उपचार खर्च जुटाउन नसक्दा मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका एक १९ बर्षिय युवक विचल्लीमा परेका छन् । सिरहाको कर्जन्हा गाउँपालिका १० प्रयागपुरका धिरज साह हलुवाई उपचार अभावमा विचल्लीमा परेका हुन् ।
युवकको स्वास्थ्य अवस्था बारे जानकारी लिदै संस्थापक अध्यक्ष साह र उपत्यका अध्यक्ष । फोटो : न्यूज टुडे
मजदुरीका लागि काठमाडौ गएका हलुवाई शंखमुलमा दुई हप्ता अगाडि मोटरसाइकल दुर्घटनामा परेका थिए । टाउको तथा हातमा गम्भीर चोट लागेको उनको उपचारमा ठूलो खर्च भईसक्दा पनि थप उपचार खर्च जुटाउन नसक्दा विचल्लीमा परेको परिवारजनले जनाएको छ ।
उपचार खर्च जुटाउन खोलिएको बैंक खाताको क्यूआर । फोटो : न्यूज टुडे
दुर्घटनामा टाउकोको हड्डी उच्छिटिएको तथा हातमा स्टील लगाउँदा १० लाखभन्दा बढी खर्च भएको घाइते युवकका बुवा राम कुमार साहले बताए । थप उपचार खर्चको अभावमा काठमाडौ स्थित गोश्वालको एक लजमा बस्न बाध्य भएको उनले दुखेसो सुनाए ।
खर्च अभावले अलपत्र परेको युवाको अवस्था बारे जानकारी लिन भेट्न पुगेका हलुवाई समाज नेपालका संस्थापक अध्यक्ष शिव नारायण साह( सुरज),काठमाडौ उपत्यका समिति अध्यक्ष जीवछ साह, उपाध्यक्ष विल्टु साहले आर्थिक रुपमा अत्यन्त कमजोर युवाको उपचारमा सहयोगका लागि आग्रह गरे ।
अर्काको खेतबारी तथा घरमा मजदुरी गरि जिविकोपार्जन गरिरहेको सुनाउँदै बुवा राम कुमारले उपचार खर्च अभावमा छोराको ज्यान बचाउन नसकिने भयो भन्दै चिन्ता व्यक्त गरे ।