समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

चन्द्रनिगाहपुरमा जलवायु उत्थानशीलतासम्बन्धी चारदिने तालिम सुरु

चन्द्रनिगाहपुरमा जलवायु उत्थानशीलतासम्बन्धी चारदिने तालिम सुरु

न्यूज टुडे
राजविराज, १० कात्तिक ।

रौतहटको चन्द्रनिगाहपुरमा जलवायु उत्थानशीलता तथा विपद् जोखिम न्यूनीकरणसम्बन्धी चारदिने तालिम सुरु भएको छ। प्रोस्फर ग्लोबल तथा स्थानीय साझेदार संस्थाहरू आसमान नेपाल र नेपाल एकीकृत विकास समाजको आयोजनामा समुदायका लागि जलवायु उत्थानशीलता परियोजनाअन्तर्गत मङ्गलबारदेखि तालिम सुरु भएको हो।

जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण, अनुकूलन तथा समुदायको उत्थानशीलता अभिवृद्धिमा सञ्चारमाध्यमले खेल्नुपर्ने भूमिकाबारे पत्रकारलाई सशक्त बनाउने उद्देश्यले तालिम आयोजना गरिएको कार्यक्रमका मधेश प्रदेश संयोजक सञ्जित श्रेष्ठले बताए।

तालिममा जलवायु परिवर्तनका कारण समुदायले भोगिरहेका समस्या, विपद् जोखिम न्यूनीकरणका लागि समाचार सङ्कलन तथा सम्प्रेषण गर्दा सञ्चारमाध्यमले निर्वाह गर्नुपर्ने भूमिका र आधिकारिक सूचना तथा समाचारका स्रोत पहिचान गर्नेलगायत विषयमा जानकारी गराइएको छ।

जलवायु उत्थानशील समुदाय कार्यक्रम सञ्चालन भइरहेका सप्तरी, सर्लाही, रौतहटलगायत मधेश प्रदेशका विभिन्न जिल्लाका पत्रकारहरूको तालिममा सहभागिता रहेको छ। तालिमको सहजीकरण जलवायु र विपद् जोखिम सञ्चारका क्षेत्रमा कार्यरत विज्ञ प्रल्हाद गैरापिप्लीले गर्ने आयोजकले जनाएको छ।

तालिमका क्रममा परियोजना सञ्चालन भइरहेका समुदायमा स्थलगत भ्रमण तथा रिपोर्टिङ, अन्तरक्रिया र अनुगमनसमेत गरिने कार्यक्रम रहेको आयोजकले जनाएको छ।