• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
प्रेमको अंकुरण

नन्दलाल आचार्य

प्रिय ज्योति !
आज म तिमीलाई सुनाउनै नहुने कुरा सुनाउँदै छु । आफूलाई देखाउन मैले कुनै कसर राख्न नमिल्ने हुनाले रिठ्ठो नबिराईकन अवगत गराउन खोज्दै छु । मभित्रका गन्थन बुझेपछि तिमी गुनासोरहित हुने छ्यौ भन्ने आश गर्दै छु ।
कुरा एस.एल.सी. परीक्षा दिएपछिको हो । म त्यस बेला संसारको छक्कापञ्जाको खेल जान्दिनथेँ । भर्खरै कुरकुरे वैंसले छुँदै थियो । राम्रो जति मेरै हो भन्ठान्थेँ । समाजले के भन्छ भन्ने कुरामा भन्दा पनि मैले चाहेको कसरी पूरा हुन्छ भन्ने कुरामा चिन्तनशील रहन्थेँ ।
एस.एल.सी. परीक्षाको समाप्तिसँगै म पढाइलेखाइबाट फुर्सदिलो भएँ । नजिकैको स्कूलमा निःशुल्क पढाउने मौका पाएँ । गरिबीको दलदलमा फसिँरहेको परिवारले मबाट धेरै कुरामा आश गरिरहेको थियो । यस्तो परिस्थितिमा दिनभरि स्कूलतिर अलमलिनु र खाना खान भने घर धाउनु मिल्दो कुरा थिएन । त्यसैले विद्यार्थी ट्युशन पढाउँदै खर्च निकाल्दै गर्न थालेँ । मेरो मेहनत र इमान्दारिताको कदर सबैले गर्थे । एस.एल.सी. परीक्षा पास गरेमा माष्टरीमा अस्थायी नियुक्ति दिने कुरा हेडमाष्टरले गरेका थिए । त्यसले पनि ठूल्ठूला सपना सजाउन मलाई मद्दत गरेको थियो ।Nandalal
एक दिन म स्कूलमा पढाइरहेको थिएँ । एउटी उज्यालो मुहारकी महिला टुप्लुक्क देखा परिन् । हेडसरकहाँ पुगिन् । आफू आउनुको औचित्य स्पष्ट पार्न बातचित सुरु गरिन् । आफ्नो घरमा बसेर नानीहरू पढाइदिने शिक्षक चाहिएको भनाइ राख्दै भनिन्– “हमरा घरमे बसिक बच्चाबुची पढबैवाला माष्टरजी चाही ।”
हेडसरले पनि मलाई देखाउँदै भन्नुभयो– “उहाँसँग कुरा गर्नुस् । उहाँ हाम्रो नयाँ सर भए पनि मेहनती सर हुनुहुन्छ ।”
बातचितकै दौडानमा थाहा पाएँ । ती महिला पहाडे मुलकी रहिछन् । उनका दुई छोरी र एक छोरा रहेछन् । महिली र कान्छी छोरी अनि छोरालाई पढाउनु पर्ने रहेछ । उनकै घरमा खानेबस्ने गर्नुपर्ने रहेछ । मेरा लागि यो मौका ‘ढुङ्गा खोज्दा देउता मिले’ जस्तो भयो । त्यसै दिनदेखि म उनकहाँ रहने र पढाउने काम गर्न थालेँ ।

ज्योति ! म जीवनका प्रारम्भिक पानाहरू पल्टाउँदै छु । समयले जे गर्न भन्यो, त्यही गर्न वाध्य भएको कुरा बताउँदै छु । तिम्रा सामु झुटको खेती गरेर हैन सत्यको फसल देखाएर मन जित्ने अभियानमा सरिक हुँदै छु । तिमीलाई सुनाउन बाँकी धेरै कुरा छन् । म क्रमशः लेख्दै छु । तिमीलाई आपत्ति भयो भने मेरो पत्रका यिनै अक्षरहरूसँगै तिमी मेरो जीवनबाट टाढिन सक्छ्यौ । हैन, सोचसमझ विकसित पार्न सकेकी छ्यौ भने अगाडि पढ्न सक्छ्यौ । र, मलाई चिन्ने अभियानमा सरिक भइरहन सक्छ्यौ ।

सबैभन्दा ठूली छोरी मालती उमेरमा मसरह रहिछन् । बाबुलाई सघाउन काठमाडौँ जाँदाआउँदा गर्दागर्दै परीक्षा दिन नपाएर अनुत्तीर्ण हुँदै आएकी रहिछन् । र, जागिर खान थालेपछि भने पूर्णरूपेण पढाइ छाडेकी रहिछन् । शारीरिक रूपमा सशक्तता देखिँदै आए पनि उमेरअनुसार पढाइमा भने सानो कक्षा थियो । म केवल एक शिक्षकको रूपमा उनीसामु पेस हुन्थेँ ।

