समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरीको गंगाजलीमा हुने आदिवासी जनजाति साहित्य महोत्सवको तयारी तीब्र

सप्तरीको गंगाजलीमा हुने आदिवासी जनजाति साहित्य महोत्सवको तयारी तीब्र
न्यूज टुडे
राजविराज,०९ असोज । 
सप्तरीको सप्तकोशी नगरपालिका ५ गंगाजलीमा आगामी कार्तिक १४र १५ गते हुने आदिवासी जनजाति साहित्य महोत्सव २०८३ को तयारी कार्यले तीब्रता पाएको छ । सप्तकोशी नगरपालिका ५ नम्बर वडा कार्यालयले आयोजना गर्न लागेको आदिवासी जनजाति साहित्य महोत्सव २०८३ को भव्य तयारी गरिएको हो । 
मौलिक पहिचानको संरक्षण,अधिकारको सुनिश्चितता र समावेशी तथा न्यायपूर्ण समाज निर्माणका लागि साहित्य र नीतिवीच संवाद स्थापित गर्ने उदेश्यले आयोजना गर्न लागिएको महोत्सव स्थलमा मञ्च, पण्डाल तथा सरसफाइको कार्य तीब्र रुपमा भइरहेको सप्तकोशी नगरपालिका ५ का वडाध्यक्ष गोसाई चौधरीले बताए । 
मित्र राष्ट्र भारत तथा देश भरीका आदिवासी जनजाती अगुवा, अभियानता, साहित्यकार, कलाकार,पत्रकार तथा जनप्रतिनिधिहरु, विषय विज्ञहरु सहभागी हुने महोत्सवमा आदिवासी जनजातीको भाषा,साहित्य,कला संस्कृति, परम्परागत ज्ञान सीप प्रथाजनित अभ्यास र अधिकारको संरक्षण, पुस्तान्तरण तथा समसामयिक चुनौती बारे बौद्धिक एवम् नीतीमुखी बहस गरिने आयोजकले जानकारी गराएको छ । 
महोत्सवमा संबैधानिक तथा अन्तर्राष्ट्रिय अधिकार, आदिवासी जनजाति आन्दोलन, संघीयता, भाषा संस्कृति संरक्षण प्रथाजनित प्रणाली परम्परागत ज्ञान,आईएलओ महासन्धि नं. १६९ , युएनड्रीप, जलबायू परिबर्तन,कार्वन व्यापार तथा लाभांश बाँडफाँड लगायतका विषयमा बृहत छलफल गरिने बताइएको छ । 
महोत्सव उद्घाटन मधेस प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभले गर्ने कार्यक्रम रहेको प्रचारप्रसार समितिकी सरिता चौधरीले बताइन् । कार्तिक १४ गते विहान ११ बजे हुने उद्घाटन समारोहलाई प्रमुख अतिथि प्रदेश प्रमुख लाभ, मधेस प्रदेशका सभामुख राम अशिष यादव, सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का साँसद मधेस प्रदेशका पूर्व  गृह, सञ्चार तथा  कानून मन्त्री एवम् आदिबासी जनजाति महासंघका पूर्व केन्द्रिय अध्यक्ष राज कुमार लेखी, आदिवासी जनजाति आयोगका अध्यक्ष राम बहादुर थापा मगर, आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष एवम् गण्डकी प्रदेशका पूर्वमन्त्री निमा लामा, लुम्बिनी प्रदेशका पर्यटन मन्त्री तुलसी थारु, संविधान सभा सदस्य एवम् आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष पासाङ शेर्पाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 
यसैगरी आदिवासी जनजाति पत्रकार महासंघका केन्द्रीय अध्यक्ष लक्की चौधरी,आदिवासी जनजाति  महासंघका महासचिव विमल सारु मगर,आदिवासी जनजाति महासंघका पूर्व महासचिव आङ्काजी शेर्पा,पाँच पोखरी थाङ्पाल गाउँपालिका अध्यक्ष टासी लामा,कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरी, प्राध्यापक पासाङ डोल्मा शेर्पा लगायतकाले सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । 
उद्घाटन समारोहमा विभिन्न जातिको पहिचान झल्कने गीत नृत्य, साहित्य तथा कविता समेत प्रस्तुत हुने जनाइएको छ । 
महोत्सवको दोश्रो दिन थारु आयोगका अध्यक्ष सुबोध सिंह,आदिवासी जनजाति कल्याण महासंघ उत्तर प्रदेश भारतका अध्यक्ष विजय बहादुर चौधरी,थारु कल्याण महासंघ विहार राज्यका अध्यक्ष शैलेन्द्र गढवाल, प्राध्यापक महेश चौधरी , आदिवासी जनजाति अभियानताहरु नरेन्द्र लामा, सरिता चौधरी लगायतले विचार प्रस्तुत गर्ने आयोजकले जनाएको छ । 
कार्यक्रममा सहभागी हुने अतिथि बक्ताहरुको लागि आवास, खाना लगायतकाको व्यवस्थापन गरिसकिएको आयोजकले जनाएको छ । 
राष्ट्रिय तथा स्थानीय कलाकारहरुको जोडदार प्रस्तुति समेत रहने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराउँदै आयोजकले जनप्रतिनिधि, कलाकार, पत्रकार, साहित्यकार, युवा, विद्यार्थी, आदिवासी जनजाति तथा अन्य संघसंस्थाका प्रतिनिधि लगायत सम्पूर्ण जनसमुदायलाई सहभागीताको  लागि अनुरोध समेत गरेको छ ।