नं. २ का अरुण यादव, वडा नं. ५ का समिर झा, वडा नम्वर ८ का जयनारायण मण्डल, सप्तरी युथका उपाध्यक्ष मोहन कुमार यादव, कोषाध्यक्ष बिष्णु यादव, ग्रिन नेपालका अध्यक्ष खेलानन्द दास लगायतले खेलाडिहरुलाई पुरस्कार तथा ट्रफी वितरण गरेका छन् ।