न्यूज टुडे
राजविराज, ३० असोज ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित धानखेतमा हात्ती मारेर खाल्डो खनेर पुरेको आरोपमा एकजना पक्राउ परेका छन् । हात्ती मारेको आरोपमा पक्राउ परेको व्यक्तिमाथि अनुसन्धान भरहेकोले उनको नाम सार्वजनिक नगरिएको हो ।
हात्ती मारेको आरोप पक्राउ परेको व्यक्तिमाथी अनुसन्धान जारी राखिएकोले उनको नाम तत्काल सार्वजनिक नगरिएको जनाएको छ ।
हात्तीलाई मारेर खाल्डोमा गाडि परालले छोपिएको अवस्थामा फेला परेपछि घटनामा संलग्न रहेको आरोपमा एक जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय सप्तरीले जनाएको छ । हात्तीको मृत्युको कारण पत्ता लगाउन पोस्टमार्टम भइरहेको छ।
कोशीटप्पु वन्यजन्तु आरक्षको नियमित गस्ती टोलीले कंकालिनी मन्दिरबाट करिब एक किलोमिटर उत्तरपूर्वमा रहेको धानखेतमा हात्ती पुरिएको अवस्थामा फेला परेको डिभिजन वन कार्यालय सप्तरीका प्रमुख मनोज ठाकुरले बताए ।
‘हात्तीलाई खाल्डोमा पुरेर माथिबाट पराल हालेको देखियो। गाडिएको हात्तीलाई बाहिर निकालेर अहिले पोस्टमार्टम भइरहेको छ’ डिएफओ ठाकुरले भने, ‘हात्तीलाई दुई–तीन दिनअघि नै मारेर गाडिएको हुन सक्ने आशंका गरिएको छ। तर, हात्तीको मृत्यु कसरी भयो भन्ने विषयमा अहिलेसम्म यकिन विवरण सार्वजनिक भएको छैन।’
डिभिजन वन कार्यालय सप्तरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ। पोस्टमार्टमबाट मृत्युको कारण पत्ता लगाउने प्रयास भइरहेको डिएफओ ठाकुरले बताए । परीक्षणपछि हात्तीको शव पुनः खाल्डोमा गाडिने उनले जानकारी दिए । पक्राउ परेका व्यक्तिको संलग्नता के थियो भन्नेबारे भने विस्तृत विवरण सार्वजनिक भएको छैन।
फेला परेको हात्ती मर्नुको कारण र घटनामा पक्राउ परेका व्यक्तिको भूमिकाबारे अनुसन्धान तथा पोस्टमार्टमको नतिजापछि मात्रै थप तथ्य खुल्न सक्ने डिएफओ ठाकुरले बताए ।
यसअघि असोज २८ गते उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा बस्दै आएको ‘सानो दारे’ नामले चिनिने करिब २० देखि २५ वर्ष उमेरको वयस्क भाले हात्ती मृत फेला परेको थियो। आरक्षबाट करिब एक किलोमिटर दूरीमा भेटिएको उक्त हात्तीको मृत्यु प्राकृतिक कारणले भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको थियो।