न्यूज टुडे
राजविराज,२९ असोज ।
सप्तरीको कञ्चनरूप नगरपालिका–१० बदगामामा बुधबार राति भीषण आगलागी भएको छ । आगलागीबाट ११ परिवारका १५ वटा घर जलेर पूर्ण रूपमा नष्ट भएकाे हाे।
आगलागीमा खाद्यान्न, लत्ताकपडा तथा नगदसहित करिब ५० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
स्थानीय गणेश यादवका अनुसार बुधबार राति करिब १० बजे लागेको आगोले बस्तीका नौ परिवारको घर तथा घरभित्र रहेका सामग्री जलेर नष्ट भएका छ ।
आगलागीबाट पाचु पासवानका तीनवटा घर, दिनेश पासवान (भगलु) को एउटा घर, मञ्जु पासवानका तीनवटा घर र राजकुमार पासवान (गरमदल) को एउटा घर जलेर नष्ट भएको यादवले बताए। यसैगरी गजेन्द्र पासवान, पवन पासवान, खिखरी पासवान, लल्लु पासवान, मनाेज पासवान,दिपेन्द्र पासवान र महेन्द्र पासवानका एक–एकवटा घरमा क्षति पुगेको स्थानीयले बताएका छन् ।
आगलागी कसरी र के कारणले भएको हो भन्ने विषयमा हालसम्म स्पष्ट जानकारी प्राप्त भएको छैन। घटनाबाट भएको क्षतिको विस्तृत विवरण तथा आगलागीको कारणबारे थप जानकारी आउन बाँकी रहेको स्थानीयले बताए ।
आगलागीबाट घरबारविहीन बनेका परिवारलाई तत्काल राहत तथा पुनःस्थापनाको आवश्यकता रहेको भन्दै पीडित परिवारलाई सहयोग गर्न सबै पक्ष, संघसंस्था, सामाजिक अभियन्ता तथा सम्बन्धित निकाय एवम् जनप्रतिनिधिसँग स्थानीयले आग्रह गरेको छ।
आगो नियन्त्रणका लागि स्थानीयवासीले तत्काल ईलाका प्रहरी कार्यालय,कञ्चनपुर सप्तरीकाे टाेली र राजविराज, हनुमाननगर कंकालिनी र कञ्चनरुपलगायतका स्थानबाट आएका दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको स्थानीयले जानकारी दिए ।