न्यूज टुडे
राजविराज,०५ कार्तिक ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहकी प्रियंका शर्मामाथि आफ्नै देवरले कुटपिट गर्दा गम्भीर घाइते भएकी छिन् । उनका देवर अजय सुतिहार शर्माले कुटपिट गर्दा शर्मा घाइते भएकी हुन् ।
कुटपिटबाट पीडित बनेकी प्रियंकाको हाल राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ।
देवर अजयले आफूलाई पटक–पटक कुटपिट गर्ने, घरमा बस्न नदिने तथा घरबाट निकाल्ने जस्ता व्यवहार गर्दै आएको बताए । घरपरिवारबाटै बारम्बार हिंसा र यातना सहनुपरेको गुनासो गर्दै प्रियंकाले आफ्ना श्रीमान् विजय सुतिहारले समेत आफूलाई साथ नदिएको दुखेसो सुनाइन् । देवरले आफूलाई अनावश्यक रुपमा पटक–पटक यातना दिने गरेको उनको भनाइ छ।
राजविराज नगरपालिका–२ निवासी मंगल शर्माले पनि प्रियंकामाथि उनका देवरबाट बारम्बार कुटपिट तथा घरनिकाला गर्ने जस्ता व्यवहार हुँदै आएको बताएका छन्।
घटनाबारे निष्पक्ष छानबिन गरी दोषी ठहर हुने व्यक्तिमाथि कानुनअनुसार कारबाही गर्नुपर्ने अस्पतालमा उपचाररत शर्माले बताइन् ।
महिलामाथि हुने घरेलु हिंसा नियन्त्रण, पीडितको सुरक्षा र न्यायमा पहुँच सुनिश्चित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण हुनुपर्ने विजय सुतिहारले बताए ।
घटना बारे देवर अजयसंग सम्पर्क गर्ने प्रयास गर्दा सम्पर्क हुन सकेन ।