सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकाको आगामी नेतृत्वका विषयमा चर्चा चलिरहेका बेला अधिवक्ता रोशन कुमार मण्डर थारुको नाम पनि सम्भावित नेतृत्वका रूपमा अगाडि आएको छ। विकास व्यवस्थापन, प्रशासनिक अनुभवका आधारमा विभिन्न पेशागत तथा बौद्धिक क्षेत्रका व्यक्तिहरूले थारुलाई गाउँपालिका अध्यक्ष पदमा अघि बढ्न आग्रह गरेको हो ।
रोशन कुमार मण्डर थारु । फोटो : न्यूज टुडे
अग्नीसाईर कृष्णासवारन गाउँपालिका देशकै राष्ट्रिय राजमार्गसंग जोडिएपनि मानव र जंगली जनावर वीचको द्वन्द र सहरी व्यवस्थापनका समस्या समाधानमा अझै चुनौतीपूर्ण अवस्था रहेको बेला यस्ता समस्या समाधान गर्ने प्रतिबद्धताको साथ राष्ट्रिय स्वतन्त्र पार्टीबाट अध्यक्षमा उम्मेदवारी दिनेतयारी गरेको मण्डरले बताए ।
भ्रष्टाचार र ढिलासुस्ती विकासको प्रमुख बाधक रहेको चर्चा गर्दै उनले विकास, सुशासन र प्रशासनिक सुधारमा जोड दिए ।
बजार क्षेत्र तथा सडक क्षेत्रमा, ढल, डुबान, फोहोर व्यवस्थापन, पार्किङ, यातायात, वातावरण, शिक्षा, स्वास्थ्य तथा सार्वजनिक सेवा प्रवाहलाई व्यवस्थित बनाउन दीर्घकालीन योजनाका साथ आफू गाउँपालिकाको नेतृत्व गर्न अग्रसर भएको उनको भनाइ छ । पार्टीमा दिएको योगदान र सहयोगको साथै संस्थागत जिम्मेवारी निर्वाहमा सक्रिय भएको आधारमा आफू योग्य उम्मेदवार भएको दावी गर्दै उनले रास्वपाले टिकट दिने विश्वास समेत व्यक्त गरे । आगामी निर्वाचनको तयारी स्वरुप पालिका देखि टोल तहसम्म संगठन निर्माण कार्य जारी राखिएको उनले बताए ।
मण्डरले अग्नीसाइर कृष्णासवरन गाउँपालिकाको विकासलाई केवल भौतिक संरचना निर्माणसँग जोड्न नहुने बताए । नागरिकको दैनिक जीवन सहज बनाउने सेवा, सफा र सुरक्षित पालिका, गुणस्तरीय शिक्षा तथा स्वास्थ्य र रोजगारीका अवसरलाई विकासको मुख्य आधार बनाउनुपर्ने उनको धारणा छ।
कृषी, पर्यटन, प्राविधिक शिक्षालाई रोजगारीसंग जोड्दै स्वदेशमै रोजगारीको अवसर सिर्जना गरि युवाशक्तिलाई स्वदेशमा श्रम लगानीको बाताबरण बनाउने उनको भनाइ छ ।
महुली लघुवित्तको सिओको जिम्मेवारीमा बसेर सयौंलाई रोजगारीको अवसर दिएको प्रशासनिक व्यवस्थापनको अनुभव रहेको उनले फोहोर व्यवस्थापनका लागि घर तथा व्यवसायबाटै फोहोर वर्गीकरण गर्ने प्रणाली विकास गर्नुपर्ने बताए। पुनःप्रयोग गर्न सकिने सामग्री छुट्याउने र जैविक फोहोरबाट उपयोगी वस्तु उत्पादन गर्ने प्रणाली विकास गरे फोहोर व्यवस्थापनसँगै रोजगारीको अवसरसमेत सिर्जना गर्न सकिने उनको भनाइ छ।