एकदिन उनका पिताजी समेत काठमाडौँबाट फर्किए । मेरो चालचलन र इमान्दारिताको खुलेरै प्रशंसा गरे । मजस्तो सरल र स्वभाविक खालको मान्छेलाई घरज्वाइँ बनाउन जो पनि राजी हुने ठट्टा गरे । मैले भने लाजले मुन्टो निहु¥याएँ ।
घरमा मीठो मसिनो बन्यो । रमझम भयो । दारुपानी चल्यो । आश्चर्य– बच्चाहरूकै सामु श्रीमान्–श्रीमती दुबैले स्थानीय दारुपानी पिए । मलाई पनि लिन कर गरे । म लिनु त परै जाओस् अहिलेसम्म छोएको पनि छैन भनी तर्किएँ । र, जीवनमा कहिल्यै नछुने वाणी पनि ओकलेँ ।
वसन्त आयो । पालुवा लाग्यो । मगमगाउँदो वातावरण बन्यो । मेरा विद्यार्थीहरू पनि नयाँ–नयाँ कक्षामा प्रवेश हुन पाएकोमा प्रफुल्ल थिए । मालती समेत हर्दम मुस्कुराउन थालिन् । उनको मुस्कान मेरो मनमा बस्न थाल्यो । उनी किन मुस्कुराउँथिन्, त्यसको भेउ पाउन नसके पनि मुस्कुराउँदा गालामा देखिने डिम्पलका कारण उनी संसार भरकै राम्री नारी हुन् भन्ने लाग्न थालेको थियो ।
रहँदाबस्दा एकपटक उनले एउटा कागजको पाना मेरो हातमा थम्याइन् र अपूर्व मुस्कानमा साथ भनिन्– “कृपया चाँडै जवाफ फर्काउनुहोला ।”
लेखिएको थियो –
प्रिय राजदेव,
आज म मनमा गुम्सेको उहापोह पोख्न खोज्दै छु । मलाई विश्वास छ, यसलाई तिमी सहर्ष स्विकार गर्ने छौँ । त्यो के हो भने हामी सबैका आँखामा सुहाउँदिला जोडी छौँ । हामी जीवनभरका लागि एक बनौँ । मलाई तिमीबिना धर्ती बिरसिलो लाग्न थालेको छ । धेरै कुरो लेखिनँ । तिम्रो स्विकृति बेगर ठूलो मन पनि बनाउनु भएन ।
म औपचारिक अध्ययनको मामलामा भलै कमजोर हुँली तर हातमा सीप छ । गलैँचा बुन्ने तालिम सिकेकी छु । कपडा सिलाउन सक्छु । एक समय जागिर खाएर मनग्यै पैसा कमाएँ । बाबुले मेरो बिहे गराउन लाग्नुभएको थियो । नपढेकी झुत्रीसँग बिहे गर्दिनँ भनेर झर्कोफर्को गर्दै गयो । त्यस घटना पछि बुबाकै इच्छाको सम्मान गर्न मैले पढाइलाई निरन्तरता दिएकी हुँ ।
खै, अरू कुरा के भनौँ । तिमीभित्र पनि विराट् क्षमता सल्बलाई रहेको देखेकी छु । दिमाख खियाएर, पसिना लगानी गरेर हामी आफ्नो सुन्दर संसार सिर्जना गर्न सक्छौँ भन्ने निष्कर्षका साथ प्रेम प्रस्ताव राखेकी छु । मलाई तिम्रो जात, थर र खान्दान बारे सोधपुछ गर्नु छैन । सिर्फ तिम्रो व्यवहार नै मलाई मन खोल्न काफी छ ।
म मान्छे सिर्फ विचार र व्यवहारको धरोहर हो भन्दछु । विचार ठीक छ र व्यवहार त्यही अनुरूपको छ भने त्यो नै पूर्ण मानव हो । समाजका मान्छेका नाममा अभिसापहरू यत्रतत्र सल्बलाईरहेको कारणले पनि मैले मनोद्गार तिम्रा सामु राखेर निर्णय लिनु परेको हो । जीवनको फैसलामा आमाबाबु घरपरिवार सहयोगी हुन सक्छन् तर निर्णायक हुन सक्दैनन् भन्ने मेरो ठहर छ ।
कृपया अन्यथा नमान्नू । मेरा कुरा अनुचित लागे, मलाई अज्ञानी केटी सम्झी चिठीलाई च्यातेर दबाइदिनू । थोरै मात्रामा पनि म ठीक छु भने रमाइलो संसार सिर्जनामा हामी एक हुन हात बढाउनु भन्दै पत्रान्त गर्दछु । धन्यवाद !
