सप्तरीको छिन्नमस्ता गाउँपालिका ३ सखडामा संचालित सौभाग्य कृषि सहकारी संस्था लिमिटेडको १३ औं बार्षिक साधारणसभा सप्पन्न भएको छ । संस्थाका अध्यक्ष प्रमोद कुमार मल्लिकको अध्यक्षता तथा राष्ट्रिय सहकारी बैंक लिमिटेड राजविराज शाखाका प्रमुख संजय कुमार महतोको प्रमुख आतिथ्यमा शनिबार आयोजित एक समारोहका वीच साधारणसभा सम्पन्न भएको हो ।
अध्यक्षीय प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष प्रमोद कुमार मल्लिक । फोटो : न्यूज टुडे
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि महतोले सहकारीले छोटो अवधिमा वित्तीय, साँगठनिक, भौतिक पूर्वाधार तथा सामाजिक क्षेत्रको विकासमा प्रगति गरेको भन्दै प्रशंसा व्यक्त गरे । सहकारी संस्थाको सफलताको शुभकामना व्यक्त गर्दै उनले सहकारीको समग्र विकासमा सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
साधारणसभामा अध्यक्षीय प्रतिबेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष मल्लिकले संस्थाले कृषि क्षेत्रमा लगानी गरि सदस्यहरुलाई प्रोत्साहन गरेको बताए । किसानलाई आवश्यक मल,विउ, कृषि उपकरण वितरण, कर्मचारीहरुलाई वित्तीय अनुशिक्षण, दैवीप्रकोप पीडितहरुलाई सहयोग पुर्याउने गरेको अध्यक्ष मल्लिकले प्रतिबेदन प्रस्तुत गरे।
अध्यक्ष मल्लिकद्वारा प्रस्तुत प्रतिवेदनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकारी तथा गैरसरकारी संस्थासंग सहकार्य गरि संस्थाको कोष वृद्धि गरि सहकारी आबद्ध सदस्यहरुलाई सहुलियत ॠण उपलब्ध गरि विभिन्न सुविधा प्रदान गरिएको उल्लेख छ । विद्यार्थीहरुलाई शिक्षामा प्रोत्साहन गर्न बाल अक्षयकोष खडा गारी सामुदायिक विद्यालयका छात्रछात्राहरुलाई माशिक ३ सयको दरले छात्रवृत्ति प्रदान गरिएको प्रतिबेदनमा उल्लेख छ । ,
संस्थाको आफ्नै सुविधा सम्पन्न भवन,सहकारी व्यवसाय बुझेको नेतृत्व, संस्थाको कारोबार, पारदर्शिता,संस्था सहकारी ऎन,नियम मुल्य मान्यता सिद्धान्त र नीति अनुसार क्रियाशील रहनु, संस्था संचालन १४ कार्यविधि बनाएर कार्यान्वयनसहितका १३ बुँदे सबल पक्ष समेटिएको प्रतिबेदनमा कुप्रचारका कारण केही सदस्यहरुले कर्जा बुझाउन आलटाल गर्ने, सहकारी संस्थाले बुझाएको करबाट सहकारी व्यवसाय प्रबर्द्धनका लागि कुनै उपलब्धिमुलक प्रतिफल हुन नसक्नु, कृषि उत्पादनको उचित मुल्य तथा बजारको अभावलगायतका विभिन्न चुनौती समेत चित्रण प्रतिबेदनमा गरिएको छ ।
