महुली ११ स्पोर्ट्स क्लब घोघिदाहा भवानीपुर सप्तरीद्वारा सप्तरीको अग्नीसाइर कृष्णासवारन गाउँपालिका १ स्थित घोघिदाहामा संचालित श्री जनचेतना ४५ औं रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि प्रोग्रेसिभ युवा क्लब ओद्राहा सप्तरीले हात परेको छ । आइतबार सम्पन्न फाइनल खेलमा झुम्का फुटबल क्लब झुम्का सुनसरीलाई २-४ गोलान्तरले पराजित गर्दै ओद्राहा सप्तरीले उपाधिमाथि कब्जा जमाएको हो ।
उपविजेता टिमलाई पुरस्कार प्रदान गर्दै वडा नम्बर ४ का वडाध्यक्ष एवम् गाउँपालिका प्रबक्ता यादव । फोटो : न्यूज टुडे
जितसंगै ओद्राहा सप्तरीले नगद ५५ हजारसहित शिल्ड, कप, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता टिम झुम्का सुनसरीले नगद ३५ हजारसहित कप, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ ।
रेफ्रीलाई बल हस्तान्तरण गरि फाइनल खेल प्रारम्भ गर्दै प्रमुख अतिथि उपाध्यक्ष चौधरीसहित अतिथिगण । फोटो : न्यूज टुडे
मायाको चिनो तथा प्रशंसा पत्र ग्रहण गर्दै पत्रकार बृजमान तामाङ । फोटो : न्यूज टुडे
जनचेतना माध्यमिक विद्यालय घोघिदाहाको खेल मैदानमा आयोजित प्रतियोगिताको फाइनल खेलमा दुबै टिम वीच भएको कडा प्रतिस्पर्धामा खेलको पहिलो हापमा विजेता टिमको तर्फबाट ३ गोल र उपविजेता टिमको तर्फबाट १ गोल गर्न सफल भएको थियो। खेलको पहिलो हापको १६ औं मिनेटमा ओद्राहा सप्तरीका जर्सी नम्बर ५ का शिशिर लेखीले गोल गरे । पहिलो हापको १७ औं मिनेटमा झुम्का सुनसरीका जर्सी नम्बर ३० का संदिप ओझाले १ गोल गरि टिमलाई वरावरी बनाए । पहिलो हापको २९ औ मिनेटमा ओद्राहा सप्तरीका जर्सी नम्बर ५ का शिशिर लेखीले पुनः गोल गर्दै टिमलाई अगाडि बढाए भने ओद्राहा सप्तरीका जर्सी नम्बर १६ का करण चौधरीले ३२ औं मिनेटमा १ गोल थपेपछि १-३ को गोलान्तरले टिमलाई अग्रस्थानमा कायम राखे ।
प्रशंसा पत्र ग्रहण गर्दै प्रमुख रेफ्री मोहन चौधरी । फोटो : न्यूज टुडे
निर्धारित ७० औं मिनेटको खेलको दोश्रो हापको आठौं मिनेटमा झुम्का सुनसरीका जर्सी नम्बर ३० का संदिप ओझाले दोश्रो गोल गरि टिमलाई २-३ गोलान्तार नजिक ल्याउन सफल भए । खेलको अन्तिम समयमा ओद्राहा सप्तरीको तर्फबाट जर्सी नम्बर १० का मनिष चौधरीले १ गोल थपेर ओद्राहा सप्तरी २-४ गोलान्तरले सहजै विजयी भएको प्रमुख रेफ्री मोहन चौधरीले जानकारी दिए ।
विजेता प्रोग्रेसिभ युवा क्लब ओद्राहा सप्तरीका खेलाडीहरु । फोटो : न्यूज टुडे
खेलमा हाई स्कोरर तथा उत्कृष्ट खेलाडी ओद्राहाका शिशिर लेखी घोषित भए । उनले नगद ५ हजारसहित सिरिज प्राप्त गरे । उनलाई ब्याडमिन्टनका पूर्व राष्ट्रिय खेलाडी तथा महिकर श्यामा माध्यमिक विद्यालय प्रशवनीका पूर्व अध्यक्ष समेत रहेका हाल अमेरिका स्थित सिकागो शहरमा रहनु हुने तारकेश्वर प्रसाद सिंहले उक्त नगद पुरस्कार सहयोग गरेका हो । हरित अभियान घोघिदाहाका अध्यक्ष दुर्गा प्रसाद चौधरी र तारिणी प्रसाद चौधरी मार्फत उक्त नगद पुरस्कार पठाएको आयोजकले जनाएको छ ।
उपविजेता झुम्का फुटबल क्लब झुम्का सुनसरीका खेलाडीहरु । फोटो : न्यूज टुडे
यसैगरी प्रतियोगिताको वेष्ट गोल किपर ओद्राहाका संदिप भट्टराई,बेस्ट प्लेयर करण चौधरी र म्यान अफ द म्याच झुम्का सुनसरीका संदिप ओझा घोषित भए । उनीहरुले प्रमाणपत्रसहित सिरिज प्राप्त गरे ।
आयोजक समितिका अध्यक्ष दिलिप कुमार चौधरीको अध्यक्षतामा आयोजित प्रतियोगितामा प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष कल्पना कुमारी चौधरी र रामादेवी चौधरीले विजेता टिम तथा वडा नम्बर ४ का वडाध्यक्ष एवम् गाउँपालिका प्रबक्ता तेज नारायण यादवले उपविजेता टिमलाई पुरस्कार प्रदान गरे ।
प्रतियोगितामा रेफ्री, पत्रकार तथा सहयोगी व्यक्ति तथा संघसंस्थालाई मायाको चिनोसहित प्रशंसा पत्र प्रदान गरिएको थियो ।
उनीहरुलाई अग्नीसाइर कृषणासवरन गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष सवजुल खलिफा, आयोजक समितिका अध्यक्ष चौधरी,बुद्धिजीवी दुर्गा प्रसाद चौधरी, रामदेव चौधरी,महेश प्रसाद चौधरी,देवीलाल चौधरी,इन्जिनियर हरि प्रसाद चौधरी लगायतकाले प्रशंसा पत्र तथा मायाको चिनो प्रदान गरे ।
पुरस्कार प्रदान गर्दै प्रमुख अतिथि उपाध्यक्ष चौधरीले विजेता तथा उपविजेता टिमका खेलाडीहरुलाई आगामी दिनमा थप प्रगतिका साथ सफलताको शिखरमा पुगोस् भन्दै शुभकामना दिइन् ।
कार्यक्रम संचालन चर्चित उद्घोषक प्रविण कुमार चौधरीले गरेका थिए ।
प्रतियोगितामा समूह (क) मा त्रियुगा नगरपालिका गाईघाट उदयपुर, गोलबजार युनाइटेड क्लब गोलबजार सिरहा, महुली ११ स्पोर्ट्स क्लब घोघिदाहा भवानीपुर सप्तरी, झुम्का फुटबल क्लब झुम्का सुनसरी र समुह (ख) मा जीबीएफसी अर्जुनधारा ५ झापा, विराटनगर स्पोर्ट्स एकेडेमी मोरङ्ग, प्रोग्रेसिभ युवा क्लब ओद्राहा सप्तरी र यूवाईसी बर्दिवास वेखारी महोत्तरी गरि ८ वटा टिम सहभागी थिए ।