तिम्री शुभचिन्तक
मालती
ज्योति ! म जीवनका प्रारम्भिक पानाहरू पल्टाउँदै छु । समयले जे गर्न भन्यो, त्यही गर्न वाध्य भएको कुरा बताउँदै छु । तिम्रा सामु झुटको खेती गरेर हैन सत्यको फसल देखाएर मन जित्ने अभियानमा सरिक हुँदै छु । तिमीलाई सुनाउन बाँकी धेरै कुरा छन् । म क्रमशः लेख्दै छु । तिमीलाई आपत्ति भयो भने मेरो पत्रका यिनै अक्षरहरूसँगै तिमी मेरो जीवनबाट टाढिन सक्छ्यौ । हैन, सोचसमझ विकसित पार्न सकेकी छ्यौ भने अगाडि पढ्न सक्छ्यौ । र, मलाई चिन्ने अभियानमा सरिक भइरहन सक्छ्यौ ।
निक्कै दिनसम्म मालतीको पत्र गोजीमा बोकिरहेँ । के भनेर जवाफ फर्काउने भनेर द्धिविधामा अल्झिरहेँ । आखिर समस्याको समाधान त आफैँले नगरी हुन्नथ्यो । एक रात कापीकलम लिएर बसेँ–
प्यारी मालती,
सप्रेम सम्झना !
तिम्रो विश्वास समेटिएको पत्र पाएको पनि हप्ता दिन भयो । पत्र अप्रत्यासित थियो । मेरो सोचसमझ बाहिरकै थियो ।
हुन त राम्रा कुरा मन पराउने र त्यो मेरै हुनुपर्छ भन्ने मानसिकता जन्मने उमेरमा हामी पाइला टेक्दै छौँ । वास्तविकता जेजस्तो होस्, वर्तमान प्रिय लागे त्यो नै सर्वस्व हो भनी क्षण भरमै निर्णय गरी हाल्ने र धोका पाएपछि पछुताएर झोक्रिने हाम्रो उमेरकै विशेषता हो ।
हेर मालती ! हेर्दा जवान देखिऊँला तर अहिले म १६ वर्षमा हिँड्दै छु । धन नभएकाले पनि संसार बुझ्नबाट बञ्चित छु । जसोतसो जीवन बारे भने घोत्लिन थालेको छ्ु । सबैको लागि मीठो संसार बनाउन नसके पनि मीठो बोलीले संसार आफ्नो बनाऊँ भन्ने लागेको छ । सक्छु, सक्दिनँ त्यो भने पछिको कुरा हो । अहिलेसम्म भने सत्यलाई गुरुअस्त्र ठानेर हिँडिरहेको छु । सत्यकै बाटोमा हिँडेर जीवन विताउने प्रण गरिरहेको छु ।
अब तिम्रो प्रश्नतिर ध्यान मोड्छु । सम्पूर्णतः परिवर्तन गरी समाजलाई प्रगतिको पथमा डोहो¥याउने हो भने मानिस जातिय सोचबाट माथि उठ्नुपर्छ । अन्तरजातीय विवाहले राज्यबाट मात्र नभई जनस्तरबाटै पुरस्कार भेट्नुपर्छ । म त अझ भन्छु– यादव, मण्डल, विश्वकर्मा, राम, सदा, बस्नेत, कार्कीजस्ता थरहरू लेख्नु आवश्यक छैन । मान्छेलाई मान्छे हुनबाट बञ्चित पार्ने यस्ता जातीय थरहरूको कुनै काम छैन । थरको, जातको लहरो तानेर नै मान्छेले मान्छेलाई मान्छे नगनेको हो । म मान्छेले समाजमा सम्मानित भएर रहन पाउनुपर्छ भन्ने मानसिकताको मान्छे हुँ । अन्तरजातीय वैवाहिक सम्बन्धले समाजमा बलियो छाप राख्छ भन्ने सोचको मान्छे हुँ ।
समाजको मुख्य समस्या नै सांस्कृतिक सवाल हो । म सांस्कृतिक रूपमा अग्रगामी रूपान्तरणका लागि हरतरहले तयार नभएको मानिसलाई सुझबुझयुक्त ठान्दिनँ । जातीय अहङ्कार र पुर्खौली सानका आधारमा वर्तमानको रथ हाँक्न खोज्नेसँग म टेर्दै टेर्दिनँ ।
मालती ! मेरा कुरा यस्तै छन् । म धेरै अघि बढेको पनि छैन । धेरै तल खसेको पनि छैन । धेरै सोच्ने समय पनि छैन । अतः कुनै प्रकारको ठोस निर्णय गरेर जीवनलाई अल्झाउनु पनि ठीक होइन ।
सम्झना रहिरहोस् । सुमधुर सम्बन्ध कायम भइरहोस् । तिम्रा कुरालाई सम्मान गर्छु तर धेरै कुरा अनिर्णयमै रहोस् भन्दछु । परिस्थितिलाई हातमा लिएर अघि बढौंँला । अहिलेलाई चाहिँ यत्ति !
