न्यूज टुडे
राजविराज,२८ असोज ।
सप्तरीको अग्नीसाइर कृष्णासवारन गाउँपालिका १ स्थित घोघिदाहामा श्री जनचेतना ४५ औं रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरु भएको छ । महुली ११ स्पोर्ट्स क्लब घोघिदाहा भवानीपुर सप्तरीद्वारा फुटबल प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगिता आयोजक समितिका अध्यक्ष दिलिप कुमार चौधरीको अध्यक्षतामा आयोजित प्रतियोगिताको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष दिनानाथ चौधरी र विशिष्ट अतिथि उपाध्यक्ष कल्पना कुमारी चौधरीले संयुक्त रुपमा राष्ट्रिय झण्डा फहराएर तथा व्यनर अनावरण गरी उद्घाटन गरे ।
प्रतियोगिता उद्घाटन समारोहमा अग्नीसाइर कृषणासवरन गाउँपालिकाका पूर्व अध्यक्ष परशुराम चौधरी,वडा नम्बर १ का वडाध्यक्ष सवजुल खलिफा, वडा नम्बर ५ का कार्यबाहक अध्यक्ष हरि खंग, नेपाल पत्रकार महासंघ सप्तरीका प्रतिनिधि पत्रकार बृजमान तामाङ, जिल्ला फुटबल संघका सिताराम चौधरीलगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, जनप्रतिनिधि, सुरक्षाकर्मीसहित पूर्वपदाधिकारी, शिक्षक, बुद्धिजीवी, समाजसेवी तथा खेलप्रेमीहरुको सहभागिता रहेको थियो ।

चर्चित उद्घोषक प्रविण कुमार चौधरीद्वारा संचालित कार्यक्रममा स्वागत अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर १ का वडा सदस्य देवकान्त चौधरीले गरे ।
जनचेतना माध्यमिक विद्यालय घोघिदाहाको खेल मैदानमा आयोजित प्रतियोगिताको उद्घाटन खेलमा त्रियुगा नगरपालिका गाईघाट उदयपुर विजयी भएको छ । गोलबजार युनाइटेड क्लब गोलबजार सिरहालाई १ -० गोलान्तरले पछि पार्दै उदयपुरले जित हाँसिल गरेको प्रमुख रेफ्री मोहन चौधरीले बताए ।
दुबै टिम वीच भएको कडा प्रतिस्पर्धामा खेलको पहिलो हापमा दुबै टिमले गोल गर्न सकेन । ६० मिनेटको निर्धारित समयमा खेलको दोश्रो हापको १४ औं मिनेटमा उदयपुरका तर्फबाट जर्सी नम्बर १५ का चुडा मगरले १ गोल गरि टिमलाई अग्रपंक्तिमा राखे ।
सिरहाले निकै दवावमा राखेपनि गोल फर्काउन नसकेपछि उदयपुरले सहजै जित हाँसिल गरेको प्रमुख रेफ्री चौधरीले जानकारी दिए ।
प्रतियोगितामा समूह (क) मा त्रियुगा नगरपालिका गाईघाट उदयपुर, गोलबजार युनाइटेड क्लब गोलबजार सिरहा, महुली ११ स्पोर्ट्स क्लब घोघिदाहा भवानीपुर सप्तरी, झुम्का फुटबल क्लब झुम्का सुनसरी र समुह (ख) मा जीबीएफसी अर्जुनधारा ५ झापा, विराटनगर स्पोर्ट्स एकेडेमी मोरङ्ग, प्रोग्रेसिभ युवा क्लब ओद्राहा सप्तरी र यूवाईसी बर्दिवास वेखारी महोत्तरी गरि ८ वटा टिम सहभागी रहेको छ ।
आगामी कार्तिक ८ गते सम्पन्न हुने फाइनल खेलमा विजेता टिमलाई नगद ५५ हजार, शिल्ड, मेडल, प्रमाणपत्र र उपविजेता टिमलाई ३५ हजार नगदसहित कप , मेडल, प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिता अन्तर्गत विहिबारको खेल जीबीएफसी अर्जुनधारा ५ झापा, र विराटनगर स्पोर्ट्स एकेडेमी मोरङ्ग वीच हुने आयोजक समितिका अध्यक्ष दिलिप कुमार चौधरीले जानकारी दिए ।