न्यूज टुडे
राजविराज,१६ कात्तिक ।
सप्तरी क्रिकेट संघ र मधेश प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगिता सोमबारदेखि राजविराजमा सुरु भएको छ। प्रतियोगिताको उद्घाटन खेलमा सिरहाले आयोजक सप्तरीलाई ९५ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको सिरहाले निर्धारित ४० ओभरको खेलमा ३१ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १७५ रनको योगफल खडा गरेको थियो। सिरहाका लागि आकाश यादवले सर्वाधिक ४१ रन, नुमैर अहमदले ३९ रन, मोहम्मद अरमानले २८ रन तथा राजीव साहले १८ रनको योगदान दिए।
बलिङतर्फ सप्तरीका नितेश यादवले ४ विकेट लिए भने सन्तु मण्डलले ३, अभिमन्यु सरदारले २ र शिव दासले १ विकेट हात पारे।
१७६ रनको लक्ष्य पछ्याएको सप्तरीले कमजोर ब्याटिङ प्रदर्शन गर्दै १८ ओभर ४ बलमा सबै विकेट गुमाएर ८० रन मात्र बनाउन सक्यो। सप्तरीका लागि सन्तु मण्डलले १४ र शिव अधिकारीले १२ रन बनाउनु बाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
सिरहाका बलर नुमैर अहमदले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए। त्यस्तै आनन्द कामती, विक्की राय र आयुष विकले समान २–२ विकेट लिए।
उत्कृष्ट ब्याटिङ र बलिङ प्रदर्शन गरेका सिरहाका नुमैर अहमद खेलको प्लेयर अफ द म्याच घोषित भएको सप्तरी क्रिकेट संघका सचिव चन्दनकुमार यादबले जानकारी दिए।
प्रतियोगिताअन्तर्गत मंगलबार धनुषा र सप्तरीबीच प्रतिस्पर्धा हुने कार्यक्रम रहेको छ। प्रतियोगितामार्फत मधेश प्रदेशस्तरमा उत्कृष्ट प्रदर्शन गर्ने यू–१९ खेलाडी छनोट गर्ने लक्ष्य राखिएको छ।