समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

गंगाजलीमा देशकै पहिलो आदिवासी साहित्य महोत्सव : ३६ जिल्लाका सहभागी, महत्त्वपूर्ण उपलब्धि भएको भनाइ 

गंगाजलीमा देशकै पहिलो आदिवासी साहित्य महोत्सव : ३६ जिल्लाका सहभागी, महत्त्वपूर्ण उपलब्धि भएको भनाइ 
न्यूज टुडे
राजविराज,१८ कात्तिक ।
सप्तरीको सप्तकोसी नगरपालिका ५ गंगाजलीमा कार्तिक १४ र १५ गते आयोजित आदिवासी जनजाति साहित्य महोत्सव उपलब्धिमुलक भएको स्थानीयले बताएका छन् । देशभरका ३६ जिल्लाका ३ हजार बढी सहभागी साहित्य महोत्सव आदिवासी जनजाति इतिहासमा पहिलो र ऎतिहासीक उत्सवको रुपमा रहेको भन्दै उनीहरुले खुशी व्यक्त गरेका हुन् ।
उद्घाटन समारोहमा सहभागीहरु । फोटो : न्यूज टुडे
महोत्सव उद्घाटन समारोहमा ३६ जिल्लाका जनप्रतिनिधि, साहित्यकार, लेखक,पत्रकार, कलाकार, वकिल,आदिवासीजनजाति आवद्ध संघसंस्थाका प्रतिनिधि तथा बौद्धिक व्यक्तित्वहरु गरि १ हजार ८ सय बढीको उत्साहजनक सहभागिता रहेको सप्तकोसी नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष गोसाई चौधरीले बताए । मधेस प्रदेशका प्रमुख डा. सुरेन्द्र लाभले उद्घाटन गरेको कार्यक्रममा थारु, तामाङ, नेवारसहित विभिन्न जातजाति समुदाय तथा विभिन्न संघसंस्थाको साँस्कृतिक टोलीको प्रस्तुति तथा झाँक्री प्रदर्शनीले महोत्सवको महत्वलाई थप उचाइमा पुर्‍याएको उनले बताए ।
महोत्सवमा आदिवासी जनजातिको विभिन्न खानाको परिकार भएको ९ वटा स्टलले महोत्सवमा सहभागीलाई आकर्षित गरेको आयोजकको भनाइ छ । विभिन्न ठूला शहर र सदरमुकाम केन्द्रित यस्ता दुर्लभ महोत्सव एक दुर्गम गाउँमा आयोजना गरिएकोमा देशकै ध्यान केन्द्रित भएको सप्तकोसी नगरपालिका वडा नम्बर ५ का पूर्व वडाध्यक्ष दिपक कुमार लेखीले बताए । 
दोश्रो दिन मञ्चासीन अतिथिगण । फोटो : न्यूज टुडे
आदिवासी जनजाति साहित्य महोत्सव भएपनि आदिवासी जनजातिको हक अधिकार, समानता, समता, सामाजिक न्याय, संघीयता जस्ता मुद्दामा साहित्यक  बहसले सकारात्मक संदेश प्रवाह हुँदा अतिथिहरुको ध्यानसमेत लामो समय महोत्सवमा केन्द्रित रहेको सहभागीहरुको भनाइ छ । 
उद्घाटन समारोहमा प्रमुख अतिथि प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ,आदिवासी जनजाती आयोगका अध्यक्ष राम बहादुर थापा मगर, थारु आयोगका अध्यक्ष सुबोध सिंह, मधेस प्रदेशका पूर्व गृह, सघ्चार तथा कानूनमन्त्री एवम् प्रदेश सभा सदस्य राज कुमार लेखी, प्रदेशसभा सदस्य राजेन्द्र चौधरी, आदिवासी जनजाति महासंघका केन्द्रीय महासचिव विमल सारु मगर, आदिवासी जनजाति अनुसन्धान केन्द्रकी निर्देशक प्राध्यापक डा. पासाङ डोल्मा शेर्पा,आदिवासी जनजाति पत्रकार महासंघका केन्द्रिय अध्यक्ष लक्की चौधरी, सप्तकोसी नगरपालिकाका नगरप्रमुख तथा विभिन्न स्थानका स्थानीय तहका प्रमुख-उपप्रमुख अध्यक्ष-उपाध्यक्ष तथा अन्य जनप्रतिनिधि, पत्रकार वकिल, साहित्यकार, यूवा, विद्यार्थी तथा विभिन्न संघसंस्था आबद्ध बौद्धिक व्यक्तित्वहरुको विचार तथा सक्रिय सहभागीताले महोत्सव रोचक बनेको आयोजकको तर्क छ । 
