• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

चार दिन अघि सप्तरीका प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले सदरमुकाम राजविराजस्थित विभिन्न पसलहरुको अनुगमन गर्दा पाँच वटा किराना पसलमा प्रतिबन्धित सामान बिक्री गरेको पाईएपछि पाँच हजारका दरले उनीहरुमाथि जरिवाना गरिएको छ ।
प्रतिबन्धित भारतीय सामान पसलमा राखेको, लेबुल र बिल समेत नरहेको सामान बिक्रीका लागि राखेको फेला परेपछि यस्तो जरिवाना गरिएको हो । एकदिनको अनुगमनका क्रममा टोलीले पाँचवटा पसलमा यस्तो कैफियत फेला पारेको छ । सप्तरीमा किराना पसल मात्र होईन होटल, औषधी पसल, विभिन्न ब्राण्डका पानीका बोतल र जार लगायत हरेक जसो क्षेत्रमा नियम मिचेर यस प्रकारका गतिविधि हुने गरेको ब्यापक जनगुनासो नउठ्ने गरेको होईन । कतिपय औषधी पसलमा विगतमा पनि म्याद गुज्रेको औषधी फेला परिसकेको छ भने प्रतिबन्धित औषधी समेत लुकाई छिपाई बेच्ने गरिएको कुरा अनुगमनका क्रममा फेला परिसकेको छ । यसैगरी मिठाई पसलमा सडेको वस्तु पनि बिक्रीका लागि राख्ने गरिएको तथा मासु पसलेले तोकिएको मापदण्ड समेत पूरा नगरी खुल्लेआम व्यवसाय चलाउने गरेका अनेकौं उदाहरण दिन सकिन्छ । बजारका सबै पसलमा यस प्रकारका कमजोरी नहोलान् । तर समग्र बजारको अवस्था चाहीँ दुरुस्त नरहेको कुरा निश्चित नै छ । उपभोक्ताले सामान किन्दा यस्ता स्वास्थ्यका लागि नै घातक यस्ता वस्तु किन्नु नपरोस् सामानको मूल्यमा एकरुपता होस्, नाप तौलका सामान दुरुस्त भेटिउन् तथा गुणस्तरहीन सामानको कारोबार हुन नपाओस् भन्नाका लागि नै बजार अनुगमनको आवश्यकता बोध भएको हो । बजारमा यस प्रकारका अवैध गतिविधि रोक्न तथा आम उपभोक्ताको हितका लागि स्थानीय प्रशासन समेतको सहभागितामा बजार अनुगमनको व्यवस्था गरिएको हो ।
राजविराजमा मात्र एक दिनको अनुगमनका क्रममा पाँचवटा पसल जसरी कारवाहीमा परेका छन् यसले अनय समया पनि अरु पसलमा अनुगमन भए त्यहाँ पनि यस्ता कमजोरी भेटिन सक्छन भन्ने समेत संकेत गरेको मान्न सकिन्छ । बजार अनुगमन एकदिन गरेर मात्र पुग्दैन, यसलाई निरन्तरता दिनाका साथसाथै जिल्लाका अन्य बजारमा पनि अनुगमन टोली पुग्न सके विकृतिमा न्यूनीकरण हुने अपेक्षा लिन सकिन्छ ।