समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

आदिवासी जनजाति साहित्य महोत्सव सम्पन्न 

आदिवासी जनजाति साहित्य महोत्सव सम्पन्न 
न्यूज टुडे
फत्तेपुर,१५ कात्तिक । 
सप्तरीको सप्तकोशी नगरपालिका ५ गंगाजलीमा आयोजित दुइदिने आदिवासी जनजाति साहित्य महोत्सव २०८३ सम्पन्न भएको छ ।  सप्तकोशी नगरपालिका ५ नम्बर वडा कार्यालयद्वारा आयोजित आदिवासी जनजाति साहित्य महोत्सव २०८३ आइतबार सम्पन्न भएको हो । 
आदिवासी जनजाति आयोगका अध्यक्ष राम बहादुर थापा । फोटो : न्यूज टुडे
सप्तकोशी नगरपालिका ५ का वडाध्यक्ष गोसाई चौधरीको अध्यक्षता तथा आदिवासी जनजाति महासंघका पूर्व केन्द्रीय अध्यक्ष एवम् सप्तरी निर्वाचन क्षेत्र नम्बर १ (क) का प्रदेश सभा सदस्य एवम् मधेस प्रदेशका निबर्तमान गृह, संचार तथा कानूनमन्त्री राजकुमार लेखीको प्रमुख आतिथ्यमा आयोजित एक समारोहका वीच महोत्सव समापन गरिएको हो । 
कार्यक्रमलाई सम्बोधन गर्दै आदिवासी जनजाति आयोगका अध्यक्ष राम बहादुर थापाले  आदिवासी जनजाति महोत्सव आयोजकको प्रशंसा गरे । आयोजक वडा तर काम वडा गरेको भन्दै अध्यक्ष थापाले यस्ता कार्यक्रमले आदिवासी जनजाति समुदायको समग्र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । 
दोश्रो दिनको कार्यक्रम मञ्चासीन प्रमुख अतिथिसहित अतिथिगण । फोटो : न्यूज टुडे

