समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अन्तर्राष्ट्रिय

रुपनगर प्रथम मिनी महोत्सवमा राष्ट्रिय कलाकारको प्रस्तुति 

रुपनगर प्रथम मिनी महोत्सवमा राष्ट्रिय कलाकारको प्रस्तुति 
उत्तम आचार्य 
कञ्चनरूप २७ असोज । 
सप्तरीको कञ्चनरुप नगरपालिका–९ र १२ को संगमस्थल रुपनगर चोकमा आयोजित रुपनगर प्रथम मिनी महोत्सवमा राष्ट्रिय कलाकारको प्रस्तुतिले रौनक थपिएको छ । आइतबारदेखि सुरु भएको प्रथम रुपनगर मिनी महोत्सवमा चर्चित राष्ट्रिय कलाकारहरुको प्रस्तुतिले थप रौनकता थपिएको हो । 
 धर्मेश्वर युवा क्लबको आयोजनामा सुरु भएको महोत्सव कार्तिक १० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।
महोत्सवबारे जानकारी गराउने उद्देश्यले धर्मेश्वर युवा क्लबले सोमबार महोत्सवस्थलमै पत्रकार सम्मेलन आयोजना गरेको थियो। कञ्चनरुप नगरपालिका क्षेत्रका सञ्चारकर्मीहरूको उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले महोत्सवमा सञ्चालन हुने सांस्कृतिक, मनोरञ्जनात्मक तथा अन्य कार्यक्रमबारे जानकारी गराए । 
क्लबका अध्यक्ष रामकुमार सदाले महोत्सवमा राष्ट्रियस्तरमा चर्चित कलाकारहरूको सांगीतिक तथा सांस्कृतिक प्रस्तुति, विभिन्न परिकारका खानाका स्टल र बालबालिका तथा युवालाई लक्षित मनोरञ्जनात्मक खेलहरूको व्यवस्था गरिएको बताए ।
महोत्सवको नेतृत्व गरिरहेका केवल खत्रीले चाडपर्वको अवसरमा स्थानीय बालबालिका, युवा तथा सर्वसाधारणलाई मनोरञ्जन प्रदान गर्नुका साथै स्थानीयस्तरमा सांस्कृतिक गतिविधिलाई प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए।
महोत्सवमा रोटेपिङ (रामझुला), मिकी माउस, जम्पिङ लगायतका विभिन्न मनोरञ्जनात्मक खेल तथा आकर्षणहरू राखिएको उनले जानकारी दिए। साथै विभिन्न प्रकारका खानाका परिकारका स्टलसमेत सञ्चालनमा ल्याइएको उनले बताए । 
महोत्सवका संयोजक खत्रीले महोत्सव अवधिभर ज्योति मगर, एलिना राई, धिरज राई, कमल खत्री, रचना रिमाल, ममता चौधरी, अञ्जु खुस्की, अनु चौधरी र आस्मा विश्वकर्मा लगायतका राष्ट्रियस्तरमा चर्चित कलाकारहरूको सांगीतिक प्रस्तुति बताए । 
त्यसैगरी, प्रत्येक दिन पूर्वाञ्चल क्षेत्रका चर्चित कलाकारसँगै मैथिली तथा भोजपुरी भाषाका कलाकारहरूको समेत सांगीतिक तथा सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ। यसले स्थानीय कला, संस्कृति र भाषिक विविधताको प्रवर्द्धनमा समेत योगदान पुग्ने आयोजकको विश्वास छ।
महोत्सवमा कञ्चनरुप नगरपालिका तथा आसपासका क्षेत्रबाट उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।  महोत्सवलाई व्यवस्थित र मनोरञ्जनात्मक बनाउन आवश्यक तयारी पूरा गरिएको आयोजकले जनाएको छ ।
धर्मेश्वर युवा क्लबका अध्यक्ष रामकुमार सदाको अध्यक्षतामा पत्रकार सम्मेलन सम्पन्न भएको थियो ।