तिम्रो शुभचिन्तक
राजदेव
ज्योति ! मेरो पत्रले मालतीलाई कस्तो प्रभाव पा¥यो कुन्नि ! उनी धेरै दिनसम्म भावनामा बगिरहिन् । मेरो छेउछाउ आइनन् । बोलचाल बन्द भयो । म एकोहोरो बोल्थेँ । पढाउँथेँ । खाना खान्थेँ । स्कूल पुग्थेँ । बेलुका आउँथेँ । नास्ता खान्थेँ । आफ्नो टिउशनका लागि बनरझुला चौक पुग्थेँ । साँझमा फर्कंन्थे । अनि उही चक्र दोहो¥याउँथेँ ।
मालतीको बोली मात्र बन्द भएन, मुस्कान समेत बन्द भयो । हँसिली, फरासिली, फुर्तिली मालतीपन गायव भयो । यो सबको कारण मेरै पत्र हो भन्ने ठम्याउन मलाई मुस्किल परेन । धैर्यधारण गर्न नसक्ने र रूपान्तरणलाई पचाउन नसक्ने नारी रहिछन् भनेर चित्त बुझाउन थालेँ ।
केही दिनको घर बसाइपश्चात् बाबुछोरी काठमाडौँ हानिए । मुटुको टुक्रा शरीरबाट अलग भएझैँ भान भयो । अवचेतन मनले म मालतीको प्रेममा फँसिसकेको आभाष भयो । घर फेरि रित्तो भयो । वरपरको वातावरण शून्यझैँ भयो । घरका भित्ताको रङ उडेजस्तो लाग्यो । सबै कुरा विरसिलो लाग्न थाल्यो । पढाउने मन पनि हराउन थाल्यो । पढ्ने जाँगर पनि सेलाउन थाल्यो । खानामा रुचि घट्न गयो । निद्रा पनि भाग्न थाल्यो । सम्पूर्ण अनुकूल परिस्थिति काठमाडौँ हानिएजस्तो लाग्यो । प्रतिकूल परिस्थिति मात्र बाँकी रहेजस्तो भयो ।
रातोदिन उनी नै मनमस्तिष्कमा छाउन थालिन् । उनले मलाई त्यत्रो प्रभाव पनि छाडेकी होइनन् । उनको प्रस्तावलाई स्वीकारेर मैले वचन पनि दिएको होइन । सायद अल्लारे उमेरकै गुण होला । उमेरले नै आफूलाई सम्झाउने र बिर्साउने गर्दो रहेछ ।
उनको विचारलाई पक्कै अपमान गरेको थिइनँ । सम्मान गर्न चुकेको थिइनँ । तर, अपनाउन भने उमेर र समयले दिएको थिएन । भेट्न जाऊँ, सम्भव थिएन । फोन गरूँ त्यो झन सजिलो भएन । त्यस बेला सबैका पकेटमा मोवाइल हुने कुरै आएन । बनरझुला चौकमा एउटाले सीडीएमए फोन राखेको थियो । फोन रिसिभ गर्दा पनि पटक्कैपिच्छे रू. १०।– तिर्नु पथ्र्यो । मान्छे खटाएर बोलाएको र ब्याट्री चार्ज गरेको शुल्कका रूपमा त्यो रकम बुझाउनु त्यहाँको मात्र नभई अन्यत्रको पनि नियम थियो ।
एक दिन दस वर्षे केटो दगुर्दै आयो र ‘सर ! सर !’ भन्दै मेरो नजिकै बस्यो । एक क्षणपछि उसमा बोल्ने सहास आएछ– “सर ! अहाँके काठमाडुलसँ फोन आयल छे । हमर साहू अहाँके बजेने छै ।”
उसले एकै श्वासमा काठमाडौँबाट मेरो लागि फोन आएको र डाक्न साहूले पठाएको कुरा भनी सिद्धयायो । त्यस कुराले मलाई चकित तुल्यायो । आमाबुबा गाउँमा खेतबारीमा तरकारी उब्जाएर बाँचेका छन् । भएको एउटा दाजु मालिकको सेवामा जुटेको छ । आफैं कमाएर पढ्ने ध्याउन्नमा म अर्काको घरमा बसेर पढ्ने र पढाउने काम गरिरहेको छु । मेरा मान्छे काठमाडौँमा छँदै छैनन् । कसले फोन ग¥यो त ?
