समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

बाढीको प्रकोपबाट सुरक्षित भएपछि परोहा नगरबासी हर्षित

बाढीको प्रकोपबाट सुरक्षित भएपछि परोहा नगरबासी हर्षित
न्यूज टुडे
राजविराज, ११ कात्तिक ।
बर्षेणी लालबकैया नदीको बाढीको सास्ती भोगिरहेका रौतहटको परोहा नगरपालिकाबासी बाढीको प्रकोपबाट सुरक्षित भएपछि हर्षित भएका छन्। प्रोस्फर ग्लोबल तथा स्थानीय साझेदार संस्थाहरू आसमान नेपाल र नेपाल एकीकृत विकास समाजको आयोजनामा समुदायका लागि जलवायु उत्थानशील समुदाय परियोजना मार्फत लाल बकैया नदीमा बाँध निर्माण सम्पन्न गरी बाढीको जोखिमबाट सुरक्षित भएपछि उनीहरु हर्षित भएका हुन्।
जलवायु उत्थानशील समुदाय परियोजना मार्फत लालबकैया नदीमा बाँध निर्माण भएपछि एक बर्षदेखि ढुवानको समस्या झेल्न नपरेको परोहा नगरपालिका ३ तेजापाकडकी रिना देवी पासवानले बताइन् । उनले परियोजनाले बाढीको जोखिम न्यूनीकरणका लागि भौतिक पूर्वाधार तथा विपदको जोखिमबाट बच्न पूर्व तयारीका लागि आवश्यक उपकरण र जागरण उपलब्ध भएको बताइन् । 
 बर्षोबर्षदेखि बाढीको सामाना गर्नु परेको पिडा सुनाउँदै उनले परियोजना संचालनमा आएपछि ठूलो राहत महसुस गर्न पाएको भन्दै खुशी व्यक्त गरिन ।  उनले सरकारी स्तरबाट गर्न नसकेको डुवान  समस्या समाधान जलवायु उत्थानशील समुदाय परियोजना मार्फत समाधान भएको बताइन् । 
अर्का स्थानीयबासी ५० बर्षिय शेव आबेद हुसेले लाल बकैया नदिले सयौं घर तथा हजारौं विघा खेतीयोग्य जग्गा डुवानमा पर्ने समस्या परियोजना लागू भएसंगै अन्त्य भएको बताए । उनले अझैपनि बाढी तथा डुवानको जोखिम आउन सक्ने भएकोले यसको दिगो समाधानका लागि सरकारी स्तरबाट काम हुनुपर्नेमा जोड दिए ।
स्थानीय ठेकनी देवी पासवानले बाढी आउँदा भागभाग हुनुपर्ने समस्या  केही बर्ष यता कमी भएको बताइन् । चुनावको बेला विभिन्न आश्वासन बाँढ्नेहरुले बाढीको डुवानको समस्या समाधानमा कुनै चासो नदिएको गुनासो गर्दै उनले जलवायु उत्थानशील समुदाय परियोजनाले बाढीबाट सुरक्षित रहन ठूलो सहयोग पुगेको बताइन् ।
जलवायु उत्थानशील समुदाय परियोजना स्थानीय सहजकर्ता राकेश कुमार पंडितले बाँध निर्माण भएपछि परोहा नगरपालिका, राजपुर र इस्नाथ नगरपालिकाको सयौं गाउँबस्ती ढुवानबाट जोगिएको बताए । उनले परियोजना अन्तर्गत परोहा नगरपालिका ३ र ४ मा लालबकैया नदीले बषेणी कटान गर्ने स्थानमा बाँध निर्माण भएपछि एकबर्ष बढी समय देखि उक्त क्षेत्रमा बाढीको प्रभाव नदेखिएको बताए । 
नगरपालिका, जिल्ला प्रशासन कार्यालय तथा विभिन्न सरोकारवाला निकायसंग सहयोग लिएर बाढी नियन्त्रणको काम गरिरहेको उनको बताए । प्रोस्फर ग्लोबल तथा स्थानीय साझेदार संस्थाहरू आसमान नेपाल र नेपाल एकीकृत विकास समाजको सहयोगमा संचालित  जलवायु उत्थानशील समुदाय परियोजनाको ९ लाख,नदि नियन्त्रण कार्यालय वीरगन्ज ७ लाख गरि कुल १७ लाखको लागतमा लाल बकैया नदीमा जलबायूमैत्री बाँध निर्माण सम्पन्न गरिएको उनले जानकारी दिए ।
स्थानीय सामुदायिक विपद व्यवस्थापन समितिका अध्यक्ष रामप्रवेश यादवले विपदको जोखिम न्यूनीकरणमा परियोजनाले ठूलो सहयोग पुगेको बताए । बाढी पसेर हप्तौसम्म हुने समस्या समाधानमा प्राविधिक, आर्थिक तथा उपकरण परियोजनाबाट सहयोग पाउँदा विपद प्रतिकार्यमा मद्दत पुगेको बताए । 
जलवायु उत्थानशील समुदाय परियोजनाका कार्यक्रम संयोजक  डोरेन्द्र बस्नेतले जलबायू परिबर्तनको असर न्यूनीकरणका लागि समुदाय स्तरमा जनजागरणसहितको पूर्व तयारीका लागि आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको बताए । उनले  तटबन्ध (बाँध) निर्माणमा बाताबरणमैत्री जीओ ब्याग तथा बृक्षरोपण गरि जलबायूमैत्री कार्य गरिएको बताए ।
जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण, अनुकूलन तथा समुदायको उत्थानशीलता अभिवृद्धिमा सहयोग  गर्दै आएको परियोजनाका मधेश प्रदेश संयोजक सञ्जित श्रेष्ठले बताए। परियोजनामा समुदायले भोगिरहेका समस्या, विपद् जोखिम न्यूनीकरणका लागि स्थानीय सरकारको भूमिका र आधिकारिक सूचना तथा स्रोत पहिचान गर्नेलगायत विषयमा जनजागरण गरिरहेको बताए । 
जलवायु उत्थानशील समुदाय कार्यक्रम सञ्चालनले विपद जोखिम न्यूनीकरणमा सहयोग पुगेको जलवायु र विपद् जोखिम सञ्चारका क्षेत्रमा कार्यरत विज्ञ प्रल्हाद गैरापिप्लीले बताए । उनले अहिलेको अबस्थामामा समुदायमा गरिने यस्तो कार्यले विपदको जोखिम न्यूनीकरणमा योगदान गर्ने बताए । 
परोहा नगरपालिकाका आपत्तकालीन कार्य संचालन केन्द्रका प्रमुख एवम् विपद व्यवस्थापन शाखा प्रमुख एवम् योजना शाखा प्रमुख अव्दुल रव अन्सारीले परियोजना संचालनमा आउँदा नगरपालिकालाई  ठूलो सहयोग पुगेको बताए ।
बजेटले मात्र सबै कुरा नहुने भएको उल्लेख गर्दै उनले परियोजना मार्फत प्राविधिक तथा आवश्यक उपकरणहरु उपलब्ध हुँदा समुदायमा पूर्व सूचना प्रवाहमा गर्दा विपदको जोखिमबाट हुने मानवीय तथा जनधनको क्षतिबाट जोगाउन मद्दत पुगेको बताए ।