समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरीको हटेलबाट २ लाखबढी नगदसहित दुई भारतीय नागरिक पक्राउ 

सप्तरीको हटेलबाट २ लाखबढी नगदसहित दुई भारतीय नागरिक पक्राउ 
उत्तम आचार्य 
कञ्चनरूप, १६ कार्तिक । 
सप्तरीको डाक्नेश्वरी नगरपालिका–३, हटेलस्थित सीमा नाकाबाट स्रोत नखुलेको नेपाली तथा भारतीय रुपैयाँसहित दुई जना भारतीय नागरिकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। सीमा क्षेत्रमा चेकजाँच गर्ने क्रममा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर पातोबाट खटिएको मोबाइल गस्ती टोलीले शनिबार उनीहरूलाई नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरीका अनुसार, नियन्त्रणमा लिइएका व्यक्तिहरूको साथबाट स्रोत नखुलेको नेपाली रुपैयाँ २ लाख ९५ हजार ३४५ र भारतीय रुपैयाँ ८६ हजार ६९० बरामद गरिएको छ। प्रहरीले उनीहरूसँगै एउटा मोटरसाइकलसमेत नियन्त्रणमा लिएको जनाएको छ।
नियन्त्रणमा लिइएका दुवै भारतीय नागरिक, बरामद रकम तथा मोटरसाइकललाई आवश्यक अनुसन्धान र कानुनी प्रक्रियाका लागि नेपाल प्रहरीलाई बुझाएको  सशस्त्र प्रहरीले जनाएको छ । 
यसबारे जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझ्दा पक्राउ  परेका भारतीय नागरिक पहिचान खुलाउन चाहेन ।