मर्यादामा रहेर पदीय दायित्व कुशलता पूर्वक वहन गरि सहकारीको नेतृत्व गरि संस्थागत जिम्मेवारी दृढताका साथ जबाफदेही रुपले कर्तव्य निर्वाह गर्ने पाँचजना कर्मचारीलाई प्रति व्यक्ति रु ३० हजार ४ सय २७ को दरले १ लाख ५२ हजार १ सय ३७ रुपैयाँ वोनस वितरण गरिएको अध्यक्ष मल्लिकद्वारा प्रस्तुत प्रतिबेदनमा उल्लेख छ । कुल १ हजार ७ सय एक जना शेयर सदस्य रहेको सहकारी संस्थामा उनीहरुलाई नेपाल सरकारले तोके बमोजिमको लाभान्स वितरण गर्दै आएको अध्यक्षीय प्रतिबेदनमा उल्लेख गरिएको छ ।
साधारणसभामा लेखा सुपरिवेक्षण समिति संयोजक राम प्रसाद सुतिहारले आव २०८३/०८४ को एघार करोड २६ लाख, ६६ हजार २ सय ७७ रुपैयाँ बराबरको कारोबारसहितको आयव्यय प्रस्तुत गरे ।
संयोजक सुतिहारद्वारा प्रस्तुत प्रतिबेदनमा संस्थाको कुल बार्षिक आम्दानी १ करोड १६ लाख ४२ हजार २ सय २६, खर्च ८९ लाख १९ हजार ४ सय ८ र बार्षिक खुद नाफा २७ लाख २२ हजार ८ सय १८ कमाउने गरेको उल्लेख छ । जसमध्ये शेयर सदस्यहरुलाई १४. १८ प्रतिशत लाभान्स दिने गरेको बताइएको छ ।
प्रस्तुत प्रतिवेदनमा शेयरमूल्य पुंजी रु ७५ लाख १ हजार ५ सय जसमा गत बर्षको तुलनमा २६ .५२ प्रतिशतले शेयर वृद्धि,, कोष ५४ लाख ९६ हजार ४ सय ३६ कायम रहेको तथा गत बर्षको तुलनामा ७०.४६ प्रतिशतले वृद्धिभएको, बचत निपेक्ष ६ करोड ८५ लाख ५४ हजार ८ सय ४७ गत बर्षको तुलनामा ४६.५२ प्रतिशतले वृद्धि भएको उल्लेख छ ।
यसैगरी बह्य कर्जा २ करोड ७० लाख ७५ हजार ७ सय ५९ कायम रहेको र गतबर्षको तुलनामा ६४.६६ प्रतिशतले वृद्धि गरि ७ प्रतिशत सहुलियत व्याजदरमा उत्पादनशील क्षेत्रमा लगानी गरि ७९ प्रतिशत विभिन्न शिर्षकमा आधारित परियोजना कर्जा र २१ प्रतिशत लघु कर्जा गरि कुल ८ करोड, ७९ लाख १५ हजार ७ सय २५ रुपैया लगानी गरिएको यो गतबर्षको तुलनामा ६१.८३ प्रतिशतले वृद्धि गरिएको प्रस्तुत लेखा परिक्ष्ण प्रतिबेदनमा उल्लेख छ ।
संस्थाको तर्फबाट संयोजक सुतिहारले आगामी बर्ष २०८४/०८५ को रु १३ लाख ७३ लाख,८२ हजारको बजेट नीति तथा कार्यक्रम समेत प्रस्तुत गरे ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैक लिमिटेड राजविराजका कर्जा शाखा प्रमुख आनन्द कुमार झा,छिन्नमस्ता गाउँपालिका सहकारी प्रमुख सन्तोष राय,जिल्ला सहकारी संघ सप्तरीका व्यपस्थापक रमेश गुप्ता लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।
शेयर सदस्य समाजसेवी इन्जिनियर सुर्यनारायण यादवद्वारा संचालित कार्यक्रममा स्वागत ज्येष्ठ शेयर सदस्य महानन्द मल्लिकले गरे ।
उक्त अवसरमा बाल अक्षय कोषमा आबद्ध सामुदायिक विद्यालयका विद्यार्थी राजु खत्वे, पूर्णिमा कुमारी खंग, विशाल कुमार राउतलाई छात्रवृत्ति प्रदान गरिएको थियो ।