वर्षायाममा गाउँघरमा देखिने डुबानको समस्या समाधानका लागि पनि दीर्घकालीन जलनिकास योजना आवश्यक रहेकोले उनको जोड छ। सडक तथा ढल निर्माणलाई छुट्टाछुट्टै योजनाका रूपमा अघि बढाउनुको सट्टा गाउँपालिकाको समग्र जलनिकास प्रणालीको अध्ययन गरी एकीकृत योजना बनाउनुपर्ने उनको कथन छ ।
अग्नीसाईर कृष्णासवरनमा आँप प्रशोधन केन्द्र स्थापना गरी औद्योगिककरिणको सम्भावनालाई स्थानीय रोजगारीसँग जोड्नुपर्ने उनको धारणा छ। उद्योग तथा व्यवसाय सञ्चालनका लागि गाउँपालिकाबाट उपलब्ध हुने सेवा सुधार, स्थानीय उद्यमशीलता प्रबर्द्धन , सीप विकास, सहयोगी संस्थसंग साझेदारीलाई प्राथमिकता दिनुपर्ने उनले बताए।
युवालाई रोजगारीका लागि बाहिर जानुपर्ने अवस्था कम गर्न स्थानीय उत्पादन, सीप र बजारबीच सम्बन्ध स्थापित गर्नुपर्ने उनको भनाइ छ। गाउँपालिकाले निजी क्षेत्रसँग सहकार्य गरी लगानीका सम्भावित क्षेत्र पहिचान र नयाँ उद्यम सञ्चालनका लागि सहजीकरण गर्न सक्ने उनले बताए।
सार्वजनिक सेवा प्रवाहमा आधुनिक प्रणाली विस्तार गर्नुपर्नेमा पनि मण्डरले जोड दिएका छन् । नागरिकले घरबाटै आवेदन दिन, सेवाको अवस्था बुझ्न र सेवा प्राप्त गर्ने समयबारे जानकारी लिन सक्ने प्रणाली विकास गर्नुपर्ने उनको योजना छ।
गाउँपालिकामा रहेको जंगली हात्ती, बाँदर, निलगाई, बाँदेल आतंकलाई नियन्त्रण गर्न प्रभावित क्षेत्रमा स्ट्रीट लाईट सहितको उचित व्यवस्थापन गर्नुपर्ने योजना उनले अगाडि सारेको छ । जंगली जनावर र मानव वीचको द्वन्द न्यूनीकरण गरी मानवीय तथा कृषि उपजमा हुने क्षतिबाट सुरक्षित गर्न प्रभावकारी योजना अगाडि बढाउने उनको योजना छ ।
उनले अग्नीसाईर कृष्णासवरन गाउँपालिकाकै मुख्य व्यापारिक केन्द्रको रुपमा स्थापित महुली बजारको नेतृत्व गरि स्मार्ट सिटीको रुपमा अगाडि बढाएको , महुलीमै केन्द्रिय कार्यालय रहेको चर्चित महुली लघुवित्तको नेतृत्वमा बसेर लामो समय काम गरेको विवरण सार्वजनिक गरे। परियोजना व्यवस्थापन, वित्तीय कारोबारमा पारदर्शिता, सरकारी तथा गैर सरकारी संस्थासंग साझेदारी, समन्वय तथा नीतिगत संवादमा काम गरेको उनको अनुभव छ।
विभिन्न राजनीतिक दलसँग आबद्ध व्यक्ति तथा बौद्धिक व्यक्तित्वहरूले समेत मण्डरको विकाससम्बन्धी अनुभवलाई गाउँपालिकाको नेतृत्वसँग जोडेर हेर्नुपर्ने बताएका छन्।
मण्डरले अध्यक्ष पदलाई व्यक्तिगत प्रतिष्ठाभन्दा सार्वजनिक जिम्मेवारीका रूपमा लिनुपर्ने बताए । गाउँपालिकाको समस्या समाधानका लागि स्पष्ट योजना, समयसीमा, राजनीतिक तथा प्रशासनिक समन्वय र नागरिकप्रति जवाफदेहिता आवश्यक रहेको उनको भनाइ छ।