मधेस प्रदेशका प्रमुख सुरेन्द्र लाभले आदिवासी जनजाति साहित्य महोत्सवले इतिहास लेखेको बताएका छन् ।
सप्तरीको सप्तकोशी नगरपालिका ५ गंगाजलीमा शनिबार आयोजित दुइदिने आदिवासी जनजाति साहित्य महोत्सव २०८३ उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष एवम् निर्वतमान मन्त्री राज कुमार लेखी । फोटो : उत्तम आचार्य
सप्तकोशी नगरपालिका ५ नम्बर वडा कार्यालयद्वारा आयोजित आदिवासी जनजाति साहित्य महोत्सव २०८३ को प्रदेश प्रमुख लाभले विभिन्न आदिवासी जनजातिको बाजा १ मिनेट बजार उद्घाटन गरे ।
कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि प्रदेश प्रमुख लाभले कार्यक्रमले इतिहास लेखिएको बताए । विभिन्न मेला तथा साँस्कृतिक उत्सव हुने गरेपनि यस्ता आदिवासी जनजाति साहित्य महोत्सवले सामाजको बास्ताविक चित्रण गर्ने बताउँदै उनले आदिवासी जनजातिको अधिकार सुनिश्चितताका लागि टेवा पुग्ने विश्वास व्यक्त गरे ।
एउटा गाउँमा देशलाई नै जम्मा गर्न सफलता पाएको उल्लेख गर्दै प्रदेश प्रमुख लाभले कार्यक्रमले इतिहास रचेको बताए ।
प्रदेश प्रमुख लाभलाई स्वागत गर्दा स्थानीय बासी । फोटो : उत्तम आचार्य
आदिवासी जनजाति आयोगका अध्यक्ष राम बहादुर थापाले आदिवासी जनजाति महोत्सवले साहित्यको माध्यमले आदिवासीमाथि राज्यले गरेको भेदभावको चित्रण हुने भएकोले यस्तो कार्यक्रमले जनजागरणमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे ।
आदिवासी जनजाति महासंघका पूर्व केन्द्रीय अध्यक्ष एवम् सप्तरी निर्वाचन क्षेत्र नम्बर १ (क) का प्रदेश सभा सदस्य एवम् मधेस प्रदेशका निबर्तमान गृह, संचार तथा कानूनमन्त्री राजकुमार लेखीले आदिवासी जनजातिहरुको मुद्दामा साहित्यको माध्यमबाट जनजागरण गराउने उदेश्यले महोत्सव आयोजना गरेको भन्दै आयोजकको प्रशंसा गरे । उनले कार्यक्रमले आदिवासी जनजातिहरुलाई आफ्नो हक अधिकार प्राप्तिको अभियानमा गोलबद्व गर्न मदत पुग्ने विश्वास व्यक्त गरे ।
थारु आयोगका अध्यक्ष सुबोध सिंहले थारु समुदायको भाषा, धर्म, संस्कृति र पहिचान रक्षाका लागि थारु आयोगले काम गरिरहेको बताए । उनले आयोगले थारु समुदायको हितमा काम गर्दै आएकोले प्राप्त सेवा सुविधा उपयोगका लागि आग्रह गरे ।
सप्तकोशी नगरपालिका ५ का वडाध्यक्ष गोसाई चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा मधेस प्रदेश सभा सदस्य राजेन्द्र चौधरी, आदिवासी जनजाति अनुसन्धान केन्द्रका निर्देशक प्राध्यापक डा. पासङ्ग डोल्मा शेर्पा, आदिवासी जनजाति पत्रकार महासंघका केन्द्रीय अध्यक्ष लक्की चौधरी, आदिवासी जनजाति महासंघका केन्द्रिय महासचिव विमल सारु मगरलगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशका महासचिव बृजमान तामाङ, आदिवासी जनजाति अनुसन्धान केन्द्रकी फिल्ड अधिकृत सरिता चौधरी र स्थानीय युवा कमलकान्त चौधरीद्वारा संयुक्त रुपमा संचालित कार्यक्रममा स्वागत सप्तकोशी नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद ढकालले गरे ।
उद्घाटन समारोहमा थारु संस्कृति संरक्षण संघ नेपालका कलाकार, थारु, तामाङ, नेवार, मगर लगायतका विभिन्न जातिको मौलिक पहिचान झल्कने गीत नृत्य, साहित्यसाथै स्थानीय विद्यालयको छात्रछात्राहरुले समेत नृत्य प्रस्तुत गरेका थिए।
मौलिक पहिचानको संरक्षण,अधिकारको सुनिश्चितता र समावेशी तथा न्यायपूर्ण समाज निर्माणका लागि साहित्य र नीतिवीच संवाद स्थापित गर्ने उदेश्यले आयोजना गरिएको महोत्सव कार्तिक १४ र १५ गते सम्म संचालन हुने आयोजकले जनाएको छ ।
मित्र राष्ट्र भारत तथा देश भरीका आदिवासी जनजाती अगुवा, अभियानता, साहित्यकार, कलाकार,पत्रकार तथा जनप्रतिनिधिहरु, विषय विज्ञहरु सहभागी महोत्सवमा आदिवासी जनजातीको भाषा,साहित्य,कला संस्कृति, परम्परागत ज्ञान सीप प्रथाजनित अभ्यास र अधिकारको संरक्षण, पुस्तान्तरण तथा समसामयिक चुनौती बारे बौद्धिक एवम् नीतीमुखी बहस गरिने आयोजकले जानकारी गराएको छ ।
महोत्सवमा संबैधानिक तथा अन्तर्राष्ट्रिय अधिकार, आदिवासी जनजाति आन्दोलन, संघीयता, भाषा संस्कृति संरक्षण प्रथाजनित प्रणाली परम्परागत ज्ञान,आईएलओ महासन्धि नं. १६९ , युएनड्रीप, जलबायू परिबर्तन,कार्वन व्यापार तथा लाभांश बाँडफाँड लगायतका विषयमा बृहत छलफल गरिने जनाइएको छ ।
कार्यक्रममा जनप्रतिनिधि, कलाकार, पत्रकार, साहित्यकार, युवा, विद्यार्थी, आदिवासी जनजाति तथा अन्य संघसंस्थाका प्रतिनिधि तथा स्थानीयहरुको सहभागीता रहेको छ।