आदिवासी जनजाति महासंघका पूर्व केन्द्रीय अध्यक्ष एवम् सप्तरी निर्वाचन क्षेत्र नम्बर १ (क) का प्रदेश सभा सदस्य एवम् मधेस प्रदेशका निबर्तमान गृह, संचार तथा कानूनमन्त्री राजकुमार लेखीले महोत्सवमा देशभरीका आदिवासी जनजाति अगुवाहरुको उपस्थितिले थप उपलब्धिमुलक भएको बताए ।
भाषाविद महेश प्रसाद चौधरले कुनैपनि जातिको पहिचान र अधिकार सुनिश्चितताको लागि भाषा, संस्कृति र साहित्य संरक्षण गर्न अपरिहार्य रहेको बताए ।  राज्यको नीतिका कारण आदिवासी जनजातिहरुको भाषा संस्कृति लोप हुने अवस्था पुगेकोले यसको संरक्षणका लागि कार्यक्रम फलदायी भएको बताए ।  
आदिवासी जनजाति महासंघ मधेस प्रदेश अध्यक्ष मनोज सिंह दनुवारले ठूला शहर बजार केन्द्रित हुने महोत्सव गाउँघरमा आयोजना भई सहभागी हुन पाउदा खुशी लागेको बताए ।  उनले  एउटा वडाले गरेको उदाहरणीय कार्यबाट पाठ सिकेर पालिकाहरुले समेत यस्ता बैचारिक बहस चलाउनु पर्नेमा जोड दिए ।
आदिवासी जनजाति अनुसन्धान केन्द्रका कार्यक्रम संयोजक नरेन्द्र  लामाले कार्यक्रमको औचित्यतामाथि प्रकाश पार्दै आदिवासी जनजाति समुदाय पछाडि पर्नुको कारण र त्यसको निकास बारे स्पष्ट पारे ।
थारु भाषा साहित्य केन्द्र नेपालका महासचीव सियाराम चौधरीले साहित्य महोत्सवले साहित्य क्षेत्रको विकासमा अतुलनीय योगदान पुगेको भन्दै खुशी व्यक्त गरे । 
सप्तकोसी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद ढकालले नगरपालिकामा आयोजित साहित्य महोत्सवले नगरपालिकाको विकासमा सहयोग पुग्ने बताए ।
आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशका महासचिव बृजमान तामाङले साहित्य महोत्सवले आदिवासी जनजाति समुदायको चेतना स्तरमा परिबर्तन ल्याउन मद्दत पुगेको बताए । आदिवासी जनजाति समुदायमा बैचारिक बहस सुन्ने बानी कम र मनोरञ्जनतर्फ बढी आकर्षित हुँदा अन्य समुदायको तुलनामा निकै पछाडि परेको चर्चा गर्दै उनले आदिवासी जनजाति समुदायले आफ्नो आनिबानी, आचरण र व्यवहारमा परिबर्तन गर्न नसके भावी पुस्ताले ठूलो संकटको सामाना गर्नुपर्ने भन्दै सचेत गराए । 
नेपाली राजनीतिक बृतमा एउटा शब्द निकै चर्चामा छ, सच्चिने की सक्किने’ उनले भने,’आदिवासी जनजातिले दुईमध्ये १ रोज्नुपर्ने बेला आएको छ,  सच्चिनको अर्को विकल्प छैन ।’
 महिला नेतृ आश्रा चौधरीले आदिवासी जनजातिको परम्परा, इतिहास र अधिकारको विषयमा बृहत बैचारिक संवाद गर्ने मञ्चको आयोजनाले ठूलो उपलब्धि भएको बताइन् । उनले यस्ता सामाजिक रुपान्तरणमा सहयोग पुग्ने कार्यक्रम २-३ महिनामा निरन्तर गर्नुपर्नेमा जोड दिइन् ।
सप्तकोशी नगरपालिका ५ का वडाध्यक्ष चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा कन्चनरुप नगरपालिकाका पूर्व नगर प्रमुख वसन्त कुमार मिश्र, ब्रहमा कुमारी राजयोग केन्द्र फत्तेपुरकी ब्रह्म कुमारी रन्जु दिदी, सप्तकोशी नगरपालिका २ का वडाध्यक्ष जाहिर हुसेन,३ का अध्यक्ष देवकान्त चौधरी, थाकस सप्तकोसी नगरपालिका सभापति कृष्णदेव चौधरीले  विचार व्यक्त गरे ।
कार्यक्रम संचालन आदिवासी जनजाति अनुसन्धान केन्द्रकी फिल्ड अधिकृत सरिता चौधरी र स्थानीय युवा कमलकान्त चौधरीले संयुक्त रुपमा गरेका थिए । 
दोश्रो दिनको कार्यक्रममा थारु संस्कृति संरक्षण संघ नेपाल आवद्ध कलाकार तथा स्थानीयद्वारा मौलिक पहिचान झल्कने गीत नृत्य, साहित्य प्रस्तुत गरेका थिए। 
मौलिक पहिचानको संरक्षण,अधिकारको सुनिश्चितता र समावेशी तथा न्यायपूर्ण समाज निर्माणका लागि साहित्य र नीतिवीच संवाद स्थापित गर्ने उदेश्यले आयोजना गरिएको महोत्सव  कार्तिक १४ र १५ गते गरि दुई दिन संचालन गरिएको थियो । 
 देश भरीका आदिवासी जनजाती अगुवा, अभियानता, साहित्यकार, कलाकार,पत्रकार तथा जनप्रतिनिधिहरु, विषय विज्ञहरु सहभागी महोत्सवमा आदिवासी जनजातीको भाषा,साहित्य,कला संस्कृति, परम्परागत ज्ञान सीप प्रथाजनित अभ्यास र अधिकारको संरक्षण, पुस्तान्तरण तथा समसामयिक चुनौती बारे बौद्धिक एवम् नीतीमुखी बहस भएको थियो। 
महोत्सवमा संबैधानिक तथा अन्तर्राष्ट्रिय अधिकार, आदिवासी जनजाति आन्दोलन, संघीयता, भाषा संस्कृति संरक्षण प्रथाजनित प्रणाली परम्परागत ज्ञान,आईएलओ महासन्धि नं. १६९ , युएनड्रीप, जलबायू परिबर्तन,कार्वन व्यापार तथा लाभांश बाँडफाँड लगायतका विषयमा  विज्ञहरुद्वारा प्रस्तुत  विचारहरुमा   बृहत छलफल भएको थियो। 
कार्यक्रममा जनप्रतिनिधि, कलाकार, पत्रकार, साहित्यकार, युवा, विद्यार्थी, आदिवासी जनजाति तथा अन्य संघसंस्थाका प्रतिनिधि तथा स्थानीयहरुको   सहभागीता रहेको थियोे ।