मनमा कुरा खेलाइरहँदा झट्ट मालतीको याद आयो । उनको आकृति सम्झँदै पनि मन पुलकित भएर उठ्यो । अझ उनको कोइली बिर्साउने मधुर वाणी श्रवण गर्न पाए कत्ति सुखानुभूति हुने थियो ! म कल्पनामै पौडी खेल्न पुगेँछु । कतै मेरो मनमा आँधी आएझैँ उनको मनमा पनि आयो कि ? उनी त पैसा कमाउने मान्छे हुन् । पैसा हात परेपछि खर्च गर्ने अवस्थामा हुन्छिन् । मन ढक्क फुलेर आयो ।
हत्त न पत्त कपडा लगाएँ । दशको नोट गोजीमा बोकेँ । र दगुँरेँ बनरझुला चौक । म पुगेको दश मिनेटमै फोन आयो । काठमाडौँको नम्बर देख्नासाथ साहूले मलाई दियो । कानमा लगाउनु पर्नेमा हातमै रिसिभर लिएर केही बर खडा भई रहेँ । के गरौँ के गरौँ भइरहेको थियो । उताबाट ‘हेलो ! हेलो’ भनेको नारी स्वर सुनिरहेको थिएँ । साहूले नै हातको रिसिभर कान नजिक पु¥याइदियो ।
“राजदेव ! एले, साहू !” मेरो खोजी गरेको आवाज सुनियो ।
“हजुर म राजदेव बोल्दै छु ।” मैले नेपाली भाषामै जवाफ फर्काएँ ।
“हजुर त कस्तो मान्छे म बोल्दिनँ !” लाडे नारी स्वर सुनियो ।
“के भो र ! मैले के गरेँ र ?” म अबुझ भएको बहाना गर्दो भएँ ।
“यहाँ आफूलाई कस्तो भएको छ ! सम्झना आएर मर्न लागिसकेँ ।” मालती नै बोलेको प्रष्ट आभाष गर्न पुगेँ ।
“ठीकै छ । तिम्रो खुशीमा मेरो पनि खुशी रहने छ ।” मैले शान्तवनाको आवाज निकालेँ ।
“उसो भए मेरो प्रस्ताव पारित भयो त ?” उनको कडा प्रश्न मेरा सामु उभियो ।
“तिम्रो सुख मेरो सुख र तिम्रो दुःख मेरो दुःख भने पछि कुरा सकिएन र ?” मैले उल्टै प्रश्न राखेँ ।
“हैन, म त्यत्रो गहिरो कुरा बुझ्दिनँ । मैले पत्रमा व्यक्त गरेको विश्वासमाथि कुठाराघात हुँदैन नि ?” कडा नारी प्रश्न पुनः तेर्सियो ।
“हुँदैन, हुँदैन । विल्कुल हुँदैन । तिमी जे चाहन्छ्यौ, त्यही हुन्छ ।” मैले हार स्विकार गरेको आभाष दिलाएँ ।
“थ्याङ्स् गड ! उसो भए म एक फेरा विदा मिलाएर आउँछु ।” मालतीले विजयी आवाज निकालिन् ।
“हुन्छ । आउँदा मलाई उपहार लिएर आउनू ।” मैले पनि मौकामा चौका हान्ने सुरले भनिदिएँ ।
“अवश्य ! लौ राखेँ है त ।” उनले रिसिभर राखिदिइन् । म केही बेर कानमै रिसिभर टँसाएर उभिई रहेँ । साहूको सङ्केतले राखिदिएँ ।
मन हलुङ्गो भयो । खुशी नै खुशी बर्षेजस्तो लाग्यो । रु. १०।– साहूलाई बुझाएर म डेरातर्फ हानिएँ । त्यस बेलादेखि मन ढुक्क भयो । खाना पनि रुच्न थाल्यो । पढाउने मन पनि हुन थाल्यो । पढ्ने जाँगर पनि चल्न थाल्यो । निद्रा पनि लाग्न थाल्यो । चौतर्फी लाभैलाभ आर्जन भएको महसुस हुँदो भयो ।
nandalalacharya@gmail.com