• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

आफ्नै सामानका लागि दिनहुँ जिल्ला प्रहरी धाउने बाध्यता

सप्तरी प्रहरीलाई चोर समातेर दिनेहरुको विजोग

राजविराज, १० पुस ।
गत कार्तिक ५ गते बेलुका ८ बजे तिर सप्तरी सदरमुकाम राजविराजस्थित शिवम् ट्रेडिङ्ग एण्ड विजनेस हाउसमा कार्यरत एक कर्मचारीको साईकल चोर्दै गर्दा पसले तथा स्थानीय बासिन्दाहरुले रंगेहात चोरलाई पक्राउ ग¥यो । चोर पक्राउ गरेपछि जिल्ला प्रहरी कार्यालयमा जानकारी गराईयो । जिल्लाबाट गएको प्रहरी टोलीले चोरसहित चोरी गर्दै गरेको साईकल समेत नियन्त्रणमा लिएर आए । घटनाको २÷४ दिन पछि नै चोरीको आरोपमा पक्राउ परेका व्यक्तिलाई प्रहरीले छाडी दिए यद्यपी चोरसँगै ल्याईएको साईकल भने अहिलेसम्म पीडितले पाउन सकेको छैन ।

‘हामी व्यापारी मान्छे अब एउटा साईकलको लागि कति दिनसम्म प्रहरीमा धाई राख्नु ?, प्रहरीले जनतालाई अपराध विरुद्ध जागरुक बन्न आह्वान गर्ने गर्दछन् तर जागरुक जनताको हाल कस्तो हुन्छ यो वल्ल यसपाली अनुभव गरे ।’

‘दशै प्रारम्भ भएको पाँचौ दिनको घटना हो यो, दशैका कारण समान्य भन्दा केही अबेरसम्म हामीले पसल खोला राखेका थियौ’, शिवम् ट्रेडिङ्ग एण्ड विजनेस हाउसका संचालक राजेश देवले भने, ‘पसलमा काम गर्ने ती कर्मचारीलाई मैले नै त्यो साईकल चढ्नलाई दिएको थिए, अन्य दिन झै पसल छेउमा साईकल पार्किङ्ग गरेर राखिएको थियो ।’ त्यतिबेलै एक जना अन्दाजी १५÷१६ बर्षका केटा साईकलको ताल्चा खोलेर साईकल लग्दै गर्दा ती व्यक्तिलाई आफुहरुले समातेको पसल संचालक देवको भनाई छ ।

‘उसलाई(आरोपी) समातेर नाम ठेगान सोध्दा केही बोलेन तर उ सँग थुप्रै साँचो(चाभी)हरु थियो’, देवले भने, ‘हामीले तत्कालै जिल्ला प्रहरी कार्यालयमा फोन ग¥यौ, सिल्भर कलरको बोलेरमा तत्कालै प्रहरी टोली घटना स्थल पुगेर आरोपी तथा साईकल दुबै नियन्त्रणमा लिई आए ।’ त्यस यता पक्राउ परेका व्यक्तिलाई कसरी छाडिएको तथा नियन्त्रणमा लिएको साईकल कहिले दिने भनि पटक–पटक प्रहरीमा सम्पर्क गर्दा पनि कुनै जवाफ नआएको देवको गुनासो छ । घटनाको दुई महिना बित्न लाग्दा पनि आफुले आफ्नो साईकल पाउन नसकेको उनको भनाई छ । ‘हामी व्यापारी मान्छे अब एउटा साईकलको लागि कति दिनसम्म प्रहरीमा धाईराख्नु ?’, देवले भने, ‘प्रहरीले जनतालाई अपराध विरुद्ध जागरुक बन्न आह्वान गर्ने गर्दछन् तर जागरुक जनताको हाल कस्तो हुन्छ यो वल्ल यसपाली अनुभव गरे ।’

गत मंसिर २४ गते राति राजविराज–४ गजेन्द्र चौकस्थित एक घरबाट मोटर साईकल चोर्दै गरेको अवस्थामा गाडी धनि लगायतका केही व्यक्तिहरुले एक जना भारतीय नागरिकलाई पक्राउ ग¥यो । तत्कालै जिल्ला प्रहरी कार्यालयमा पीडित पक्षले जानकारी गराए । जिल्लाबाट आएको प्रहरी टोलीले चोर्दै गरेको बाईकसहित अभियुक्तलाई पक्राउ गरि लगे । जिल्लाले मुद्दा प्रक्रिया अघि सारे । घटनाको दुई साता भन्दा बढी बितिसक्दा पनि पीडितलाई प्रहरीले मोटरसाईकल फिर्ता गरेको छैन ।

