न्यूज टुडे
राजविराज, १८ कात्तिक ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ७ बभगामाबाट”पैसा डबल’ ठगी धन्दाका दुई आरोपी पक्राउ परेका छन् । ‘पैसा डबल गरिदिन्छु’ भन्दै सर्वसाधारणलाई प्रलोभनमा पारेर रकम असुल गरेको आरोपमा ५२ बर्षिय हनुमानी भनिने रामबहादुर रजक र सोही स्थानका बर्ष ३४ का गुन्जेश सिंह पक्राउ पारेका हुन् ।
उनीहरुलाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यसअघि पनि ठगी आरोपमा पक्राउ परेर धरौटीमा छुटेका हनुमानी विरुद्ध नयाँ उजुरी परेपछि घरबाटै उनलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।
सप्तरी प्रहरीका अनुसार रजकविरुद्ध छ लाख रुपैयाँ ठगी गरेको आरोप छ । सोही उजुरीका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ। रजकविरुद्धको पुरानो मुद्दासमेत विचाराधीन रहेको छ। प्राप्त विवरणअनुसार रजकविरुद्ध नयाँ उजुरी दिने व्यक्ति उदयपुरका हुन्।
२०८३ कात्तिक १४ गते पुरानो चिनजान रहेको गुन्जेश सिंहमार्फत रजकले पैसा दोब्बर बनाई दिने प्रलोभनमा पारी ५ लाख रुपैया लिएका थिए। पीडितले बुझाएको रकम पटकपटक टेलीफोन गरि माग गर्दा तपाईको रकम पुगेन पुनः एक लाख दिनुपर्छ भनी मंगलबार बोलाएर दिनको दुई बजे पुग्दा हनुमानीले पीडितको मोबाइल खोसी सम्पर्क विहीन बनाएको थियो । पीडितका साथीहरुले थाहा पाएपछि प्रहरीलाई खबर गरेकाले जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी टोली खटी १ लाख नगदसहित दुबैजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक विजय कार्कीले बताए ।
तिलाठी कोइलाडी गाउँपालिका–७, बभनगामा टोलस्थित घरमा रहेका रजक र सिंहलाई पक्राउ गर्न प्रहरीले राति ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको थियो। स्थानीयका अनुसार प्रहरीले गाउँ नै घेरा हालेको थियो। दुई–तीन ट्रक प्रहरी गाउँ पुगेपछि एकाएक हलचल मच्चिएको स्थानीयले बताए ।
प्रहरीले रजक र सिंहलाई घरको तेस्रो तलाबाट नियन्त्रणमा लिएर घर खानतलासीसमेत गरेको बताइएको छ। प्रहरीका अनुसार रजकले पीडितसंग पैसा डबल गरिदिने सर्तमा पैसा असुलेका थिए। तर, डबल पैसा लिँन जाँदा कुटपिट गरी लखेटिएको पीडितको आरोप छ ।
पक्राउ परेका दुबैजना विरुद्ध ठगी तथा अपराधिक विश्वासघात कसुरमा मुद्दा दर्ता गरि सप्तरी जिल्ला अदालत राजविराजबाट ३ दिनको म्याद लिई थप अनुसन्धान अगाडि बढाएको प्रहरी निरीक्षक कार्कीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
‘पैसा डबल गरिदिने’ प्रलोभन देखाएर दर्जनौँ व्यक्तिबाट करोडौँ रुपैयाँ ठगी गरेको आरोपमा रजक यसअघि २०८१ पुसमा पनि पक्राउ परेका थिए। आफुविरुद्ध उजुरी परेको जानकारी पाएपछि मोबाइल बन्द गरेर सम्पर्कविहीन भएका उनलाई प्रहरीले सुराकीका आधारमा नियन्त्रणमा लिएको थियो। त्यस प्रकरणमा उनको ठगी धन्दामा समूह नै संलग्न रहेको प्रहरी स्रोतको दाबी थियो।
पक्राउ अघि ठगीमा परेको भन्दै एक समूह रकम उठाउन गाडीसहित उनको घर पुगेको र त्यसपछि रजकको समूहले उनीहरूलाई कुटपिट गर्नुका साथै गाडीसमेत तोडफोड गरेको आरोपसमेत सार्वजनिक भएको थियो। उक्त घटनापछि प्रहरीसम्म पुगेको विवाद मिलापत्रमा टुंग्याइएको दाबी गरिएको थियो।
पक्राउपछि रजक करिब तीन महिना थुनामा बसे। २०८१ फागुन २९ गते उनी धरौटीमा रिहा भए। प्राप्त विवरणअनुसार उनले ११ लाख रुपैयाँ धरौटी बुझाएका थिए। उनका छोरा मनोज रजक पाँच लाख र श्रीमती लिलम रजक सात लाख रुपैयाँ धरौटीमा रिहा भएको खुलासा भएको छ ।
धरौटीमा छुटेपछि रजकविरुद्धको पुरानो मुद्दा सप्तरी जिल्ला अदालतमा विचाराधीन रह्यो। त्यही मुद्दाको अन्तिम टुंगो लाग्न बाँकी रहेकै बेला उनीविरुद्ध फेरि ठगीको उजुरी परेको छ। नयाँ उजुरीपछि भएको पक्राउले उनीसँग जोडिएको पुरानो ठगी प्रकरण र त्यसको अनुसन्धानमाथि पुनः चासो बढाएको छ।