• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सरकारी सेवामा हलुवाई जाति

हरे कृष्ण साह, सप्तरी

२०८३ असोज १७ गते ।

नेपालमा हलुवाई जातिको कुल जनसंख्या ७१ हजार ७ सय ९६ रहेको छ । यो संख्या नेपालको कुल जनसंख्याको ०.२५ प्रतिशत हिस्सा मात्र हो। नेपालमा हलुवाई जाति एक अल्पसंख्यक र पछाडि परेको जातिको रुपमा रहेको छ । 

नेपालको राष्ट्रिय जनगणना, २०७८ अनुसार नेपालमा हलुवाई जातिको औसत साक्षरता दर ७५.९ प्रतिशत रहेको छ, जसमा पुरुषको साक्षरता दर ८३.६ प्रतिशत रहेको छ भने महिलाको साक्षरता दर ६८ प्रतिशत रहेको छ ।

नेपालको राष्ट्रिय औसत साक्षरता दर ७६.२ प्रतिशत रहेको छ, जसमा पुरुषको साक्षरता दर ८३.६ प्रतिशत र महिलाको साक्षरता दर ६९.४ प्रतिशत रहेको छ ।

यसले नेपालको हलुवाई जातिमा साक्षरता दर राष्ट्रिय औसत साक्षरता दर भन्दा कम रहेको देखाउँछ । साथै लोक सेवा आयोगको प्रतिवेदन अनुसार नेपालको सरकारी सेवामा हलुवाई जातिको न्यून प्रवेश रहेको देखिन्छ । लोकसेवा आयोग कमलपोखरी, काठमाडौंको वार्षिक प्रतिवेदन अनुसार २०८०-२०८१ मा सहायकस्तरमा २ (दुई) जना र २०८१-८२ मा सहायक स्तरमा ३ (तीन) जना उम्मेदवार हलुवाई जातिबाट नेपालको सरकारी सेवामा सिफारिस भएको देखिन्छ ।

आर्थिक वर्ष २०८०-०८१ मा सरकारी सेवा प्रवेशका लागि हलुवाई जातिबाट लोकसेवामा जम्मा १३२४ आवेदन परेको थियो जसमा महिला ५४० र पुरुष ७८४ जना रहेको थियो । यो संख्या लोकसेवामा सबै जातजातिबाट परेको कुल दरखास्त आवेदनको 0.२८ प्रतिशत रहेको थियो ।

त्यसैगरी, २०८१-०८२ मा हलुवाई जातिबाट महिलाको ५४० र पुरुषको ६४३ जना दरखास्त परेको थियो, जुन कुल दरखास्त आवेदनको ०.२३ प्रतिशत रहेको थियो ।

लोकसेवा आयोगको वार्षिक प्रतिवेदन अनुसार हलुवाई जातिबाट आवेदकहरु मध्येबाट आ.व. २०८०-०८१ मा सहायक स्तरमा २ जना र २०८१-८२ मा  सहायक स्तरमा ३ जना प्रतिस्पर्धामा अबल ठहर भई नेपाल सरकारको सहायक स्तरको सरकारी सेवामा प्रवेश गरेका थिए ।

लोक सेवाको विगत २ वर्षको प्रतिवेदन अनुसार हलुवाई जातिबाट कुनै पनि आवेदकले अधिकृत स्तरमा भने सफलता हासिल गरेको देखिदैन । लोक सेवा आयोगको प्रतिवेदन २०८१-८२ अनुसार हलुवाई जातिबाट सरकारी सेवामा ३ जना सिफारिस भएका मध्ये महिला २ जना र पुरुष १ जना रहेको देखिन्छ ।