स३प ३७७३ नम्बरको उक्त मोटरसाईकल साझा पुस्तक भण्डार, साझा अफसेट प्रेस तथा न्यूज टुडे दैनिक, सत्यापन साप्ताहित एवम् न्यूज टुडे अनलाईनको प्रकाशन संस्था कम्प्याक्ट कम्यूनिकेशन प्रालीका संचालक शिवनारायण साहको नाममा छन् । यद्यपी उनले आफ्नै प्रतिष्ठानमा काम गर्ने कर्मचारी रमेशकुमार यादवलाई प्रयोग गर्न दिएका छन् । यादवले मंसिर २५ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिंदै पक्राउ परेका व्यक्ति माथि अनुसन्धानसहित बाईक चोर्न आएका अन्य दुई जनाको खोजीतलाससहित कारवाहिको माग गरेका छन् ।

प्रहरीको प्रारम्भिक सोधपुछका क्रममा पक्राउ परेका ती व्यक्तिले आफ्नो नाम शिवम साह बताएका थिए । उनले आफ्नो घरको भारतको बिहार राज्यअन्तर्गत पर्ने मधुवनी जिल्लाको बेनिपट्टी रहेको बताएका थिए । आफु लुकेर गाँजा खाँदै गर्दा चोरीको आशंकामा गाडी धनिले पक्राउ गरेको उनको भनाई छ । उनको साथबाट थोरै मात्रामा गाँजा र चिलम समेत बरामद् भएको थियो । प्रहरी पनि शुरुदेखि नै ती व्यक्ति चोर नरहेको दावी गर्दै आएका छन् ।

यता गाडी धनिले आफ्नो गाडी फिर्ता पाउनुपर्ने माग पटक–पटक गरिराख्दा समेत प्रहरीले बिभिन्न कानुनी अर्चन रहेको वताउँदै आफुहरुको आग्रहलाई वेवास्ता गर्दै आएको गाडी प्रयोग गर्दै आएका यादवको भनाई छ । ‘शुरुमा दुई चार दिनमा मुद्दाको प्रक्रिया पुरा भएपछि गाडी फिर्ता गरिदिने प्रहरीले बताएका थिए’, यादवले भने, ‘अब त दुई साता बित्न लाग्यो अब भन्न जाँदा कानुनी जटिलताका कारण अदालतबाट मात्रै गाडी फिर्ता हुने भनि प्रहरीहरु बताउँछन् ।’

पत्रिका बाँड्नुदेखि लिएर बजार व्यवस्थापनको काम आफुले गर्ने गरेको बताउँदै पीडित यादवले भने, ‘कागजी प्रमाणदेखि लिएर गाडीको सबै थोक हुँदा पनि प्रहरी गाडी दिन मानि रहेको छैन, गाडी नहुँदा आफ्नो दैनिक कामकाज नै दुई सातादेखि ठप्प हुन पुगेको छ ।’ प्रहरीले कानुनी अडचन र जटिलताहरु देखाउन थालेपछि आफुले मुद्दा फिर्ता लिने प्रस्तावसम्म प्रहरी सामु गरेको यादवको भनाई छ ।

यता जिल्ला प्रहरी कार्यालय मुद्दा शाखाका अनुसार चोरी मुद्दामा २५ दिनको हद म्याद रहने गरेको तथा यस प्रकरणमा अनुसन्धान अन्तिम चरणमा पुगिसकेकोले चाँडै मुद्दा अदालतमा बुझाउने तयारीमा जिल्ला प्रहरी कार्यालय रहेका छन् । यद्यपी यस समान्य मुद्दामा प्रहरीले चाहेको भए कि त अन्तिम म्याद अगाबै अदालतमा मुद्दा बुझाउन सकने कि त प्रहरीको अनुसन्धानमा पक्राउ परेका व्यक्ति निर्दोष देखिएको भए जाहेरी दिने पक्षको मुद्दा फिर्ता लिने प्रस्तावमा सहमति जनाएर पीडितको समस्यालाई समाधान गर्न सक्ने अवस्था रहेको जानकारहरुको भनाई छ ।