दशैं लगत्तै अर्को ठूलो पर्व तिहार आउँदै छ । तिहार तथा छठ समेतमा आतिसवाजीका सामग्रीको प्रयोग बढी हुने भएका कारण त्यसको चोरी पैठारी अहिलेदेखि नै सुरु हुन थालेको छ । पटाकालगायत आतिसवाजीका सामग्रीको प्रयोग तथा कारोबारलाई अबैध मानिएको छ । प्रशासनले तिहार अगाबै यसको कारोबार तथा प्रयोग नगर्नकालागि सूचना समेत जारी गर्दै आएको छ । तर पनि लुकिछिपी यो अबैध कार्य भई नै रहेको पाईन्छ ।
बजारमा छ्याप्छ्याप्ती यस्ता वस्तुको बिक्री भईरहनु तथा पटाका लगायतका विष्फोटक सामग्रीको प्रयोग हुनाले प्रशासनले रोक लगाएर पनि यसमा नियन्त्रण गर्न नसकिरहेको अवस्था छ । तीन दिन अघि मात्र राजविराज नगर क्षेत्रमा प्रहरीले ठूलै परिमाणमा पटका लगायतका विष्फोटक पदार्थ नियन्त्रणमा लिन सफल भएबाट पनि यो धन्दा दशैं अघिदेखि नै सुरु भएको बुझिन्छ । तस्करी गरेर भित्र्याउने तथा मुनाफा कमाउनकालागि अन्य शहरी क्षेत्रमा समेत पठाउने गिरोह सक्रिय रहेका कारण त्यसको नियन्त्रणकालागि अहिलेदेखि नै कडाई गर्ने समय आईसकेको हो । एक त राजस्व मारेर यस्ता सामग्री भित्र्याईन्छ । त्यसमाथि राजस्व तिरेर पनि यसलाई आयात गर्नमा रोक लगाईएका कारण यो सर्बथा अबैध धन्दा हो भनि बुझ्न गाह्रो नपर्ला ।
पटाका प्रयोगले शान्ति सुरक्षा कायम गर्नमा बाधा उत्पन्न हुने,दुर्घटनाको जोखिम समेत रहने गरेका कारण यसको प्रयोगमाथि रोक लगाईएको हो । सूचना जारी गरेर पनि यसको नियन्त्रण भईरहेको छैन भने विशेष निगरानी बढाएर भए पनि यसलाई रोक्नै पर्ने हुन्छ ।