न्यूज टुडे
राजविराज, १२ कात्तिक ।
बढ्दो जलवायू परिबर्तनको प्रभावसंगै तातो हावाको लहरले गर्मी बढेपछि विद्यालय छाडेका रौतहटको कटहरिया नगरपालिका ४ का एक विद्यालयमा विद्यार्थीहरु विद्यालय फर्किन थालेको छ। श्री सामुदायिक आधरभुत विद्यालय हर्साहामा तातो हावा( लु) जोखिम न्यूनीकरण कार्यक्रम संचालनमा आएपछि छात्रछात्राहरुको आकर्षण बढेको हो ।

प्रोस्फर ग्लोबल तथा स्थानीय साझेदार संस्थाहरू आसमान नेपाल र नेपाल एकीकृत विकास समाजको आयोजनामा समुदायका लागि जलवायु उत्थानशील समुदाय परियोजना मार्फत विद्यालयमा तातो हावा( लु) जोखिम न्यूनीकरण कार्यक्रम संचालन गरिएको प्रधानाध्यापक चुनचुन प्रसाद यादवले बताए । परियोजनाको काम सम्पन्न भएको दुई महिना भित्रै यसको सकारात्मक प्रभाव देखिएको उनले बताए । विद्यालयमा खानेपानी,सौचालय सुविधा तथा तातो हावाको प्रतिरोधात्मक प्रविधि जडान पछि विद्यार्थी संख्या थप बढेको उनले बताए । उनले तातो हावा न्यूनीकरणका लागि गरिएको प्रयासले पठनपाठनमा सहज भएको बताए। विद्यालयमा पढ्ने बाताबरण राम्रो भएपछि १ सय ६० जना मात्र विद्यार्थी रहेको विद्यालयमा १ सय ८० पुगेको उनले बताए। दुई महिना भित्र २० जना नयाँ विद्यार्थी अन्य ठाउँबाट आएको र बाँकी विद्यालय आउन छाडेको विद्यार्थीहरु नियमित रुपले आउने गरेको प्रधानाध्यापक यादवले बताए ।
तातो हावा( लु) जोखिम न्यूनीकरण कार्यक्रमकी सामाजिक परिचालक ललिता यादवले विद्यालयमा संचालित कार्यक्रमले विद्यार्थी,शिक्षक, अभिभावकहरु निकै उत्साहित देखिएको बताइन् ।

सेनमारीवाइन सामुदायिक विपद व्यवस्थापन समितिका सचिब एवम् सोही विद्यालयका शिक्षक मोजेलाल यादवले परियोजनाले विद्यालयको आधारभुत समस्या सम्बोधन गरेको बताए ।
लालबकैया नदीको ढुवान समस्यासंग जुझ्न बाध्य भएको बताउँदै एक विद्यार्थीका अभिभावक अखलेश यादवले गर्मीको सास्ती खेपिरहेका बालबालिकाले थोरै भएपनि कार्यक्रम मार्फत राहत पाएको बताए ।
खोलाको वीच भागमा रहेको बस्तीमा बर्षोबर्षदेखि बाढीको सामाना गर्नु परेको पिडा सुनाउँदै उनले परियोजना संचालनमा आएपछि थोरै राहत महसुस गर्न पाएको भन्दै खुशी व्यक्त गरे । उनले सरकारी स्तरबाट यस्ता काम गर्नुपर्नेमा जोड दिए । उनका अनुसार सो स्थानमा यादव,मुशिम, दास,कानु, कलवार, राम गरि २ सय ६ घरधुरी बसोबास गर्दै आएका छन्।
कार्यक्रम संयोजक डोरेन्द्र बस्नेतले जलबायू परिबर्तनको असर न्यूनीकरणका लागि समुदाय स्तरमा जनजागरणसहितको पूर्व तयारीका लागि आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको बताए । उनले बाताबरणमैत्री प्रविधिको उपयोग गरि तातो हावाको लहरबाट विद्यार्थीलाई सुरक्षित राख्न जलबायूमैत्री उपकरणको प्रयोग गरि पूर्वाधार निर्माणका कार्य गरेको बताए ।
उनले टिनको छानामा सेतो रङ्ग लगाउने, छाना मुनि बबल इन्सुलेसन लगाउने, पंखा लगाउने,चापकल जोड्ने, शुद्व खानेपानीको लागि पानी सुदृढीकरण गर्ने उपकरण जडान, महिलामैत्री सौचालय निर्माण तथा बृक्षरोपण जस्ता काम गरेको बताए ।
प्रोस्फर ग्लोबल तथा स्थानीय साझेदार संस्थाहरू आसमान नेपाल र नेपाल एकीकृत विकास समाजको सहयोगमा संचालित जलवायु उत्थानशील समुदाय परियोजनाको कुल १० लाख ४३ हजार बढीको लागतमा पूर्वाधार निर्माणको कार्य सम्पन्न गरिएको उनले जानकारी दिए ।
यसैगरी परियोजना अन्तर्गत कटहरिया १ स्थित रहेको स्वास्थ्य चौकीमा समेत विभिन्न उपकरण सहयोग भएको स्वास्थ्य चौकीका प्रमुख धर्मेन्द्र कुमार दासले बताए । खानेपानी, चिस्यान उपकरण तथा पंखाको अभावले सेवा प्रवाहा चुनौतीपूर्ण बनेको बेला संस्थाले खानेपानी, सुविधा, पंखा, फ्रीज लगायतको उपकरणको सहयोगले दैनिक सेवा संचालनमा निकै सहयोग मिलेको उनले बताए ।
वडाका २२ टोलबाट दैनिक ८ दर्जनबढी सेवाग्राहीको चाँप हुने ठाउँमा संस्थाबाट प्राप्त सहयोगले ठूलो राहत पाएको स्वास्थ्य चौकी प्रमुख दासले बताए ।
जलबायू उत्थानशील सामुदायिक कार्यक्रम अन्तर्गत तातो हावाको लहर तथा जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण, अनुकूलन तथा समुदायको उत्थानशीलता अभिवृद्धिमा सहयोग गर्दै आएको परियोजनाका मधेश प्रदेश संयोजक सञ्जित श्रेष्ठले बताए। परियोजनामा समुदायले भोगिरहेका समस्या, विपद् जोखिम न्यूनीकरणका लागि स्थानीय सरकारको भूमिका र आधिकारिक सूचना तथा स्रोत पहिचान गर्नेलगायत विषयमा जनजागरण गरिरहेको बताए ।
जलवायु उत्थानशील समुदाय कार्यक्रम सञ्चालनले विपद जोखिम न्यूनीकरणमा सहयोग पुगेको जलवायु र विपद् जोखिम सञ्चारका क्षेत्रमा कार्यरत विज्ञ प्रल्हाद गैरापिप्लीले बताए । उनले अहिलेको अबस्थामामा समुदायमा गरिने यस्तो कार्यले विपदको जोखिम न्यूनीकरणमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे ।