समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

महान चाड दशैं सुरु भईसकेको छ । यसपछि तिहार र छठको आगमन हुनेछ । ठूला चाडपर्वमा हर्षोल्लास हुन्छ नै । मीठो खाने,राम्रो लगाउने मात्र नभई हाम्रा पर्वहरुले सांस्कृतिक महत्वका साथै सन्देश पनि लिएर आउने गरेका छन् । तिनको बैशिष्ठ्यतालाई सुरक्षित राख्न सकेमा यसले हाम्रो पहिचानलाई समेत जीवन्त तुल्याउनेमा आशंका रहने छैन ।

ठूला पर्वहरुका समयमा बजारमा किनमेल गर्नेहरुको पनि भिडभाड रहने गर्दछ । व्यापार बढी हुने समयका रुपमा समेत यी पर्वहरु रहने गरेका छन् । यही मौकामा तस्करी पनि बढ्ने भएका कारण सीमा नाकामा विशेष निगरानीको आवश्यकता छ । सप्तरीमा सोमबार प्रहरीले राजविराज वडा नं.९ मा २० हजार मूल्य बराबरको पटाका नियन्त्रणमा लिएको छ । तिहार तथा छठलाई लक्षित गरी भित्र्याईएको पटाका प्रहरीले नियन्त्रणमा लिएको हो । पटाकाको प्रयोग उसै पनि निषेधित छ । त्यसमाथि भन्सार छलेर भित्र्याईएका कारण यो झनै अबैध काम भएको मान्नु पर्दछ । पटाका मात्र होईन,दैनिक उपभोग्य वस्तुदेखि लत्ताकपडा लगायतका सामग्री यस अवधिमा बढी तस्करी हुने गरेको कुरा विगतको अनुभव समेतले सिध्द गरिसकेको छ । राजस्व मार्ने यस्तो कार्य नियन्त्रणकालागि सीमा नाकामा प्रहरीको पनि उपस्थिति रहने गर्दछ । तर पनि यस प्रकारका अबैध कार्य हुन्छन् भने अझै कडाई गरी यस बेथितिमाथि नियन्त्रणको आवश्यकता रहन्छ ।

तस्करीमाथि नियन्त्रण गर्न सकियो भने मात्र राजस्व संकलनमा पनि सुधार आउने छ ।