चक्रवात सक्रिय हुँदा बाढी, पहिरोको भयत्रासको कारण काठमाडौबाट आदिवासी जनजाति महासंघका अध्यक्ष एवम् गण्डकी प्रदेशका पूर्वमन्त्री निमा लामा, महासंघका पूर्व अध्यक्ष पासाङ शेर्पा, महासचिव आङ्काजी शेर्पासहित मित्र राष्ट्र भारत  लगायतका ८ जना विज्ञहरुले विभिन्न विषयमा बौद्धिक विचार प्रस्तुत गर्ने कार्यक्रम प्रभावित भएको आयोजकले बताएका छन् । प्रतिकुल मौसममा पनि कार्यक्रममा देशभरीका बौद्धिक जमातको सक्रिय उपस्थिति गराउनु आफैमा एउटा ठूलो सफलता भएको आदिवासी जनजाति महासंघ सप्तरीका वरिष्ठ उपाध्यक्ष मिलन चौधरीले बताए ।
स्थानीय पूर्व शिक्षक राम नारायण चौधरीले  विभिन्न साँस्कृतिक महोत्सव, विभिन्न मेला उत्सव अबलोकन गर्ने अवसर पाएपनि आदिवासी जनजाति साहित्य महोत्सव पहिलो पटक अबलोकन गरी सहभागी हुन पाएको बताए । विभिन्न मेला महोत्सवले मनोरञ्जन दिएपनि त्यसमा हुने उछ्र्खल क्रियाकलापले गलत संदेश प्रवाह हुने बताउँदै उनले साहित्य महोत्सवले  आदिवासी जनजातिको पहिचान, प्रतिनिधित्व, सामाजिक न्याय, समानता र संघीयताको सान्दर्भिकता सम्बन्धि सचेतता जगाउन ठुलो योगदान गरेको बताए । 
साहित्य महोत्सवले एउटा दुर्गम गाउँलाई देश विदेशमा चिनाउन मद्दत गरेको तथा सामाजिक परिबर्तन र विभिन्न जातजातिको भाषा, संस्कृति, कला, परम्परा जगेर्नाको साथै जिल्लाको समग्र विकासमा अतुलनीय सहयोग पुगेको राजनीतिककर्मी योगेन्द्र प्रसाद चौधरीले बताए । 
विभिन्न बौद्धिक व्यक्तित्वको बैचारिक बहस,थारु भाषा, संस्कृति  संरक्षण संघका कलाकार तथा स्थानीय कलाकारको प्रस्तुतिले महोत्सवको दोश्रो दिन समेत उत्साहपूर्ण रहेको साहित्य महोत्सव आयोजक सप्तकोसी नगरपालिका ५ नम्बर वडा कार्यालयले जनाएको छ । 
आदिवासी जनजाति आयोगका अध्यक्ष राम बहादुर थापा मगर, आदिवासी जनजाति महासंघका पूर्व केन्द्रिय अध्यक्ष एवम् पूर्वमन्त्री राजकुमार लेखी, थारु भाषाविद प्राध्यापक महेश प्रसाद चौधरी, आदिवासी जनजाति अनुसन्धानकर्ता नरेन्द्र लामा, आदिवासी जनजाति महासंघ मधेस प्रदेश अध्यक्ष मनोज कुमार सिंह दनुवार,  आदिवासी जनजाति महासंघ सप्तरीका पूर्व अध्यक्ष एवम् आदिबासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशका महासचिव वृजमान तामाङ, सप्तकोशी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण ढकाल, थारु भाषा साहित्य केन्द्रका केन्द्रिय महासचिव सियाराम चौधरी, राजनीतिककर्मी आश्रा चौधरी सहित विज्ञहरुको विचार प्रस्तुतिले दोश्रो दिनको कार्यक्रमसमेत अति उपयोगी र फलदायी भएको सहभागीहरुको प्रतिक्रिया रहेको छ । 
आदिवासी जनजाति अनुसन्धान केन्द्रकी फिल्ड अफिसर तथा अनुसन्धानकर्ता सरिता चौधरी र स्थानीय यूवा कमलकान्त चौधरीको फरक उद्घोषण शैलीले कार्यक्रम अबधिभर सहभागीहरुको आकर्षण साहित्य महोत्सवमा केन्द्रित देखिएको थियो ।
उक्त कार्यक्रममा १२ लाख खर्च हुने अनुमान गरिएपनि अनुमानित ११ लाख खर्च भएको आयोजकले जनाएको छ । सप्तकोसी नगरपालिका ५ नम्बर वडा कार्यालयको २ लाख तथा अन्य विभिन्न व्यक्ति तथा संघसंस्थाले महोत्सवमा सहयोग गरेको आयोजकले जानकारी दिए।